कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दादुरा निवारणमा चुनौती थपिँदै

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ४ जनामा दादुरा संक्रमण पुष्टि
बुनु थारु

काठमाडौँ — बुधबार काठमाडौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ मा अवस्थित एक गुम्बामा ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भयो । २ वर्षअघि पनि ललितपुरको भैँसेपाटी र काठमाडौँको कागेश्वरीमा दादुरा फैलिएको थियो ।शंकास्पद सबैलाई आइसोलेसनमा राखिएको र समुदायमा फैलिन नपाएको परिवार कल्याण महाशाखाले जनाएको छ । त्यहाँ रहेका अधिकांशले एउटा पनि दादुराको खोप नलगाएको पाइएको छ । 

दादुरा निवारणमा चुनौती थपिँदै

भाेलि शुक्रबार समुदाय तथा सरोकारवालाहरूको बैठक गरिने र आवश्यक भएमा दादुरा-रुबेलाको खोप दिने योजना महाशाखाको रहेको छ । गत पुसमा पूर्ण खोप जिल्ला घोषित बाँकेमा वैशाखमा दादुरा संक्रमण फैलियो । एक जनाको मृत्युसमेत भयो । बाँकेबाट फैलिएको दादुरा संक्रमणले नजिकका जिल्लावासीलाई पनि प्रभावित बनायो ।

दादुरा रोग नेपालमा बर्सेनि फाट्टफुट्ट जिल्लामा देखिँदै आइरहेको छ । करिब ६ महिनाको अवधिमा १७ जिल्लामा ११ सय बालबालिकाहरूमा दादुराको संक्रमण पुष्टि भइसकेको छ । खोप शाखाले जनाएअनुसार दुई मात्रा लगाउनुपर्नेमा केही बालबालिकाले एक मात्रा मात्र खोप लगाएको र करिब ४० प्रतिशत बालबालिकाले एउटा पनि खोप नलगाएको पाइयो थियो ।

सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने बताएको नेपालले पछि सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता गर्‍यो । अब यो लक्ष्य सन् २०२६ सम्मका लागि सारिएको छ । बर्सेनि दादुरा संक्रमित बिरामी पुष्टि भइराख्नुले नेपालले दादुरा निवारणमा लिएको लक्ष्य भेट्नै कठिन देखिन्छ ।

दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । विज्ञहरूका अनुसार एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरालाई महामारीको रुपमा लिने गरिन्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनैपर्छ । विश्व स्वास्थ्यले संगठनले दादुरा-रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिनासम्म स्थानीय दादुरा रुबेलाका रोगहरू देखा नपरेको र ३ वर्षसम्म सोही अवस्था कायम भएमा निवारण भएको मान्न सकिने बताएको छ ।

खोपको पहुँचमा पुग्न नसकेका बालबालिका

नेपालमा दादुराविरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । दादुराविरुद्धको खोपको एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्दछ । दुई डोजले करिब १०० प्रतिशतसम्म बालबालिकाहरू पूर्ण रूपमा सुरक्षित गर्न सक्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०२२ को प्रतिवेदनले १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि नलगाएको बताउँछ । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकबाट देख्न सकिन्छ ।

तुलनात्मक रुपमा दादुराको दोस्रो मात्राको खोप लगाएको अवस्था नेपालको हेर्दा सन्तोषजनक मान्न सकिन्न ।पहिलो मात्राको खोप लगाउनेहरू ९५ प्रतिशतभन्दा बढी भए पनि ९२.८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् ।

दादुरा रोग छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । खोपप्रतिको महत्त्व कम हुनु, खोप अभियान फितलो हुनु, खोपमा पहुँच नहुनु आदि कारणले बालबालिकाहरु खोपबाट वञ्चित हुन पुगेका छन् । कोभिड महामारीले पनि धेरै बालबालिकाहरु खोप लगाउनबाट वञ्चित हुन पुगेको अनुमान गर्न सकिन्छ ।

