कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

जो आफ्नै आलोचक थिए

राजनीतिक, सामाजिक र आलोचकीय दृष्टिकोण भएका कथाका कारण पराजुली बढी रुचाइने लेखक हुन्
दीपक सापकोटा

काठमाडौँ — ‘मेरा कथाबारे म आफैं क्रूर समालोचना गर्छु, आफैंमाथि क्रूर समालोचक हुँ म,’ नगरकोटको चिसो डाँडामाथि उभिएर गत साउन २६ को साँझ कथाकार राजेन्द्र पराजुलीले आफ्नै कथासंग्रहमाथि समीक्षा गर्दै भनेका थिए । नगरकोटमा आयोजना गरिएको नयाँ कथासंग्रह ‘जन्तरमन्तर’ को विमर्श–यात्रामा उनको टिप्पणी थियो, ‘कस्तो कथा लेख्नुपर्छ ? के विषय लेख्नुपर्छ वा कस्तो घटनामा लेख्नुपर्छ ? त्यो विषयमा म स्पष्ट छु ।’

जो आफ्नै आलोचक थिए

आफ्ना कथामाथि उनको निष्कर्ष थियो, ‘कथाबाट कस्तो सन्देश प्रवाह गर्ने ? कसको पक्षपोषण गर्ने भन्नेबारे पनि मसँग कुनै द्विविधा छैन ।’ तर कथा कसरी लेख्ने ? त्यसलाई अझै कसिलो अनि भरिलो कसरी बनाउने भन्ने कुरामा गम्भीर मिहिनेत जारी नै रहेको उनले सुनाएका थिए । ‘लेखकले नारा होइन, कथामा कलात्मकताबारे सोच्नुपर्छ,’ उनले भनेका थिए, ‘कथा नै मेरा लागि कम्फर्टेबल जोन हो । म यसमै रमाउँछु । कथाको संक्षिप्तता, तीव्रता, सन्तुलनमा खेल्न पाउनु मेरो जीवनको रुचि हो ।’

कथा–विमर्श वा चिया गफमा आफैंमाथि व्यंग्य, आफ्ना कथामाथि र समकालीनमाथि खरो टिप्पणी गरिरहने राजेन्द्र पराजुली अब ती विषयमा बोलिरहेका भेटिने छैनन् । एउटा ब्लगमा उनले आफैलाई प्रश्न गरेका छन्– ‘पाठकले अस्वीकार वा अत्यन्तै कमजोर ठानेका पुस्तक ‘अब नबेच’ भनेर प्रकाशकलाई भन्न सक्छु वा बजारबाट ‘फिर्ता’ ल्याउन सक्छु ?’

मंगलबार बिहान निमोनियाका कारण छातीमा समस्या आएपछि कथाकार, पत्रकार राजेन्द्र पराजुलीको ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो । उनी सघन उपचार कक्षमा उपचाररत थिए । तीन दशकभन्दा बढी पत्रकारिता गरेका उनी आफ्ना राजनीतिक, सामाजिक र आलोचकीय दृष्टिकोण भएका कथाहरूका कारण बढी रुचाइन्थे ।

पराजुलीका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्पयात्रा’, ‘जन्तरमन्तर’ लगायत पुस्तक प्रकाशित छन् । ‘उनी एक इमानदार, स्वाभिमान पनि भएको र स्वाभिमानी मानिसलाई सम्मान गर्ने संघर्षशील व्यक्ति थिए,’ पराजुलीमाथि आख्यानकार नारायण ढकालको बुझाइ छ, ‘सदासर्वदा जीवनको अर्थ खोजिरहने एक स्रष्टा थिए । मानिस कस्तो आदर्शमा रहनुपर्छ भन्ने कुरा पात्रहरूमार्फत लेख्थे ।’ ढकाल पराजुलीको आत्मकथात्मक पुस्तक ‘कोटेश्वरको केटो’ इतिहासको पदचापमाथिको इमानदार अभिव्यक्ति भएको मान्छन् । भन्छन्, ‘उनमा कुनै पाखण्ड थिएन, उनी पाखण्डरहित बाहिर र भित्र दोहोरो चरित्र नभएको असल मान्छे थिए ।’

