बजेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले ग्वाम्म हात हाली गोरखा र नुवाकोटमा घोप्ट्याए : पन्त

'देशको प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुँदैन, बजेट खन्याएर मात्रै चुनाव जितिने भए चितवन छाडेर गोरखा किन जानुपर्थ्यो ?'

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद रघुजी पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन् । त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए । 

बजेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले ग्वाम्म हात हाली गोरखा र नुवाकोटमा घोप्ट्याए : पन्त

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले प्रधानमन्त्री सिंगो मुलुकको हुन नसकेको बताए । 'बजेटमा ग्वाम्म हात हालेको छ‚ नुवाकोटमा घोप्ट्याएको छ । बजेटमा हात हालेको छ‚ गोरखामा घोप्ट्याएको छ,' उनले भने, 'अर्को छेउमा तिमीहरूले मात्रै घोप्ट्याउने ? यो सबै जुटाइदिने त मैं हुँ भनेर मादल बजाएर बसिरहेका डडेलधुराका बुढा, उनकहाँ पनि घोपट्याइदिया छ‚ लौ ला त नि भनेर । अरु सबै हेर्‍या हेर्‍यै ।'

मन्त्रालयगत विनियोजनमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र मात्रै हेरेको पन्तको भनाइ छ । बजेट अन्य निर्वाचन क्षेत्रका लागि आवश्यकताका आधारमा विनियोजन गर्नुभन्दा पनि गोरखा, नुवाकोट र डडेलधुरा केन्द्रित हुँदा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको पन्तले बताए । 'जनताका लागि र अरु निर्वाचन क्षेत्रको लागि बजेट आएको छैन । सत्तापक्षका सांसदहरूले भन्न सक्नुहुन्न तर भित्रभित्रै यसले ठिकै भन्यो है भन्ने लागिरहेको छ,' उनले भने ।

प्रधानमन्त्री देशका लागि हुनुपर्नेमा दाहालले आफूलाई त्यसरी उभ्याउन नसकेको पन्तको भनाइ थियो । 'देशको प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री हुँदैन । बजेट खन्याएर मात्रै चुनाव जितिने भए चितवन छोडेर गोरखा किन जानुपर्थ्यो ? आफैँ विचार गर्नुस्,' उनले भने, 'देशका मान्छेहरूले नेता खोजेका छन् । जसले देशलाई नेतृत्व दिन सक्छन् । सपना दिन सक्छन् । त्यो सपनामा डोर्‍याउन सक्छ, त्यो सपनाको लागि समर्पित भएर लागेको छ । हामीलाई चाहिएको त प्रधानमन्त्री हो । एउटा क्षेत्रको लागि मात्रै हो प्रधानमन्त्री ? देशको प्रधानमन्त्री हो । उसले त देशका लाखौं लाख मानिसलाई हेर्नुपर्छ ।'

बजेट दिशाहीन रहेको पनि पन्तको भनाइ थियो । यो बजेटले कहाँ पुर्‍याउँछ भन्नेमा आशंका रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?