१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नागरिकता विधेयक संसद्‍मा आएको भए स्वामित्व लिन्थ्यौं : लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा गलत प्रक्रिया अपनाएको बताए । 

नागरिकता विधेयक संसद्‍मा आएको भए स्वामित्व लिन्थ्यौं : लामिछाने

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै लामिछानेले रास्वपा जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको बताए ।

'जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित हुनुपर्छ,' उनले भने, 'विधेयक संसद्मा आएको भए हामी छलफल गर्थ्यौं, स्वामित्व लिन्थ्यौं तर जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा विमति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौं ।'

वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको पनि लामिछानेको भनाइ थियो । नागरिकता विधेयकको प्रक्रियाको विरोध गर्दा आफ्नो पुत्ला जलाइएको भन्दै उनले आपत्ति जनाएका छन् । 'नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायकविरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,' उनले भने, 'त्यसो गर्नेहरूलाई म यति मात्रै भन्न चाहन्छु कि राजनितिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति वैदेशिक रोजगारीका समस्या र मिटरब्याज समस्याका विषयमा मधेसी जनताको पक्षमा हामी उभिएको संसार साक्षी छ ।' जनतामा भ्रमित हुने गरी जबर्जस्ती रास्वपाविरुद्ध अफवाह फैलाइएको उनको भनाइ थियो ।

नागरिकले नागरिकता प्राप्त नगर्दाको पीडा आफूलाई राम्रोसँग जानकारी रहेको उनको भनाइ थियो । 'मलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा छ, साच्चै नै थाहा छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन हुँदैन ।'

उनले वैवाहिक अंगीकृत विषयमा मौन रहेका हुनाले नागरिकताका विषयमा छलफल चलाउन खोजिएको बताए । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस लाग्ने उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २५, २०८० १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?