उनको खास नाम थियो– राजनप्रसाद पराजुली । शिक्षकले नाम परिवर्तन गरिदिँदा निकै रोएको प्रसंग उनले एक आलेखमा पस्किएका छन् । ‘सहपाठी, शिक्षक, केही साथीभाइका निम्ति म चार कक्षासम्म राजनप्रसाद पराजुली थिएँ । पाँच कक्षामा पुग्दा नाम फेरिएर राजेन्द्र भइसकेको थिएँ,’ उनले लेखेका छन्, ‘क्रूर स्वभावका हेडसरले मेरो नाम जबर्जस्ती परिवर्तन गरिदिएका थिए । नाम फेरिँदा म निकै रोएको थिएँ ।’ कथा विचार पनि हो भन्थे पराजुली । तपाईंका कथाका पाठक को हुन् भन्ने एक प्रश्नमा उनले भनेका थिए, ‘मेरा लक्षित पाठक छैनन् । सबै उमेर, वर्ग, समुदाय, लिंग, क्षेत्रका पाठकले पढून् भन्ने चाहन्छु ।’ उनी विचारलाई कला र कल्पनाशीलताको मद्दतले रुचिकर बनाउने प्रयास भने सधैं गरिरहन्थे । नबुझिने कथा वा साहित्यको कुनै अर्थ हुँदैन भन्थे ।

पराजुलीका कथामा यथास्थितिमाथिको असन्तुष्टि र परिवर्तनको आकांक्षा देखिने मानवशास्त्री सुरेश ढकाल बताउँछन् । ‘समकालीन कथाकारमा अग्रणी छन् उनी,’ उनले भने, ‘साहित्यको पक्षलाई कमजोर हुन नदिई वर्तमानका विसंगतिप्रति कटाक्ष गर्दै परिवर्तनको आकांक्षालाई साहित्यिक अभिव्यक्ति दिने कथाकार पनि हुन् उनी ।’ कथासँगै उनी निबन्ध र साहित्यमाथि समीक्षा लेख्थे । समीक्षा लेखेकै कारण भौतिक आक्रमणसम्मको धम्की बेहोर्नुपरेको र नजिकका साथी रिसाएका दिन सम्झँदै उनले भनेका थिए, ‘वर्तमान समीक्षाको दृश्य धमिलो छ । समीक्षाले विश्वास गुमाउँदै गएको छ ।’

राजनीतिक कथामाथि पनि उनको सम्पादनमा पुस्तक प्रकाशित छ, ‘नेपाली राजनीतिक कथा’ । कथा, समीक्षा र पत्रकारिता तीनै विधा उनका प्रिय कर्म थिए । भन्थे, ‘लेखनले मेरो मस्तिष्कलाई आनन्द दिन्छ, पत्रकारिताबाट आफू र आफ्नो परिवारको गुजारा गरिरहेको छु । आफूलाई लागेका कुरा कथा र साहित्यका अन्य विधामार्फत निर्धक्क भन्न पाउँछु ।’

आख्यानकार नयनराज पाण्डेको बुझाइमा पराजुली जिन्दगीसित गुनासो नगर्ने मानिस थिए । भन्छन्, ‘उनमा धेरै पाउने लोभै थिएन । घमण्ड नभएका असल कथाकार थिए उनी ।’ पराजुलीका कथामा, खासगरी राजनीतिक कथा लेखनमा उनको कलम खरो देखिएको लेखक शकुन्तला जोशी बताउँछिन् । ‘उनी सधैं सम्झिइरहने कथाकार हुन्,’ उनले भनिन्, ‘पराजुलीले सबैभन्दा बढी राजनीतिक विषयमै कथा लेखेका छन् ।’ पराजुलीका विचारमा राजनीति सबै नीतिको माउ नीति हो, यो धमिलिँदा अरू सबै धमिलिन्छन् । पाकिस्तानका सआदत हसन मन्टोको उदाहरण दिँदै उनी भन्थे, ‘त्यो राजनीतिमा हमला नगरी एउटा सचेत लेखक कसरी बस्न सक्ला ?’

किनारीकृत, आवाजविहीन, विभेदको सिकार बनाइएका मान्छेबारे कथा लेख्थे पराजुली । नगरकोटको विमर्श–यात्रामा उनले भनेका थिए, ‘नेपाली साहित्यमा उम्दा कथा आउनै बाँकी छ र नेपालले ‘महान्’ कथाकार आजका मितिसम्म पाएको छैन ।’ पराजुलीलाई राम्रा कथाकार र एक शालीन व्यक्तिका रूपमा सम्झना गर्छन् सुरेश ढकाल । भन्छन्, ‘व्यक्ति आफैं पनि शालीन थिए, त्यसकारण पनि उनलाई लामो समयसम्म साहित्यले सम्झिइरहनेछ ।’

२०२१ वैशाख २१ मा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुलीले राजधानी, नेपाल समाचारपत्र, नागरिक, बाह्रखरी, अभियान, हिमालखबरलगायत सञ्चार संस्थामा काम गरेका थिए । पराजुलीका श्रीमती, एक छोरा र छोरी छन् ।

प्रकाशित : भाद्र २७, २०८० ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?