१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘सिपसँगै प्रविधिमा पनि महिलाको पहुँच बढाउनुपर्छ’

बुनु थारु

काठमाडौँ — महिला अधिकारकर्मीहरुले सिप र क्षमतासँगै प्रविधिमा पनि महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा हेफर इन्टरनेशनलले शुक्रबार आयोजना गरेको ‘महिला सशक्तीकरण–सामाजिक रुपान्तरण’ अन्तरक्रियात्मक कार्यक्रममा सहभागी अधिकारकर्मीले नेतृत्व तहमा नपुगेसम्म महिला सशक्तीकरण नहुने बताए ।

‘सिपसँगै प्रविधिमा पनि महिलाको पहुँच बढाउनुपर्छ’

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिलाहरुलाई सिपसँगै प्रविधिमा पनि पहुँच बढाउनुपर्नेमा जोड दिइन् । थापाले भनिन्, ‘उनीहरुलाई परम्परागत सिपमात्र होइन, प्रविधिमैत्री बनाउनुपर्ने बेला भएको छ । सानोतिनो बाख्रा र टेलरिङमा मात्र नअल्मलिकन प्रविधिसँग जोडेर कसरी धेरै आम्दानी गर्नेमा जोड दिनुपर्छ ।’

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर)का संस्थापक अध्यक्ष रहेकी उनले जबसम्म महिलाहरु नेतृत्व तहमा पुग्न सक्दैनन् तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् ।

लीली थापा

महिलाले चलाएको साना तथा मझौला उद्योगले देशको कुल ग्रार्हस्थ उत्पादनमा ठूलो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको कदर हुन नसकेको थापाको भनाइ छ । ‘दक्षिण एसियामा लैंगिक समानताको व्यवस्थामा धेरै कानुन जारी गर्ने देश नेपाल नै हो । कार्यान्वयनको पाटो छुट्टै होला । कतिपय सकारात्मक पनि छन् । अनौपचारिक क्षेत्रमा महिलाहरु योगदानको बारेमा अझै बुझ्न सकिएको छैन,’ उनी भन्छिन् । उनले अब महिलाहरुको भूमिका सरकारलाई कसरी जवाफदेही बनाउनेमा ध्यान दिनुपर्ने बताइन् । थापा भन्छिन्, ‘सरकारलाई जवाफदेही बनाउनुपर्छ । हाम्रो वडाले कति पैसा लैंगिक समानतामा छुट्याएको छ भनेर सोध्न सक्नुपर्छ । हामी विभिन्न बहाना खोजिरहेका हुन्छौँ । घरमामात्र सीमित नभई सामाजिक कार्यमा पनि समय दिउँ ।’

पूर्वसांसद डिला संग्रौलाले जबसम्म महिला सशक्तीकरण हुँदैनन् तबसम्म राष्ट्रको सर्वाङ्गीण विकास नहुने तर्क गरिन् । नेतृत्व तहमा महिलालाई पुर्‍याउने अभियान पनि महिला सशक्तीकरण भएको तर यो अभियान कहाँ छ भनेर उनले प्रश्न गरिन् । भन्छिन्, ‘पहिलो त आर्थिक सशक्तीकरण नै मुख्य पाटो हो । महिलाहरु परनिर्भर छन् । आफ्नो खुट्टामा उभिन सकेका छैनन् । अनौपचारिक क्षेत्रमा गरेको कामको मूल्यांकन छैन । महिला सशक्तीकरण नारामात्र हो त ? महिलालाई सिप, आय, उद्यमशीलता, नेतृत्वसँग जोड्नुपर्छ ।’

डिला संग्रौला

उनले राजनीतिमा पनि महिलाहरुको उपस्थिति कमजोर रहेको बताइन् । ‘निर्णायक उपस्थिति राजनीतिमा पनि छैन । प्रत्यक्षमा टिकट दिँदैनन् । सबै प्रमुख पदमा पुरुष नै छन् । महिलाहरुको प्रतिनिधित्व राज्यको हरेक क्षेत्रमा एक तिहाइमा हुनुपर्‍यो नि । त्यो ग्याप छ,’ संग्रौला भन्छिन् । उनले कानुन बनाउने ठाउँमा पनि महिलाको उपस्थिति न्यून भएकाले नीति महिलामैत्री हुन नसकेको बताइन् ।