सबै बालबालिका दादुराविरुद्धको पूर्ण मात्राको खोप नपाएसम्म यो निवारणमा आउन कठिन देखिन्छ । दादुरा निवारणका लागि ९५ प्रतिशतले दादुरा खोप लगाएको हुनुपर्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनै पर्दछ । यदि कुनै कारणवश बालबालिकालाई खोपको कुनै पनि मात्रा लगाउन छुटेमा जति सक्दो चाँडै २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा लगाउनुपर्ने खोप विज्ञहरूको भनाइ छ ।

परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले खुल्ला सिमानाका कारण, बसाइँसराइ गर्ने, कामदार तथा ज्यालादारी गर्ने मजदुरहरूको बालबालिका, केही समुदायमा दादुरा संक्रमण देखिँदै आएको बताउँछन् । ‘कामका लागि नयाँ–नयाँ ठाउँमा गइराख्ने भएकाले खोप कहाँ पाइन्छ भनेर थाहा नपाएको हुन सक्छ । स्वास्थ्यकर्मीलाई पनि त्यसको ट्र्याकिङ गर्न गाह्रो छ । केही समुदायले खोप लगाउनै हिच्किचाउने गरेका छन् । त्यसैले पनि संक्रमण फैलिएको देखिन्छ,’ उनी भन्छन् ।

उनी दादुरा निवारणमा बर्सेनि चुनौती थपिँदै गइरहेको बताउँछन् । उनी भन्छन्‚ ‘संक्रामक रोगहरुको चुनौती घना बस्तीमा बढी देखिएको छ । एउटा वडामा मात्र खोपको कभरेज राम्रो छैन भने पनि निवारण गर्न गाह्रो छ । सबैले आफ्नो तर्फबाट विशेषगरी स्थानीय तहले यसमा बढी जोड दिनुपर्छ ।’ खोप शाखाकाअनुसार ९ महिनासम्म खोप दिनका लागि अभिभावकहरु सचेत भए पनि १२ महिना र १५ महिनामा लिनुपर्ने खोपको जानकारी कम देखिन्छ । खोप अधिकृत भरत भन्छन्–‘ कतिपयले दादुरा खोप लिए पहिलो र अर्को दोस्रो मात्रा लिनुपर्छ भन्ने कुरामा ध्यान नदिएको अवस्थाले पनि यो खोपको कभरेज कम देखिन्छ ।समग्रमा हेर्दा ९२ प्रतिशत जति छ । निवारण हुन सबै तहमा सामान कभरेज हुनुपर्छ । एउटा वडाले मात्र कम गर्दियो भने त्यहाँबाट नै संक्रमण हुन सक्छ ।’

सरकारले बिहीबारबाट जोखिममा ९ जिल्लामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेको छ । ६ महिनादेखि १५ वर्ष उमेर मुनिका बालबालिकालाई खोप दिन लागिएको हो ।सुनसरी, परिवार कल्याण महाशाखा खोप शाखाका अनुसार मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान सञ्चालन गरिनेछ ।

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य मन्क्रालयले अनुरोध गरेको छ ।

के हो दादुरा ?

दादुरा अति संत्रामक रोग हो । यो रोग कुनै पनि उमेरको मानिसहरुलाई र विशेषगरी बालबालिकालाई लाग्न सक्दछ । अति संक्रामक भएकै कारण यसले छिट्टै महामारीको रुप लिन सक्छ । यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

बाल मृत्युको कारणमध्ये दादुरा एक प्रमुख कारण मानिन्छ । दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस) कै कारणबाट हुने दादुराजस्तै संक्रामक रोग हो । यी रोगहरू प्रायः ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनाका साथै मृत्युसमेत हुन सक्छ । रुबेला रोगको असरहरु दादुराभन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ ।

कस्ता हुन्छन् लक्षण ?

उच्च ज्वरो आउने र शरीरमा राता बिबिरा देखिने, आँखा रातो हुने, रुघाखोकी लाग्ने, संक्रमितको सम्पर्कमा आए १०–१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्छ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्छ ।

यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने , आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण मृत्यु पनि हुने सक्ने सम्भावना हुन्छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई वर्षको २ पटक वैशाख र कात्तिक महिनामा भिटामिन एको क्यापसुल खुवाउने, बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुारहरू खुवाउने र सरसफाइमा ध्यान दिने , ९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा र रुबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाउने चिकित्सकहरूको सुझाव छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?