३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आँखा पाक्ने प्रकोप सामान्यतर्फ

संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम २० प्रतिशतमा झरेको तथ्यांक
अतुल मिश्र

काठमाडौँ — मुलुकभरि देखिएको आँखा पाक्ने रोग ‘भाइरल कन्जक्टिवाइटिस’को प्रकोप सामान्य हुँदै गएको छ । नेत्र रोग विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाट्टफुट्ट रूपमा मात्रै रहने दाबी गर्छन् । 

आँखा पाक्ने प्रकोप सामान्यतर्फ

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सुरु भएको आँखा पाक्ने संक्रमण पछिल्लो एक महिनामा देशभरि महामारीकै रूपमा विस्तार भएको थियो । आँखाको सेतो भाग सुन्निने र पाक्ने यो कन्जक्टिवाइटिसलाई आई फ्लुसमेत भनिन्छ । मुलुकका विभिन्न आँखा अस्पतालका बहिरंग विभागमा आएका कुल बिरामीमध्ये आँखा संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम २० प्रतिशतमा झरेको तथ्यांक छ ।

कीर्तिपुर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. एरिक वैद्यले पनि आँखा पाक्ने संक्रमण दर दिनहुँ घट्दो क्रममा रहेको बताए । विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रक्षा पन्तका अनुसार हाल संक्रमित दर पहिलेको दाँजोमा करिब ८० प्रतिशत घटिसकेको छ । सम्भवतः असोजदेखि संक्रमण खासै नदेखिने उनको अनुमान छ ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.अमित यादवले संक्रमित दर बहिरंग विभागका कुल बिरामीमध्ये अधिकतम १० देखि १५ प्रतिशतमा सीमित भइसकेको बताए । सगरमाथा चौधरी आँखा अस्पताल, लहानका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सञ्जय सिंहले भने यो दर अझ ४ प्रतिशतमा पुगेको उल्लेख गरे ।

‘आँखा पाक्ने प्रकोप सामान्य अवस्थामा पुगेको देखिन्छ,’ गेटा आँखा अस्पताल, कैलालीका चिफ मेडिकल डाइरेक्टर डा.सुरेशराज पन्तले भने । उनले गेटामा आएका बिरामीमध्ये २ देखि ३ प्रतिशतमा मात्र भाइरल कन्जक्टिवाइटिस देखिएको जनाए । फत्तेवाल आँखा अस्पताल नेपालगन्जका चिफ मेडिकल डाइरेक्टर डा. देवराज भारतीले एक महिनाअघिसम्म दिनहुँ एक सयदेखि एक सय ५० सम्म आँखाका संक्रमित आउने गरेकामा हाल ८–१० जना मात्र रहेको बताए ।

राष्ट्र्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा.रुना झाले देशभरका सातै प्रदेशका १६ साइटबाट संकलित १ सय ११ वटा आँखा संक्रमितको परीक्षण गर्दा ७३ जनामा एन्टेरोभाइरस देखिएको जनाइन् । नेत्र रोग विशेषज्ञका अनुसार आँखा पाक्दा यसले नानी (कोर्निया) मा समेत प्रभावित पारेको देखिएको छ ।

गेटाका चिफ मेडिकल डाइरेक्टर पन्त संक्रमितमध्ये ३ देखि ४ प्रतिशतमा आँखाको नानीमा असर परेको बताउँछन् । यस्तै जानकी आँखा अस्पतालका डा. यादव आँखा पाक्ने बिरामीमध्ये करिब ५ प्रतिशतका नानीमा असर देखिएको बताए । तर कीर्तिपुर आँखा अस्पतालका मेसु डा. वैद्यका अनुसार अत्यन्त न्यून केशमा मात्र कोर्नियामा असर परेको बताउँछन् ।

यो संक्रमण हुँदा आँखा मिच्न र पानी छ्याप्न नहुने भन्दै नेत्र विशेषज्ञहरू बरु आँखालाई सफा रुमालले सेक्न सुझाव दिन्छन् । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना आँखामा राख्ने औषधि जथाभावी प्रयोग गर्नु हुँदैन ।

प्रकाशित : भाद्र १६, २०८० ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?