त्यसैगरी महिला पत्रकारहरुको अवस्था चित्रण गर्दै सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले नेपाली पत्रकारिता हेर्दा ०.१ प्रतिशतबाहेक महिला पत्रकार नेतृत्व तहमा पुग्न नसकेको बताइन् । भन्छिन, ‘महिलाहरु सक्षम छन् । केही नेतृत्वमा पनि पुगेका छन् तर व्यवहारिक पक्षमा हेर्दा निर्णायक तहमा छैनन् ।’ उनकाअनुसार ४ महिनायता ४ जना महिला पत्रकारहरुले आफ्नै सहकमीले हिंसा गरेको उजुरी लिएर छन् । तुम्खेवा भन्छिन्, ‘अरुको हक अधिकारको कुरा गर्ने ठाउँमा नै हिंसा भइरहेको छ ।मिडिया हाउसमा महिलाभन्दा पुरुष नै बढी छन् । पुरुषहरु पितृ सत्तात्मक संरचनात्मकबाट गाइडेड छन् । परिवर्तन शिक्षाले मात्र होइन तपाईंको संस्कार र सोचले पनि फरक पार्छ ।’ महिलाहरुको सफलताको कथा मिडियाले अझ प्राथमिकतामा राखेर सम्प्रेषण गर्नुपर्ने उनको भनाइ छ ।

विमला तुम्खेवा

‘जमर्को’ संस्थाकी कार्यकारी प्रबन्धक कृतिका लाकोल आफ्नो पारिवारिक उद्यमलाई अघि बढाइरहेकी छिन् । उनको उद्योगले कागज रिसाइकल गरेर विभिन्न वस्तु बनाउने गर्दछ । उनले महिला सशक्त हुन घरबाटै नै प्रयासको सुरुआत हुनुपर्ने बताइन् । उनले भनिन्, ‘२२ वर्ष भयो यो व्यवसाय सञ्चालन भएको । आमा र सानी आमाले सुरु गरेको व्यवसाय मैलै धानिरहेको छु । पारिवारिक साथ सहयोग छ ।’ उनले कुनै पनि उद्योग दर्ता गर्नको लागि निकै नै झन्झट हुने भएकाले त्यसमा सरकारले सहज बनाउनुपर्ने माग गरिन् । उनकाअनुसार कडा मिहिनेत तथा सुरु गरेको कामलाई निरन्तरता दिन सके सफल भइन्छ ।

कृतिका लाकोल

त्यसैगरी कार्यक्रममा बोल्दै हेफर इन्टरनेशनलकी एसिया प्रोग्रामकी डिरेक्टर निना जोशीले यो संस्थाले कृषि तथा पशुपालनमा रहेर काम गर्दै आए पनि आर्थिक तथा महिला सशक्तीकरणका लागि पनि जोड दिइरहेको बताइन् । भन्छिन्, ‘महिला र आर्थिक सशक्तीकरण सँगसँगै जान्छ भनेर त्यही अनुसारको प्रोजेक्ट डिजाइन गरिएको छ । हामी ४ लाख महिलाहरुमाझ पुगिसकेका छौं । १७ हजारभन्दा बढी समूह र करिब ३०० सहकारी संस्थामा आबद्ध भएर काम गरिरहेका छौँ ।’

निना जोशी

उनले महिला उद्यमीलाई पाइला पाइलामा चुनौती खेप्नुपर्ने अवस्था रहेको बताइन् । ‘एक त तालिम वा बैठकमा पनि सहभागी हुन गाह्रो छ । श्रीमान्‌को गाली खानुपर्छ । अर्को घरबाट निस्किएर आफ्नो सामानको डिल गर्न पनि अप्ठ्यारो हुन्छ । सामान बजारसम्म पुर्‍याउन उनीहरुलाई कठिन भइरहेको हुन्छ,’ उनले भनिन् । उनले महिलाहरु पछाडि पर्नुको कारण पितृसत्तात्मक सोच रहेको औल्याउँछिन् । भन्छिन्, ‘पितृसत्तात्मक परिवेशमा उनीहरु बलिया छन् । महिलाहरुलाई पछाडि पार्न कोसिस गरिरहेका हुन्छन् । पितृसत्तात्मक सोच परिवर्तन गर्नलाई पुरुषहरुलाई पनि साथ लिएर जानुपर्ने हुन्छ ।’

प्रकाशित : जेष्ठ २६, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?