२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आइतबारदेखि तापक्रम घट्ने, क्षणिक वर्षा हुनसक्ने

कोशी प्रदेशको विरानटगरमा शुक्रबारदेखि नै तापक्रम घट्न थालेको छ । बिहीबार अधिकतम तापक्रम ४२.६ डिग्री मापन हुँदा शुक्रबार ३६‍.९ मा झरेको थियो । शनिबार विरानटगरको अधिकतम तापक्रम घटेर ३५.३ मा सीमित ।
गोविन्द पोखरेल

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि कोशी प्रदेशका भू-भागहरूमा तापक्रम विस्तारै घट्दै जाने जनाएको छ । विभागले कोशी प्रदेशको भू-भागमा बादल बनिने र क्षणिक वर्षाको सम्भावना रहेको जनाएको हो ।

आइतबारदेखि तापक्रम घट्ने, क्षणिक वर्षा हुनसक्ने

बदलीको अवस्थामा तापक्रम घट्ने गर्छ । आकाशमा बादल देखिने अवस्थालाई बदली भनिन्छ । पूर्ण बदलीमा आकाशलाई बादलले पूर्ण रूपमा ढाकेको देखिन्छ ।

पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शनिबार अपराह्नदेखि विस्तारै बदलीको अवस्था हुने छ । 'कोशी प्रदेशमा हल्काफुल्का वर्षाको सम्भावना छ,' उनले भनिन्, 'पहाडी भूभागमा दिउँसो बादल लाग्ने र क्षणिक वर्षा हुने सम्भावना छ ।'

शनिबार रातिदेखि कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा हुने जनाउँदै विभागले कोशी प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

१० मिलिमिटरभन्दा कम वर्षा हुँदा त्यसलाई विभागले हल्का वर्षा भन्ने गर्छ । दुई घन्टाभन्दा कम समय वर्षा हुँदा त्यसलाई विभागले क्षणिक वर्षा भन्ने गरेको छ ।

'अब विस्तारै बदलीको दिन बढ्ने देखिन्छ । कोशी प्रदेशका तराईका भूभागमा गर्मीबाट राहत महसुस भएको छ,' कडेँलले भनिन् । बदलीका कारण तीव्र गतिमा बढिरहेको तापक्रम घट्दै जाने पनि उनले जानकारी दिइन् । यद्यपि तराईका पश्चिम भू-भाग र लुम्बिनी प्रदेशका भू-भागहरूमा तापक्रम हालकै अवस्थामा हुने विभागले प्रक्षेपण गरेको छ । तराईका एक दुई स्थानहरूमा सोमबार मात्रै हल्का वर्षा हुने विभागको प्रक्षेपण छ ।

यस्तै कोशी प्रदेशको विरानटगरमा शुक्रबारदेखि नै तापक्रम घट्न थालेको छ । बिहीबार अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन हुँदा शुक्रबार ३६‍.९ मा झरेको थियो । शनिबार विरानटगरको अधिकतम तापक्रम घटेर ३५.३ डिग्री सेल्सियस छ ।

आइतबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबारदेखि मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?