भ्रष्टाचार नियन्त्रण र सामाजिक रुपान्तरणका लागि नागरिक खबरदारी जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण-अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास व्यक्त गरेका छन् । उनले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने बताए ।


नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन ? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार आफूलाई भेट्न गृहमन्त्रालय पुगेका सञ्जीव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापासहितका नागरिक आन्दोलनका अगुवासँग उपप्रधानमन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् । आफूलाई कतिपयले 'सधै गृहमन्त्री होलास् र ? थुनिएकाहरू निस्किँदा तेरो के होला ?' भन्ने गरेको उपप्रधानमन्त्री श्रेष्ठले सुनाए ।
उनले सुशासन र जनसेवाका लागि लडिरहने प्रतिबद्धता जनाए । ठोस तथ्य प्रमाणबिना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेकोसमेत उनले बताए ।
प्रकाशित : जेष्ठ २६, २०८० १९:०५