कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जहाजमा चरा ठोक्किँदा निगमको दिल्ली उडान ७ घन्टा ढिला

चरा ठोक्किएको जहाजले नै आजै दिल्लीबाट फर्केर बेंगलोर उडान गर्नुपर्ने भएकाले दोस्रो उडान कम्तीमा ५ घन्टा ढिलो हुने
सुरज कुँवर

काठमाडौँ — दुबई विमानस्थलमा अवतरणका क्रममा दायाँ इन्जिनमा चरा ठोक्किएको विमान शनिबार बिहान निर्धारित समयभन्दा ७ घन्टा ‘डिले’ हुँदा दिल्ली जाने १ सय ५४ यात्रु काठमाडौं विमानस्थलमै अलपत्र परेका छन् ।

जहाजमा चरा ठोक्किँदा निगमको दिल्ली उडान ७ घन्टा ढिला

काठमाडौंबाट बिहान ८ बजे उड्नुपर्ने आरए–२०५ उडान नम्बर भएको निगमको न्यारोबडी विमान अल्फा किलो एक्सरे जहाजमा शुक्रबार राति दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उक्त विमान दुबईबाट शनिबार निर्धारित समयभन्दा करिब एक घन्टा ढिलो बिहान ११ बजेतिर काठमाडौंमा अवतरण भएको थियो । अवतरणका क्रममा निगमका प्राविधिकले जाँच गर्दा नेपाली नाम लुम्बिनी भएको त्यो न्यरोबडी विमानमा चराका पखेटा देखिएका थिए ।

‘बिहान ८ बजे उड्ने तालिका थियो । प्राविधिकहरुको जाँचपछि अब ३ बजेतिर जहाज दिल्ली जाने छ,’ निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने,‘त्यही जहाज दिल्लीबाट फर्केर आजैको तालिका अनुसार काठमाडौंबाट बेंगलोर गई राति काठमाडौं फर्किने छ ।’

निगमसँग दुईवटा न्यारोबडी विमान छन् । अर्को सगरमाथा नेपाली नाम भएको जहाजमा पनि चरा ठोक्किएपछि हाल मर्मतका लागि भारतमा पठाइएको छ । दिल्ली जान बिहान ६ बजे नै विमानस्थल पुगेका यात्रुहरुले निगमविरुद्ध नाराबाजी गर्दै गलत व्यवस्थापनका कारण ढिलाइ भएको भन्दै आलोचना गरेको विमानस्थलस्थित निगमको स्टेशनका एक कर्मचारीले बताए ।

निगमको (आरए–२२५) शनिबार १:४५ बजे बेंगलोर उडान भएकाले यात्रुहरु बिहानैदेखि विमानस्थलमा पुगिसेका छन् । तर दिल्लीको जहाज नउडेकाले निगमले बैंङलोरको उडानमा जाने यात्रुका लागि बोर्डिङपास दिलाउन चेकइन काउन्टर अझै खोलिनसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

‘भित्र बोर्डिङपास लिइसकेका यात्रुहरुको नाराबाजी । विमानस्थल टर्मिनल भवनको मूल ढोकामा बेंगलोर जाने यात्रुहरुको भीड छ,’ प्राधिकरणका प्रवक्ता भुलले भने, ‘विमानस्थलको टर्मिनल कार्यालयका कर्मचारीलाई संयोजन र व्यवस्थापनमा अप्ठ्यारो परिरहेको छ ।’

प्रकाशित : जेष्ठ २७, २०८० १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?