कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राजवंशी समुदायबाट पहिलो न्यायाधीश

अर्जुन राजवंशी

बिर्तामोड — सीमान्तीकृत राजवंशी समुदायबाट पहिलो पटक पूर्णप्रसाद राजवंशी न्यायाधीश नियुक्त हुने भएका छन् । न्यायपरिषद्ले राजवंशीलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ ।

राजवंशी समुदायबाट पहिलो न्यायाधीश

झापाको देहाती गाउँ कचनकवल गाउँपालिका–३ का ४८ वर्षीय राजवंशी २२ वर्षदेखि सर्वोच्च अदालतमा वकालत पेसामा थिए ।

न्यायपरिषद्ले गतवर्ष जारी गरेको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिकाअन्तर्गत उनी न्यायाधीश सिफारिसमा परेका हुन् । ‘निर्देशिकाको मापदण्ड पूरा गरेपछि परिषद्को सिफारिसमा परे,’ राजवंशीले भने, ‘समुदायकै पहिलो न्यायाधीश बन्ने अवसर प्राप्त भएकामा खुसी लागेको छ ।’ पथरिया मावि पथरियाबाट २०५० मा एसएलसी गरेका उनले मेची क्याम्पस भद्रपुरबाट आईएल पास गरेका थिए । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट बीएल गरेका उनले नेपाल ल क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।

लामो समयदेखि वकालत पेसामा रहेका योग्य, दक्ष व्यक्तिका लागि न्यायपरिषद्ले ‘न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका–२०७९’ जारी गरेको थियो । निर्देशिका जारी भएपछि २ सय ७४ जनाले मापदण्डअनुसार न्यायाधीश बन्नका लागि निवेदन दिएका थिए । त्यसमध्ये २०७९ भदौ २१ मा राजवंशीसहित ८१ जनाको नाम सूचीमा परेको थियो । उनीहरूमध्ये न्यायपरिषद्को शुक्रबार बसेको बैठकले राजवंशीसहित २७ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले न्यायालय जस्तो सम्मानित अंगमा राजवंशी समुदायको प्रतिनिधित्व हुनु समुदायको नयाँ पुस्ताका लागि ठूलो प्रोत्साहन र आत्मबल भएको टिप्पणी गरे । ‘अध्ययन र मिहिनेत गर्ने हो भने कुनै पनि जाति समुदायका व्यक्ति राज्यको जुनसुकै पदमा पुग्न सक्छन् भन्ने एउटा उदाहरण हो यो,’ उनले भने ।

न्यायाधीश सिफारिसपछि संविधानको निष्पक्ष र सफल कार्यान्वयनको जिम्मेवारी काँधमा आएकाले त्यसलाई कुशलतापूर्वक पूरा गर्ने राजवंशीले बताए । ‘न्यायालयको गरिमा उच्च राख्दै मैले करिब अढाई दशकदेखि सर्वोच्च अदालतमा बटुलेको अनुभव, योग्यता, क्षमताको आधारमा न्यायाधीश बनेको हुँ,’ उनले भने, ‘संविधानको निष्पक्ष र सफल कार्यान्वयनको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नेछु ।’ झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी जाति पिछडिएको वर्ग समुदायमा पर्छ । २०७८ को जनगणनाअनुसार मुलुकभित्र राजवंशी जातिको कुल जनसंख्या १ लाख ३२ हजार छ ।

प्रकाशित : भाद्र ३१, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?