कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन गरिँदैन : महामन्त्री थापा

रमेशचन्द्र अधिकारी

धनकुटा — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । उनले सरकारमा जाने र टिकाउने नाममा गरिने गठबन्धनबाट पार्टी दलदलमा फसेको भन्दै त्यस्तो गल्ती नदोहोर्‍याउने बताए ।

आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन गरिँदैन : महामन्त्री थापा

महामन्त्री थापाले नेपाली कांग्रेस धनकुटाले बिहीबार आयोजना गरेको जिल्ला सम्मेलनका सहभागीलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । सरकारमा जान अनि टिक्नको नाममा गठबन्धन गर्न नहुने भन्दै उनले आगामी भदौमा हुने नीति सम्मेलनमा पार्टीभित्रका कमजोरीको गम्भीर समीक्षा गर्ने उल्लेख गरे ।

‘अरु सबै मिलेर एउटै मोर्चा बनाएर चुनाव लड्छन् भने पनि अब हामी कहिल्यै कुनै दलसँग गठबन्धन गर्दैनौं,’ उनले भने, ‘मञ्चबाट तल, ढोकाबाट बाहिर आउनुपरे पनि परोस्, विचार ठुलो कुरा हो, मूल्य मान्यता ठूलो हो ।’ विगत्मा भएका कमजोरी र दलदलमा फसेको पार्टीलाई बाहिर निकाल्न जुट्नु पर्नेमा जोड दिए ।

महामन्त्री थापाले एमाले, माओवादी, रास्वपा कोही दुश्मन नभएको, बरु सहयात्री भएको बताए । उनले भने, ‘रोग, भोक र अशिक्षा दुश्मन हुन् तर अरु दलले गठबन्धन गरे पनि हामी जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्नेछौं ।’ आफूहरू सहकार्यको राजनीति गर्ने भन्दै थापाले समाज परिवर्तनका मुद्दा र मुलुक निर्माणको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे ।

कुनै बेला १७ हजार मानिस मारिएका हुन् भनेर रेकर्ड भएको र मृत्युको दोष लागेको व्यक्तिसँग हात मिलाउदा पनि गिरिजाप्रसादसँग जनताले भरोसा राखेर समर्थन गरेको उनको कथन थियो । तर, रेशम चौधरीको रिहाइबारे बोल्दै उनले भने, ‘देश र जनताको भविष्यलाई सोचेर होइन, सरकार टिकाउनका लागि सम्झौता गरेर हालै एक जनालाई माफी दिएको घटनाले आलोचना खेप्नुपरेको छ, अब हामी गम्भीर हुनुपर्छ ।’ सत्ताका लागि विचार, सिद्धान्त र नीति छाडेर सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बुझाइलाई चिर्नु पर्ने उनले बताए । तीनै तहमा कांग्रेसको वर्चश्व रहेकाले आफूहरूबाटै जनताले भरोसा राखेको भन्दै पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा थापाले जोड दिए । ७० वर्ष अगाडि समाज परिवर्तनका लागि महिला, दलित र सीमान्तीकृत समुदायको मुद्दामा नेतृत्व गरेको पार्टीले ती मुद्दा बिर्सिएकाले कमजोर बन्दै गएको समेत उल्लेख गरे ।

प्रकाशित : जेष्ठ २५, २०८० २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?