बजेट पुनरावलोकन गरी फेरि पेस गर्न अर्थमन्त्रीलाई सांसद बरालको सुझाव 

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)की सांसद सुनिता बरालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट संशोधन गरेर ल्याउन सुझाव दिएकी छन् । बजेटले स्रोतको गलत आँकलन गरेकाले चालु खर्च पुनरावलोकन गर्न, बजेटको सिलिङ संशोधन गर्न र पुँजीगत खर्च ननाघ्ने गरी संसद्मा पुनः बजेट पेस गर्न सुझाव दिएकी हुन् ।

बजेट पुनरावलोकन गरी फेरि पेस गर्न अर्थमन्त्रीलाई सांसद बरालको सुझाव 

आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको बुधबारको छलफलमा सहभागी हुँदै सांसद बरालले भनिन्, 'चालु खर्च पुनरावलोकन गर्न, बजेटको सिलिङ पुनरावलोकन र फेरि बजेट पेस गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्दछु’, उनले भनिन् ।

बजेटमा आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिनु खुसीको विषय भए पनि बैंक तथा वित्तीय संस्थाले हाल गरिरहेको कर्जाको अवस्था हेर्दा लक्ष्य हासिल गर्न चुनौती रहेको सांसद बरालको भनाइ थियो । ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बैंक तथा वित्तिय संस्थाले १५ देखि १८ प्रतिशतको कर्जा विस्तार गर्नुपर्नेमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जम्मा ३.५ प्रतिशतमात्र कर्जा विस्तार हुनुले सरकारले लिएको लक्ष्य पूरा नहुने उनको भनाइ थियो ।

बरालले बजेटले शिक्षा क्षेत्रमा पर्याप्त लगानीको ढोका नखोलेको भन्दै यथेष्ट लगानीबिना शैक्षिक गुणस्तर उकास्न नसकिनेमा जोड दिइन् । उच्च माध्यमिक तहको शिक्षा अध्ययन गरेका युवालाई स्वदेशमै राख्ने नीति सरकारको हुनुपर्नेमा अहिलेको नीति त्यसतर्फ अग्रसर नभएको बताइन् ।

'शिक्षा क्षेत्रमा यथेष्ट लगानीबिना शैक्षिकस्तर उकास्न नसकिने कुरा हामी सबैलाई अवगत छ । भएको लगानीसमेत ठीक ठाउँमा भएको छ कि छैन ? प्रभावकारी अनुगमन गर्नुपर्ने प्रणाली विकास गर्न अत्यावश्यक छ,' उनले भनिन्, 'शिक्षा मन्त्रालयमा बजेट भएर पुग्दैन विश्वविद्यालयमा लगानी बढाएर विद्यार्थीलाई स्रोतको पहुँचमा पुर्‍याउनेतर्फ ध्यान दिनु आवश्यक छ । राज्यले उच्च माध्यमिक तहको शिक्षा अध्ययन गरेका विद्यार्थीलाई अब देशमा अनिवार्य सर्तमा राख्ने वातावरण बनाउनुपर्छ । युवालाई देशमै राख्ने नीतिमा सरकारले ध्यान नदिएकोतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।'

मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा पनि सांसद बरालले जोड दिइन् । उनले नेपाली मौलिकता जोगाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताइन् । सरकारसँग विदेशबाट पर्यटक भित्र्याउने स्पष्ट योजना नरहेको, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका जहाजको प्रभावकारी सञ्चालन गर्नेबारे योजना नरहेको भन्दै उनले सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।

प्रकाशित : जेष्ठ २४, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?