नागरिकता विधेयक संसद्मा प्रस्तुत हुनुपर्छ : अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा अध्यक्ष ओलीले नागरिकता विधेयक संसद्मा छलफल गर्नु पाउनुपर्ने बताएका हुन् ।


'यो विधेयकलाई फेरि संसद्मा ल्याउनुपर्छ, जसो गरेर पनि संसद्मा ल्याउनु पर्छ । संसद्ले छलफल गर्न पाउनुपर्छ, नयाँ-नयाँ संसद् हो,' ओलीले भने, 'कुन सभामुखले सिफारिस गरेको ? भूत भइसकेको सिफारिस गरेको ? यहाँ बस्नु भएको सांसदहरूले (रास्वपाका सांसदतर्फ देखाउँदै) यो तीन तासेले कुरा फिटेजस्तो कुरा फिट्ने कुरा होइन प्रधानमन्त्रीज्यू यो संसद्को विशेष अधिकारको प्रश्न हो । ' उनले अहिलेको नागरिकता विधेयक पारित गर्ने पुरानो नभई नयाँ संसद् आएको विषयलाई हेक्का राख्न आग्रह गरे ।
'अहिले नयाँ पार्टी आएको छ । नयाँ संसद् हो, पुरानो संसद्मा भएको विषय कानुन बनिसकेको छैन भने त्यो रोकिन्छ रद्द हुन्छ,' ओलीले भने, 'कानुन बनेको छैन भने रोकिन्छ । यो अझ उही संसद् होइन । अर्को संसद् हो । यसको बनावट अर्कै छ । मसँग १ सय २१ सिट थियो । अहिले ८९ सिट छ । एक तिहाई शक्ति घटेको छ ।'
उनले मन्त्रिपरिषद्को अनुरोधमा राष्ट्रपतिले तोक लगाउने काम भएको बताए । 'यही हुन्छ तरिका ? विधेयकमा सभामुखले सिफारिस गर्छ कि मन्त्रिपरषद्ले?' ओलीले भने ।
प्रकाशित : जेष्ठ २२, २०८० १६:५३