प्रधानमन्त्रीले पशुपतिनाथमा चढाए ५१ हजार भेटी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा उनी शनिबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

प्रधानमन्त्रीले पशुपतिनाथमा चढाए ५१ हजार भेटी

पशुपति मुल पुजारी रावल गणेश भट्टले मन्दिरमा हुने पूजा प्रक्रियाबारे दाहाललाई जानकारी गराएका थिए । भट्टले उनी र अरु मन्त्रीहरुलाई रुद्राक्षसहित फूलको माला र टीका लगाएर स्वागत गरे । यसअघि उनी पशुपतिनाथमा औपचारिक दर्शनका लागि गएका थिएनन् ।

दाहालले पुशपतिको दर्शनपछि ५१ हजार रुपैयाँ भेटी चढाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ‘पशुपतिनाथको पूजा प्रक्रियाबारे प्रधानमन्त्रीज्यूले चासोपूर्वक सुन्नुभयो’ कोषका एक अधिकारीले भने, ‘हिन्दूहरुको आस्थाको केन्द्रको दर्शन भ्रमण गर्दा प्रधानमन्त्रीज्यू प्रशन्न देखिनुहुन्थ्यो ।’

प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत सहभागी थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गरेर पूजा प्रक्रियाबारे जानकारी लिएको बताए । ‘प्रधानमन्त्रीज्यूले मूल भट्टसँग पशुपतिनाथको पूजा प्रक्रिया र अन्य कार्यक्रमबारे कुराकानी गर्नुभयो,’ उनले भने ।

२०६५ मा पहिलो पटक दाहाल प्रधानमन्त्री हुँदा पशुपतिनाथको मूल पुजारी नेपाली नियुक्ति गर्दा ठूलो विवाद भएको थियो । त्यसको केही समयपछि त्यो निर्णय उल्टिएको थियो । एकसाता अघि भारत भ्रमणका क्रममा उनले उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन र पूजा गरेका थिए । कम्युनिष्ट नेताको रुपमा महाकालेश्वरमा गेरुवस्त्र लगाएर पूजा गरेपछि उनको आलोचना भएको थियो ।

२०७७ माघ ११ मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथमा विशेष पूजा गरेका थिए । त्यसबेला उनले शान्ति र राष्ट्र संकल्पसहित एक लाख दीप प्रज्ज्वलन गरेका थिए । त्यतिबेला पशुपतिनाथको दर्शन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । जलहरी फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । यो जलहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?