भारत भ्रमणको उपलब्धि स्वीकार्न नसक्नेहरूले जनतामा भ्रम फैलाए : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ लाकुरीभन्ज्याङमा शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै दाहालले भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरे ।

भारत भ्रमणको उपलब्धि स्वीकार्न नसक्नेहरूले जनतामा भ्रम फैलाए : प्रधानमन्त्री दाहाल

भारत भ्रमणलगत्तै संसद्‌मा प्रतितिनिधिसभाका प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहालको आलोचनादेखि संसद् अवरोधसम्म गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री दाहालले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे ।

'मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ । तमाम उद्योगी/व्यवसायी खुसी छन् । राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन् । यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन । उनीहरुले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने ? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरुलाई लागेको थियो । त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला,' उनले थपे, 'प्रतिनिधिसभा र राष्ट्रियसभामा कस्तो चित्र देखियो भने तपाईंहरुले पनि टेलिभिजनमा देख्नुभयो होला । मलाई चाहिँ इतिहासमा पहिलोपटक राष्ट्रको आर्थिक हितमा । राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको छ ।'

प्रधानमन्त्री दाहालले इन्दौरको फोहोर व्यवस्थापनको सन्दर्भ जोड्दै नुवाकोट र काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषयमा आफूले तयारी गरेको बताए । 'भारत भ्रमणको क्रममा मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्‍यौं । इन्डियामा फोहोर सबैभन्दा राम्रो प्रयोग भएको ठाउँ हेरेको छु । अब नुवाकोट र काठमाडौं भ्यालीको फोहोर व्यस्थापनको समस्यालाई पनि दीर्घकालीन ससमाधान गर्ने सोचसहित आएको छु,' उनले भने ।

यस क्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कठोर ढंगले दृढ कदम चाल्ने संकल्पका साथ आफ्नो सरकार अगाडि बढेको बताएका थिए । प्रधानमन्त्री दाहालले अहिले सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ आधार र जनतामा नयाँ विश्वास जागेको पनि बताए ।

अर्थमन्त्री प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने उद्घोष गरे । उनले उत्पादनका आधारमा मात्रै अनुदान दिने बताए। 'जसले उद्यमशीलता देखाएर नयाँ तरिकाबाट कृषि व्यवसाय अगाडि बढाउँछ अबको दिनमा उसैलाई मात्र राज्यले अनुदान दिन्छ । यो नीतिले कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरुपयोग हुँदैन भन्ने विश्वास लिएको छु,' उनले भने, 'देशको सात सय ५३ वटै स्थानीय तहलाई लगानी र रोजगारीसँग जोड्ने लक्ष्य रहेको छ । बाँझो जमिनको सदुपयोग गरेर कृषि उद्यमशीलता, पर्यटन व्यवसाय, उद्योग सञ्चालन गर्ने सम्बन्धित निकायलाई राज्यले साथ दिनेछ ।'

आगामी आव २०८०/८१ का लागि विनियोजित बजेट आवश्यकता र मागमा आधारित रहेको अर्थमन्त्री महतको भनाइ छ । 'प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा बढी बजेट गएको भन्ने चर्चा र बहस संसद्देखि संसद् बाहिरसम्म चलिरहेको अवस्था छ । तर देशको आवश्यकतालाई प्राथमितामा राखेर बजेट विनियोजन भएको छ,' उनले भने, 'विदेशी सहयोग आओस् नआओस् टोखा–छहरे सुरुङ मार्ग बनाउने प्रक्रियालाई अगाडि बढाउनेछौँ ।'


प्रकाशित : जेष्ठ २७, २०८० १६:४५
प्रतिक्रिया
पठाउनुहोस्