सामुदायिक विद्यालयतर्फ सिन्धुलीको कमला मावि उत्कृष्ट, अरू कुन–कुन ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिन्धुलीको दुधौली–११, मैनीमा रहेको कमला माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको छ । सरकारले मंगलबार राष्ट्रिय शिक्षा दिवस २०८० को सन्दर्भ पारेर कक्षा १२ मा प्राप्त गरेको नतिजाका आधारमा कमला माविलाई उत्कृष्त विद्यालयका रुपमा पुरस्कृत गरेको हो । 

देशभरका सामुदायिक विद्यालयहरूलाई पछि पार्दै प्रथम बनेको कमला माविले नगद तीन लाख रुपैयाँसहित राष्ट्रिय शिल्ड र ध्वजासहित पुरस्कृत भएको छ । त्यस्तै, सिन्धुलीकै कमलामाई–४, ढुंग्रेवासमा रहेको कमला माध्यमिक विद्यालय दोस्रो भएको छ भने सल्यानको कुमाख–२, रुमाल गाउँमा रहेको नारायण मावि तेस्रो भएको छ ।

निजी लगानीतर्फ ललितपुरको प्रसादी एकेडेमी पहिलो, काठमाडौंको सेन्ट जेभियर्स कलेज दोस्रो र काठमाडौंकै बुढानीलकण्ठ स्कुल तेस्रो भएका छन् । सामुदायिक र निजी दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयहरूलाई क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँका दरले पुरस्कृत गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने शिक्षालयकोरुपमा कोरिया नेपाल बहुप्राविधिक शिक्षालय रुपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ, आदर्श मावि विराटनगर र लाइफलाइन अस्पताल झापा पुरस्कृत भएका छन् ।

क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्यांकनका आधारमा आंगिक क्याम्पसहरूमध्ये पुल्चोक क्याम्पस ललितपुर उत्कृष्ट ठहर भएको छ भने सामुदायिक क्याम्पसहरूमध्ये लुम्बिनी वाणिज्य क्याम्पस बुटवल उत्कृष्ट बनेको छ । निजीतर्फ काठमाडौं मोडेल कलेज बागबजार पुरस्कृत भएको छ ।मन्त्रालयले समाज कल्याण शिक्षा पुरस्कारबाट एसओएस बालग्राम भक्तपुर, कोपिला भ्याली सेवा समाज सुर्खेत पुरस्कृत भएका छन् ।

मन्त्रालयले क्याम्पस, विद्यालय र प्राविधिक शिक्षालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई समेत राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रकाशित : आश्विन २, २०८० १२:४३
प्रतिक्रिया
पठाउनुहोस्