१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मधेशमा सत्ता गठबन्धन परिवर्तन गर्ने एमाले प्रयास

मणि दाहाल

काठमाडौँ — संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेशिकस्तरमा नयाँ गठबन्धन बनाउने गृहकार्य सुरु गरेको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)प्रति असन्तुष्ट रहेका सत्तारुढ दलहरुसँग एमालेले नयाँ गठबन्धन निर्माणका लागि संवाद अघि बढाएको हो ।

मधेशमा सत्ता गठबन्धन परिवर्तन गर्ने एमाले प्रयास

गठबन्धनका अन्य दलहरुले मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटीरुपमा प्रदेश सरकार सञ्चालन गर्न खोजेको भन्दै असन्तुष्ट रहेका छन् । पछिल्लो समयमा माओवादी केन्द्र सत्ताबाट बाहिरिएको छ भने प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अनुपस्थित रहृयो ।

एमाले मधेश संसदीय दलका नेता सरोज यादवले जसपाबाहेक प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसाग प्रदेशिकस्तरमा नयाँ गठबन्धनका लागि छलफल सुरु भएको बताए । ‘हामीले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल सुरु गरेका छौं । विश्वासको मत फिर्ता लिएदेखि नै सुरु गरेपनि केन्द्रको गठबन्धनको कारण छुटिएर आउने अवस्था थिएन । सरकारले ल्याएको नीति तथा कार्यक्रम र आउन लागेको बजेटको कारणले सत्ता गठबन्धनभित्र ठूलो अन्तरद्वन्द्व देखिएको छ,’ यादवले भने, ‘केही दिनभित्र हामीले सुरु गरेको प्रयासले सफलता पाउँछ ।’

एमालेको केन्द्रीय सदस्य रहेका यादवले अन्य दलहरुबाट सकारात्मक जवाफ आएको बताए । ‘केन्द्र र प्रदेशमा फरक-फरक गठबन्धन बनाउनु पर्छ भन्नेमा कन्भिन्स गर्छौं भन्नु भएको छ । अन्य दलले जसपाले सबै निर्णयमा एकलौटी गर्दा मिलेर जाने अवस्था नरहेको पुगेका छन्,’ उनले भने, ‘ठूलो दल भएको कारण एमालेले सरकार नेतृत्व गर्छ ।’

मधेशमा देखिएको विवादको असर केन्द्रको राजनीतिमा पनि देखिएको छ । मधेश प्रदेशमा जसपालाई सन्तुलनमा राख्ने जनमत पार्टीलाई संघीय सरकारमा पुन: सहभागी गराउने तयारीमा प्रधानमन्त्री दाहाल छन् । प्रधानमन्त्री जनमत पार्टीले चाहेको मन्त्रालय दिएर भित्र्याउने तयारी छ । यस विषयलाई लिएर जसपा असन्तुष्ट भए प्रदेशमा जसपालाई बाहिर राखेर अर्को गठबन्धन गर्ने तयारी सत्ता गठबन्धनको दलहरुको छ । मधेशमा राजनीतिक वर्चश्वका लागि जसपा र जनमतबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

एमाले सचिव तथा मधेश इन्चार्ज योगेश भट्टराईले केन्द्रको हस्तक्षेप नहुने हो भने मधेशमा नयाँ गठबन्धन बन्ने बताए । ‘केन्द्रले हस्तक्षेप नगर्ने हो भने मधेशमा मात्रै नभएर कोशी प्रदेशमा पनि एमालेसहितको दलहरुको नयाँ गठबन्धन हुन्छ,’ भट्टराईले भने । २०७४ सालको आमनिर्वाचन पछि केन्द्रमा सत्ता समीकरण परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि परिवर्तन हुने गरेको थियो । आमनिर्वाचन एमाले र माओवादीको गठबन्धनले जित्दा सातमध्ये ६ प्रदेशमा सरकार बनेको थियो । एमाले र माओवादीबीचको एकता टुट्नेबित्तिकै प्रदेशमा पनि सरकारहरु नयाँ बनेका थिए ।

मधेश प्रदेशमा एमाले २३ स्थानका साथ पहिलो स्थानमा रहेको छ । कांग्रेस २२, जनमत १३, लोसपा ९, माओवादी ८, एकीकृत समाजवादी ७ र स्वतन्त्र ६ सिट छ । सत्ताको नेतृत्व गरिरहेको जसपाको १६ सिट रहेको छ । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

मधेशमा माओवादीबाट सुनीता यादव उद्योग वाणिज्यमन्त्री र रहवर अन्सारी राज्यमन्त्री छन् तर थप एक मन्त्रालय नपाएको भन्दै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री यादवसँग असन्तुष्ट माओवादी बिहीबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अनुपस्थित भएको थियो । मुख्यमन्त्रीसँग रहेको सूचना, सञ्चार तथा कानुन मन्त्रालयमा माओवादी संसदीय दलका नेता भरत साहको दाबी छ ।

माओवादी उपमहासचिव मात्रिका यादवले संघमा माओवादी र जसपाबीच गठबन्धन भए पनि मधेश सरकारका मुख्यमन्त्री यादवमा गठबन्धन चरित्र नदेखिएको टिप्पणी गरेका छन् । ‘मुख्यमन्त्रीले पेलेर जान खोजेपछि कसरी हुन्छ ?’ उनले भने, ‘मधेशमा आलोपालो सरकारको नेतृत्व गर्दा सबै कुरा स्पष्ट हुन्छ ।’

मधेश सरकारमा जनमतका वसन्तकुमार कुसवाह बिनाविभागीय र महेन्द्रप्रसाद यादव शिक्षा तथा समाज कल्याणमन्त्री छन् । मुख्यमन्त्री यादवको कार्यशैलीप्रति जनमत असन्तुष्ट छ ।

देश संघीय प्रणालीमा गएपछि पहिलो पटक सत्तामा पुगेको एमाले केन्द्रमा गठबन्धन फेरिएसँगै मधेशमा प्रदेशमा बाहिरिएको थियो । पहिलो प्रदेश सभाको अवधिभर एमाले विपक्षमा रहेको थियो । दोस्रो कार्यकालमा भने एमालेका रामचन्द्र मण्डल सभामुखमा निर्वाचित भएका छन् ।

एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई मन्त्री बनाएका थिए । मधेशमात्रै नभएर कोशी प्रदेशबाहेक प्रदेश सरकारबाट एमाले बाहिरिएको थियो ।

यसै साता माओवादी केन्द्रले एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउँदै मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको घोषणा गरेको छ । ९३ सदस्यीय प्रदेश सभामा अर्को एमाले बाहेकका अन्य सबै दल मिल्दामात्र सरकार बन्ने संभव हुन्छ । एमाले ४० सिटसहित पहिलो स्थानमा रहेको छ । केन्द्रमा जस्तै प्रदेशमा एमाले्इतरको गठबन्धन बनाउनु पर्ने अन्य दलहरुले दबाब दिएपछि माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको हो ।

प्रकाशित : जेष्ठ २७, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?