३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हामीलाई पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार छ : थापा

देवनारायण साह

मोरङ — कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नु पर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने बताएका छन् । ‘लिम्पियाधुरा, लिपुलेक नेपालले साट्ने लगायतका विकल्पमा सोचेर आफ्नो पोजिसन कमजोर पार्ने कुनै कारण छैन,’ विराटनगरमा पत्रकारसँगको कुराकानीमा बिहीबार उनले भने, ‘नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न पाउँदैन ।’

हामीलाई पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार छ : थापा

नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने र खोस्न पनि नदिने थापाको भनाइ थियो । उनले भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गरेर नेपाल समेट्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने बताए । नेपालको सांस्कृतिक नक्सा पनि अहिलेको भन्दा धेरै ठूलो भएको कसैले भूल्न नहुने उनले सुनाए ।

थापाले अहिलेको गठबन्धनमा सबभन्दा ठूलो दल कांग्रेस सरकारमा रहेकाले यो गठबन्धनको विकल्प खोज्नुपर्ने कुनै कारण र अवस्था नरहेको स्पष्ट पारे । ‘कोशी प्रदेशमा गठबन्धनको भावना अनुसार केही समय नचलेको अवस्था थियो तर अहिले त्यो पनि सकारात्मक रुपमा अगाडि बढिसकेको छ त्यसैले अहिलेको गठबन्धन सहज रुपमा अघि बढ्छ,’ उनले भने, ‘कांग्रेस सम्मिलित गठबन्धनको सरकारले परिणाममुखी काम गर्नुपर्छ र काम गरेर आमनागरिकमा देखिएको निराशा र असन्तुष्टि चिरेर गठबन्धन सरकारको प्रभावकारिता सिद्ध गर्नुपर्छ ।’

उनले फरक प्रसंगमा कांग्रेस सदनभित्र सबभन्दा ठूलो दल भएको र स्थानीय तहमा पनि सबभन्दा बढी जितेको अवस्थामा पनि कांग्रेसभित्र व्यापकह असन्तुष्टि र आक्रोशले पार्टी धराशयी हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘कांग्रेस कुनै एउटा मात्रै विचार र नेताको प्रभुत्व रहने परम्परा छैन,’ थापाले भने, ‘फरक फरक नेता र विचार भएको पार्टी कांग्रेसभित्र फरक फरक दृष्टिकोण र विचारमा बहस, संघर्ष र फरक मत हुनु स्वभाविक हो ।’ पछिल्लो समय पर्टाी नीतिगत र विधिसम्मत रुपमा अघि नबढेको बारे पार्टी नेतृत्वलगायत सबैले गम्भीरता पूर्वक सोच्नुपर्ने र समय अनुसार बदल्नुपर्ने बेला आएको थापाको भनाइ थियो ।

‘विगतदेखि हालसम्म हुँदै आएको केही निर्णयले पार्टीमा आक्रोश, असन्तुष्टि बढेर पार्टी अप्ठयारोमा परेकाले त्यो सच्याएर पार्टीलाई ठीक ठाउँमा उभ्याउनु पर्छ,’ महामन्त्री थापाले भने, ‘पार्टीलाई सही मार्गमा ल्याउनका लागि भदौमा हुने नीति अधिवेशनमा निर्मम समीक्षा हुन्छ ।’

प्रकाशित : जेष्ठ २५, २०८० ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?