कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नेम्वाङलाई यसरी सम्झन्छ इलाम र पाँचथर

‘उहाँ इलामको अभिभावक हो । इलामका हरेक व्यक्तिसँग राम्रो सम्बन्ध र सद्भाव राख्नुहुन्थ्यो, पार्टी, वर्ग, लिंग कसैमा भेदभाव गर्नु हुन्नथ्यो, हामीले राजनेता मात्रै नभएर निष्ठा र स्वाभिमानको स्तम्भ गुमाएका छौं ।’
लक्ष्मी गौतम

पाँचथर — संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले पुर्ख्यौली थलो पाँचथरसँगै इलामसमेत शोकमग्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–१ माथ्लोगाँउ थातथलो रहेका नेम्वाङका पिता बसाइँ सरेर इलाम गएपछि उनको जन्म पनि इलाममै भएको थियो । नेम्वाङको निधनले जनप्रतिनिधि र राजनेता मात्रै नभएर इलाम र पाँचथरका सर्वसाधारण शोकमग्न  छन् । 

नेम्वाङलाई यसरी सम्झन्छ इलाम र पाँचथर

‘पछिल्लो पटक गत वैशाख महिनामा फिदिम आँउदा फिदिममा भेटेर फोटो खिचाएकी थिएँ,उहाँले कोटमाथि लगाएको सिलाम साक्मा र कालो टोपी खुबै मन परेको थियो,उहाँले गरेका सबै भाषण भ्याएसम्म सुन्थेँ, दुई दिनअघि धरानमा राख्नुभएको मन्तव्य उत्तिकै मर्मस्पर्शी थियो,’ फिदिम नगरपालिका–१ की संगीता लिम्बूले भनिन् । नेम्वाङको निधनको खबर सुन्दा सपना जस्तै लागिरहेको पनि उनले सुनाइन् ।

इलाम चमैताका टेकबहादुर बस्नेत नेम्वाङलाई निधन भएको खबर झुटो भइदिए हुन्थ्यो भन्ने लागेको छ । ‘बिहानै रेडियोले समाचार फुक्यो, सपनामा छु कि विपनामा यकिन गर्न आफैंलाई चिमोटें,’ बस्नेतले भने । फिदिम नगरपालिकाका निर्वतमान मेयर तथा कांग्रेस नेता ओनाहाङ नेम्वाङ सुवास नेम्वाङ जातीय र साम्प्रदायिकभन्दा सामूहिक र समावेशी सोचले प्रेरित रहेको टिप्पणी गर्छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिचानका नाममा पटक–पटक भएका आन्दोलनमा आन्दोलनकारीसामु आँखाको तारो बने पनि सामूहिक हितलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्दा ठूला–ठूला दुर्घटना टरेको उनको विश्लेषण छ । नेम्वाङको निधनले नेपाली राजनीतिमा निकै ठूलो धक्का लाग्ने चिन्ता उनको छ

कांग्रेस पाँचथरका सचिव दीपक नेपाल नेम्वाङ आलोचनालाई सहज रूपमा ग्रहण गर्दै जस्तासुकै समस्याको सहज समाधान गर्न सक्ने क्षमतावान नेताका रूपमा सम्झन्छन् । नेकपा एमाले मात्रै नभएर नेपालका सबै राजनीतिक दलले एकजना सच्चा अभिभावक गुमेको उनको निष्कर्ष छ ।

माओवादी केन्द्रका नेता धीरेन्द्र सेर्माको बुझाइमा नेम्वाङमा सरल व्यक्तित्व विचार र निष्ठामा अडिग र पछिल्लो पिँढीलाई समान अवसर दिएर जानुपर्छ भन्ने गुणबाट प्ररित नेता हुन् । उनको निधनले उनको निर्वाचन क्षेत्र इलामसँगै सिंगो मुलुकलाई क्षति पुगेको उनी बताँउछन् ।

कांग्रेस इलामका नेता हिमालय कर्माचार्य नेम्वाङले इलामको समग्र राजनीति,विकास र समाज रूपान्तरणमा अविभावकत्व ग्रहण गरेको टिप्पणी गर्छन् । ‘उहाँ इलामको अभिभावक हो । इलामका हरेक व्यक्तिसँग राम्रो सम्बन्ध र सद्भाव राख्नुहुन्थ्यो, पार्टी, वर्ग, लिंग कसैमा भेदभाव गर्नु हुन्नथ्यो, हामीले राजनेता मात्रै नभएर निष्ठा र स्वाभिमानको स्तम्भ गुमाएका छौं,’ उनले भने ।

एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी नेम्वाङलाई नेपाली राजनीतिमा ‘आदर्श पात्र’को संज्ञा दिन्छन् । ‘उहाँ आफूलाई लागेको कुरा चलाखीपूर्ण ढंगले व्यक्त गनुहुन्थ्यो, जहाँ पुगेर बोल्दा पनि पुर्ख्यौली,मावली, र कुटुम्बेली नाता जोडेर सम्बोधन गर्दा जनसमर्थन पनि राम्रै पाउनुहुन्थ्यो,’ सुवेदी भन्छन् ।

नेम्वाङ २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् । उनी २०२८–२०२९ सालमा इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्ववियू सभापति भएका थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी को–अर्डिनेसन केन्द्र (माले)मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भएका उनी २०५६ सालदेखि इलाम क्षेत्र नम्बर–२ बाट निरन्तर निर्वाचित हुँदै आएका थिए ।

उनी विसं २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य थिए । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, २०६४ मा व्यवस्थापिका संसद्को सभामुख, २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख थिए । उनी २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक–पटक गरी सात महिना थुनामा थिए । २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका उनले २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गरेका थिए ।

कानुन विषय अध्ययन गरेका नेम्वाङ नेपाल बार एसोसिएसनका महासचिवको भूमिकासमेत उनले निर्वाह गरे । राज्यको पुनर्संरचनापश्चात २०७४ र २०७९ मा पनि उनी इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेम्वाङले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउँदै आएका थिए ।

प्रकाशित : भाद्र २६, २०८० १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?