सामाजिक न्यायलाई विश्वको एजेन्डामा प्राथमिकता दिऊँ : आईएलओ


काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्वर्ट एफ हंगवोले बढ्दो आर्थिक असमानताविरुद्ध लड्न व्यवस्थितरुपमा एकीकृत सामाजिक न्यायलाई प्राथमिकता दिई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।


सोमबारदेखि जेनेभामा सुरु भएको १११ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उद्घाटन गर्दै आइएलओ महानिर्देशक हंगवोले सामाजिक न्यायलाई विश्वको एजेन्डामा प्राथमिकता दिनुपर्ने प्रस्ताव अघि सारेका हुन् । जुन १५ सम्म चल्ने सम्मेलनमा नेपालसहित १ सय ८७ देशका सरकार, रोजगारदाता र ट्रेड युनियनको सहभागी छन् । नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेतृत्व गर्दैछन् ।
‘मेरो साधारण सन्देश छ । जो कसैको पनि टाउको बालुवामा गाड्नु हुँदैन । कामको संसारलाई हल्लाउने गरी चुनौती आइपरेको बेलामा हामी चौथो औद्योगिक क्रान्तिको समयमा हुने उत्पादनको तरिकाको फेरबदल, जनसांख्यिकीय उथलपुथल, अर्थव्यवस्थाको लागि अम्लियपन कटौती गर्ने विषयहरु हामी सबैको भविष्यको लागि अवसर हो’, उनले भने, ‘तर यही समयमा चार अर्ब नागरिकहरुको सामाजिक सुरक्षा छैन । २१ करोड चार लाख कामदारहरु गरिबीको रेखामुनि छन् । निकै ठूलो संख्यामा रोजगार सिर्जना गर्न सक्ने सुक्ष्म तथा लघु उद्यमहरु संकटमा छन् ।’
उनले मानवको भविष्य सुरक्षा र विश्वव्यापीको आर्थिक सुधार नै सामाजिक न्यायसँग जोडिएको बताए ।