कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाम्चे बजारमा पनि गर्मी बढ्यो

सर्वोच्च शिखर सगरमाथाको काख नाम्चे बजारमा १२ वर्षपछिकै उच्च तापक्रम
भानुभक्त निरौला

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि अघिल्ला वर्षहरूभन्दा गर्मी महसुस हुन थालेको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू बताउँछन् ।

नाम्चे बजारमा पनि गर्मी बढ्यो

एक सातादेखि लगातार टन्टलापुर घाम लागिरहेको छ । सधैं शीतल र जाडो हुने नाम्चेमा दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको छ ।

‘बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चर्को घाम लाग्छ, तापक्रम १२ डिग्रीसम्म पुग्छ,’ स्थानीय व्यायसायी लामाकाजी शेर्पाले भने । यो सिजनमा अघिल्ला वर्षहरुमा औसत तपक्रम ४–५ डिग्री सेल्सियस हुने नाम्चे बजारमा यस पटक १२ डिग्रीसम्म पुगेपछि अहिलेसम्मकै अधिक गर्मी भएको हो ।।

समुन्द्र सतहबाट ३४ सय मिटरको उचाईमा रहेको नाम्चेमा गर्मी बढेको स्थानीय छिमिकाल्देन शेर्पा बताउँछन् । आरोहणको सिजन लगभग सकिए पनि अहिले दैनिक १५–२० जना विदेशी पर्यटक नाम्चे पुग्ने गरेका छन् । उच्च भेगमा यति धेरै तापक्रम हुँदा विदेशीले पनि गर्मी महसुस गरेका छन् ।

यस्तै नाम्चेमा तत्काल अधिक वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हल्का वर्षाको संकेत देखिए पनि तापक्रम घट्ने गरी पानी पर्ने सम्भावना नरहेको मौसमविद् विनु महर्जनले बताइन् ।

‘नाम्चेमा छिटपुट वर्षाको सम्भावना त देखिन्छ, तर यसले तापक्रम गिरावटमा योगदान गर्ने देखिँदैन,’ मौसमविद् महर्जनले कान्तिपुरसित भनिन् ।

प्रकाशित : जेष्ठ २६, २०८० १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?