अबका चुनावमा अरू सबै दल मिले पनि कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री थापा

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापाले अबका चुनावमा अरू सबै दल मिलेर आए पनि कांग्रेसले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । उनले चुनावमा गठबन्धन नगर्ने विषयमा पार्टीले नीति महाधिवेशनबाट प्रस्ट नीति लिनुपर्ने बताए । 

अबका चुनावमा अरू सबै दल मिले पनि कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री थापा

धनकुटामा बिहीबार कांग्रेसले गरेको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले विगतमा भएको कमजोरीबाट दलदलमा फसेको कांग्रेसलाई अब बाहिर निकाल्न सक्नुपर्ने बताए । ‘विगतमा जे भयो, भयो । योभन्दा अगाडि अब उपरान्त एमाले, माओवादी, रास्वपा कोही पनि दुस्मन होइनन्, हाम्रा सहयात्री हुन् । बरू गरिबी, रोग र भोक हाम्रा मुख्य समस्या हुन्,’ महामन्त्री थापाले अघि भने, ‘अबका चुनावमा अरू सबैले गठबन्धन किन नगरून्, हामी निर्वाचनमा जाँदा कोहीसँग पनि गठबन्धन गर्दैनौं, जनताको छनोटको अधिकारलाई सुनिश्चत गर्छौं, आगामी भदौमा पार्टीको नीति महाधिवेशन हुँदैछ, यो महाधिवेशनबाट हामीले यो एजेन्डालाई पास गरेर अगाडि बढ्नुपर्छ ।’

उनले सत्ताका लागि विचार, नीति र सिद्धान्त छोडेर सबै दलहरू एकै ठाउँमा आउँछन् भन्ने जनताको बुझाईलाई चिर्नुपर्ने बताए । उनले कांग्रेस सत्ताका लागि सबै कुरा छोड्छ भन्ने बुझाइकै कारणले जनताले कांग्रेसप्रति भरोसा राख्न छोडेको बताए ।

‘चुनाव हार्नुपरे हारियोस्, सरकार ढले ढलोस्, सत्ताबाहिर बस्नुपरे परोस् । तर हामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्दैनौं भनेर कठोर भएर अघि जान सक्नुपर्छ, कांग्रेस र देशलाई यो दलदलबाट बाहिर ल्याउन सक्नुपर्छ,’ उनले भने ।

उनले ७० वर्षअगाडि नै समाज परिवर्तनका लागि महिला, दलित र सीमान्तकृत समुदायको मुद्दामा नेतृत्व गरेको कांग्रेसले अब ती मुद्दालाई बिर्सिएका कारण कमजोर बन्न थालेको बताए ।

महामन्त्री थापाले अहिले स्थानीय तहदेखि केन्द्रसम्मका सरकारमा कांग्रेस रहेको भन्दै समाज परिवर्तनका सबै मुद्दा र समुन्नत नेपाल निर्माणको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?