प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाको आवश्यकता रहेको पनि बताइन् । 

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : मन्त्री शर्मा

मन्त्री शर्माले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बर्बादीको शिकार भइरहेको बताइन् । साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको उनको भनाइ थियो । सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थितिसमेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको उनको भनाइ थियो ।

‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ । यस भित्रका विकृतिहरू हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरू ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन्,' उनले भनिन्, 'मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरू आज बर्बादीको शिकार भइरहेका छन् ।'

मन्त्री शर्माले आत्महत्याका घटना बढ्नुमा प्रविधिको दुरुपयोग पनि कारण रहेको बताइन् । प्रविधि प्रयोगसम्बन्धि नियम र कानुनको खाँचो रहे‍को उनको भनाइ थियो ।

'कस्ता वेबसाइट कुन उमेर समूहकाले हेर्ने भन्नेकुराको व्यापक शिक्षा हामीसँग छैन । यो सबैकुरा थाहा नपाउँदा यसबाट आउने विकृति लगायतका कुराबाट हाम्रो युवापुस्ता भड्किएको छ । यसको सही सदुपयोग गर्न र हाम्रो युवा पुस्तादेखि सबै हामी गलत प्रवृत्तिको शिकार नबनौँ भनेर राज्यको जिम्मेवारीमा हामी छौँ । यसमा नीति बनाउने बेलामा ढिलो भइसकेको छ, हामीसँग साइबर सुरक्षा नीति छैन । यसको अन्तिम तयारीमा हामी छौं,' उनले भनिन्, 'डिजिटल शिक्षालाई व्यापक रुपमा लैजान सकेका छैनौँ । मोबाइलको विकाससँगै त्यो शिक्षालाई पनि अघि बढाउनु पर्छ ।’

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताइन् ।

प्रकाशित : जेष्ठ २५, २०८० १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?