१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विचाराधीन मुद्दामा सञ्चार क्षेत्र संवेदनशील बन्नुपर्छ : न्यायाधीश मल्ल

प्रकाश बराल

बागलुङ — सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले अदालतका विचाराधीन मुद्दामा सञ्चार क्षेत्र संवेदनशील बन्नुपर्ने बताएकी छिन् । कतिपय मुद्दा फैसला नहुँदै सञ्चार माध्यममा सार्वजनिक हुने र फैसलामा समेत दबाब आउने गरेको उनको भनाइ छ । 

विचाराधीन मुद्दामा सञ्चार क्षेत्र संवेदनशील बन्नुपर्छ : न्यायाधीश मल्ल

सोमबार उच्च अदालत बार एसोसिएसन बागलुङका पदाधिकारी र कानुन व्यवसायीसँगको अन्तरक्रियामा मल्लले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आउने समाचार र अपरिपक्व सूचनाले आम नागरिकमा छुट्टै धारणा बनेको बताइन् । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ अदालतसहित उच्च अदालत बागलुङको निरीक्षणमा मल्ल आएकी हुन् । ‘सामाजिक सञ्जाल र सञ्चारक्षेत्र संवेदनशील भएन भने अदालतको निर्णय प्रक्रियामा पनि असर पर्छ,’ उनले भनिन् ‘सञ्चार माध्यमबाट सेट भएका धारणा फैसला पनि पनि परिवर्तन नभएको पाइयो ।’

अदालतका फैसला कार्यान्वयनमा समेत ती विषय बाधक बनेको उनले बताइन् । महिला, बालबालिकालगायतका संवेदनशील मुद्दामा सञ्चार क्षेत्र झन् बढी संवेदनशील बन्नुपर्ने उनको धारणा थियो । सामाजिक सञ्जालले पनि समाजलाई सही सूचना दिनुपर्ने उनको धारणा छ ।

उनले अदालतप्रति जनआस्था बिग्रन थालेकोले अब कानुन व्यवसायी र अदालत मिलेर सुधार गर्नुपर्ने बताइन् । ‘अदालत र न्यायाधीशप्रति आस्था गिर्‍यो भने कानुन व्यवसायीको पनि इज्जत रहने छैन,’ उनले भनिन्, ‘न्यायालयलाई आस्थाको धरोहर बनाइराख्न सबैको सकारात्मक सोच र काम हुनुपर्छ ।’ उनले सर्वोच्च अदालतबाट स्पष्ट दिशा निर्देश नगर्दा देशभरको न्याय र मुद्दामा पनि असर परेको बताइन् ।

विगतका कुरालाई भन्दा पनि आउने दिनमा न्यायालय सुधार्ने प्रयासमा लाग्नुपर्ने उनको भनाइ छ । ‘हिजो के भयो भनेर हैन, अब के गर्ने भनेर लागियो भने सुधार हुन्छ,’ उनले भनिन्, ‘अबका दिनमा पुनःस्थापित न्यायको अवधारणा आउनुपर्छ ।’ पीडकलाई जेल हालेपनि पीडितले केही नपाउने अवस्थाबाट पीडितले परिपुरण पाउने अवस्था ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?