अष्ट्रेलियाका राजदूतले भेटे राष्ट्रिय सभाध्यक्ष


काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेका छन् । राजदूत भोल्कले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा सोमबार भेट गरेका हुन् ।


अध्यक्ष र नेपालका लागि अष्ट्रेलियाका राजदूतबीचको भेटवार्तामा द्विपक्षीयसहित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिएका छन् ।
नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापनादेखि नै सुमधुर र सहयोगात्मक रहेको अध्यक्ष तिमिल्सिनाले उल्लेख गरेका थिए । उनले नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया रहेको भन्दै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको संख्या बढाउन आग्रह गरेका थिए ।
तिमिल्सिनाले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै मुलुक लाभान्वित हुनसक्ने कुरामा पनि जोड दिएका थिए ।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार शर्माले जानकारी दिए ।
भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै अर्को महिना अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।
प्रकाशित : आश्विन १, २०८० १५:३२