कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहारको पाउडर दूध प्रतिस्थापन गरी आत्मनिर्भर हुने योजना संसद्को प्राथमिकतामा परेन : सापकोटा

'अमूक नेताहरूलाई खुसी पार्नका निमित्त पूरै अभ्यास, नजीर र मूल्यमान्यताहरूलाई भंग, उल्लंघन, ध्वंस गरिरहेका छौं'

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले संसदीय मूल्य र मान्यता केही नेता खुसी पार्नका लागि उल्लंघन भइरहेको बताएका छन् । उनले संसद्मा हुनुपर्ने बहस नभएर नेता खुसी पार्ने बहस भइरहेको भन्दै मुलुकलाई हरेक क्षेत्रमा आत्मनिर्भर गर्नुपर्ने विषयमा छलफलमा लाग्न सांसदहरूलाई आग्रह गरेका छन् । 

बिहारको पाउडर दूध प्रतिस्थापन गरी आत्मनिर्भर हुने योजना संसद्को प्राथमिकतामा परेन : सापकोटा

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफलमा भाग लिँदै सापकोटाले लामो समय राजनीतिमा रहेका सांसदहरूले नै संसदीय मर्यादाको अवमूल्यन गरेको बताए ।

'पञ्चायत फटाएको, बहुदल फटाएको र अहिले गणतन्त्रमा समेत अभ्यास गरिराख्नुभएका अग्रजहहरूका कार्यशैली, अभ्यास, अभिव्यक्तिहरू हेर्दा एकातिर छ । हाम्रा नियमावली, अभ्यास, नजीर हेर्दा फेरि अर्को कन्फ्युजन हुनेजस्तो लाग्ने । यता व्यवहार हेर्‍यो त्यो सही हो कि नियमावली र नजीरहरू ! त्यसलाई जोड्दाखेरि केही कन्फ्युजन पैदा हुने अभ्यास संसद्मा देखेका छौं । हिजोसम्मको घटनाक्रममा आउँदा हाम्रो इज्जत भएको छैन,' उनले भने ।

संसद्मा कृषि उत्पादनमा कसरी आत्मनिर्भर हुनेभन्दा पनि भारतबाट भैंसी ल्याएको विषयमा बहस भएकोमा सांसद सापकोटाले आपत्ति जनाए । मुलुकलाई दूधमा आत्मनिर्भर कसरी हुने भन्ने विषयमा सांसदहरूले बहसमा केन्द्रित हुनुपर्ने बताए ।

'जापानबाट कुकुर ल्याइँदो रहेछ उसबेला, जर्मनीबाट बिरालो ल्याइँदो रहेछ । अहिले भारतबाट भैंसी आयो । भैसी किन आयो भनेर बहस गर्नका लागि जनताले हामीलाई चुनेर पठाउनुभएको होला त ?,' उनले भने, 'बिहारबाट पाउडरवाला दूधहरू हाम्रा भान्सामा छन् । त्यसलाई कसरी प्रतिस्थापन गरेर आत्मनिर्भर हुने हाम्रो छलफलको प्राथमिकता हुँदैन तर हामी यो छलफल गरिराखेका छौं ।' कृषिमा आत्मनिर्भर भएर अगाडि बढ्ने बजेट ल्याउनुपर्ने र योजना तर्जुमा गर्नुपर्ने उनको भनाइ थियो ।

संसद्मा राजनीतिक व्यवस्था र भविष्यका बारेमा गहन छलफल गरेर अगाडि बढ्नुपर्ने उनको आग्रह थियो । 'यो संसद् राजनीतिक व्यवस्था र भविष्यका बारेमा गहन ढंगले बहस गर्ने र राष्ट्रलाई दिशानिर्देश गर्ने सार्वभौम थलो हो । तर, हामी हाम्रा अमूक नेताहरूलाई खुसी पार्नका निमित्त पूरै अभ्यास, नजीर र मूल्यमान्यताहरूलाई भंग, उल्लंघन, ध्वंस गरिरहेका छौं । सिंगो जनताको भावनालाई दुत्कार गरेर ।'

प्रकाशित : जेष्ठ २३, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?