भट्टराईको आत्मसमीक्षा- ‘०७२ मा हतारमा पार्टी घोषणा गर्नु नै गल्ती थियो’

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूले २०७२ सालमा हतारमा पार्टी घोषणा गरेर गल्ती गरेको स्वीकार गरेका छन् । बुधबारदेखि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले नयाँ संविधान जारी भइसकेपछि पाँच ‘स’लाई मूल वैचारिक-राजनीतिक आधार बनाएर नयाँ शक्ति निर्माणको देशव्यापी अभियान प्रारम्भ भएको र पार्टी घोषणा भएको स्मरण गर्दै त्यसबेला हतारमा पार्टी घोषणा गर्नु गल्ती भएको स्वीकार गरेका छन् । 

भट्टराईको आत्मसमीक्षा- ‘०७२ मा हतारमा पार्टी घोषणा गर्नु नै गल्ती थियो’

बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रस्तावमा उनले हतारमा पार्टी घोषणा गर्नु, अरूसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु तथा जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता आउनुलाई कमजोरीकारुपमा स्वीकार गरेका छन् ।

अध्यक्ष भट्टराईले आफ्नो नेतृत्वको पार्टी पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा पुगेको समेत उल्लेख गरेका छन् । ‘हामी कहाँ जान हिँडेका थियौं, कहाँ पुग्यौं ? हामी वैकल्पिक राजनीतिक शक्ति हौं कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौं ? किन हामीले पटक-पटक पार्टीको नाम र चुनाव चिह्न फेरिरह्यौं ? हामी झुक्किएका हौं कि, ठगिएका हौं कि, जानाजान निहित स्वार्थका निम्ति कहिले यता कहिले उता गरेका हौं ?,’ भट्टराईले प्रश्न गरेका छन् ।

उनले बाटो घुमेको हो कि गन्तव्य फेरिएको हो भन्नेबारे प्रस्ट हुने गरी उत्तर खोज्नुपर्ने औंल्याएका छन् । ‘संविधान जारी भएपछि नयाँ शक्ति निर्माणबारे बहस र पहल नयाँ उचाइबाट भयो, र २०७२ माघमा ‘नयाँ शक्ति निर्माण अभियान’ सुरु भयो । त्यसले स्वाधीनता, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादका ५ ‘स’लाई मूल वैचारिक-राजनीतिक आधार बनाएर देशव्यापी अभियान चलाउने र तलैदेखि जनताको सहभागितामा ‘नयाँ शक्ति’को संगठनात्मक आधार तयार गर्ने काम सुरु गर्‍यो,’ भट्टराईले प्रतिवेदनमा लेखेका छन्, ‘०७३ जेठमा दशरथ रंगशालामा करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गरियो । त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे । अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकांक्षाहरु पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो । अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो ।’

भट्टराईले त्यसबेला केही समय विभिन्न राष्ट्रिय र जनसरोकारका विषयमा सशक्त अभियान चलाएर त्यसबाट निर्मित र दीक्षित जनाधार, व्यक्ति र शक्तिहरूबाट मात्रै वैकल्पिक पार्टी निर्माणको जग निर्माण हुन सक्ने स्मरण गरेका छन् ।

पूर्णपाठ

प्रकाशित : जेष्ठ २५, २०८० १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?