गर्मीले उकुसमुकुस

देवनारायण साह

मोरङ — सधैं बिहान उठेर चुल्होचौकाको काम गर्दै आएकी विराटनगर–१४ जतुवाकी ४७ वर्षीया गीतादेवी यादवको दैनिकी केही दिनदेखि बढेको गर्मीले फेरिएको छ । उनी अचेल बिहान सबेरै उठेर गाईबस्तु लिएर खेतबारीको काममा जाने गरेको बताउँछिन् ।

गर्मीले उकुसमुकुस

‘यसअघि बिहान खाना पकाएपछि छोराछोरीसहित सबै जना खाएर मात्रै गाईबस्तु लिएर खेतबारी जान्थें,’ उनले भनिन्, ‘गर्मी बढेदेखि बिहान उठेर नै चौपाया लिएर खेतबारीको काममा जाने गरेको र १० बजेपछि घर फर्किसक्छु ।’

बिहानको १० बजे नकट्दै हुने गरेको उग्र गर्मीले गाईबस्तु, बाख्रा पनि नचर्ने र खेतबारीको काम पनि गर्न नसक्ने भएकाले अहिले दीनचर्यामा परिवर्तन आएको उनले सुनाइन् ।

खेतबारीको काम सकेर आएपछि मात्रै खाना पकाएर खाने र दिउँसो घरको काम गर्ने गरेको बताइन् । यादवले गर्मी बढेर अहिले छोराछोरीको विद्यालय बन्द भएकाले बिहानै खाना पनि पकाउनै पर्ने बाध्यात्मक अवस्था नभएको बताइन् ।

स्थानीय ७० वर्षीया भूर्तिदेवी यादवले पनि पाको उमेरमा पनि गाईबस्तुका लागि घाँस काट्न बिहानै जाने गरेकी छन् । उनले घाम चर्को हुञ्जेल सम्ममा घाँस लिएर घर फर्किने गरेको बताइन् । उनले ५३ सालपछि पहिलो पल्ट यस वर्ष यति धेरै गर्मी महसुस भएको बताइन् ।

उनीहरु झैं कोशी प्रदेशका सुनसरी, मोरङ, झापाका ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकीमा गर्मीले उथलपुथल ल्याएको छ । बिहानै उठेर गाई, भैंसी, बाख्रा चराउनुका साथै खेतबारीलगायतको काममा जाने र घाम चर्को हुने बेलासम्ममा फर्केर घर आइपुग्छन् । उनीहरुले कामबाट घर आएपछि नुहाएर खाने र बरपिपलको चौतारो, बगैंचा जस्ता शितलता प्राप्त हुने र हावा चल्ने ठाउँमा बसेर गर्मी छल्ने गरेका हुन् । दिउँसो ४ बजेपछि मात्रै पुनः काममा जान्छन् ।

ग्रामीण क्षेत्रका बासिन्दा गर्मी छल्न र त्यसबाट कुनै किसिमको रोग लाग्न नदिन घाममा काम गरेर आएपछि केहीबेर आराम गरेर मात्रै पानी खाने, बिहान काम गर्ने र चर्को घाम भएको बेला घरभित्र वा छहारीमा हावा आउने ठाउँमा बस्ने, कागती, चिनी, पानीको सर्वत खाने, दघी, दुध खाने गर्छन् ।

स्थानीय ७५ वर्षीया दशरथ यादवले गर्मीबाट जोगिन बालबालिका र वृद्धवृद्धालाई घर बाहिर निस्किन नदिने, परिवारका अन्य सदस्यले बिहानै काम गर्ने र दिउँसो घरमा आराम गर्ने परम्परा रहेको बताए । ‘गर्मीको समयमा रोग लाग्न नदिन धेरै पानी खाने, दैनिक स्नान गर्ने, कागती, चिनी, पानीको सर्वत, दहीको लस्सी, दुध खाने गरेका छौं,’ उनले भने, ‘खानपानमा ध्यान दिने र आफ्नो घरमा दुहुना गाई भैंसी नहुनेले किनेर भए पनि गर्मी मौसमभरि दुधदही खाए पछि रोग लाग्नबाट जोगिन्छ ।’

घामबाट आउने बित्तिकै चिसो पानी खाँदा रुघा, ज्वरो लाग्ने हुनाले एकछिन आराम गरेर मात्रै पानी खाने गाउँको परम्परा नै रहेको यादवले सुनाए । उनले गर्मीभर अपच हुने, पेट दुख्ने बस्तु नखाने गरेको बताए । यस प्रदेशका शहरी क्षेत्रका बासिन्दाहरु चर्को गर्मीले १२ बजे पछि दिउँसो ३ बजेसम्म घर बाहिर ननिस्किँदा बजार, पसल सुनसान हुन्छ ।

गर्मी खप्न नसक्नेहरु एयरकन्डिसन भएको सपिङ मल, बैंकहरुमा गएर समय बिताउने गरेको देखिन्छ । हुनेखाने वर्गले गर्मी छल्न चिसो हुने पहाडी क्षेत्रसमेत घुम्न जाने गरेका छन् । चिसो हुने, भेडेटार, जेफाले, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगातिर गर्मी छल्नका लागि घुम्न जाने गरेको कोशी होटल व्यवसायी महासंघका अध्यक्ष राजन श्रेष्ठले बताए । उनले गर्मीले पहाडी क्षेत्रका होटल व्यवसाय अहिले फष्टाएको तर तराईका जिल्लाहरुमा दैनिक खर्च धान्न समेत समस्या भएको गुनासो पोखे ।

गर्मीका कारण यहाँका सबै खाले व्यवसायीहरुको व्यापार घटेको छ । सिटी रिक्सा चलाएर परिवार पाल्दै आएका जहदा गाउँपालिका–४ का ४६ वर्षीया सियाराम मुखियाले गर्मीका कारण अहिले दैनिक ५ सय रुपैयाँ घाटा लाग्ने गरेको गुनासो पोखे । ‘पहिले न्यूनतम एक हजार आमदानी हुने गरेकोमा गर्मी बढेदेखि ५ सय मात्रै हुने गरेको छ,’ उनले भने, ‘बिहान १०/११ बजेपछि ३/४ बजेसम्म कोही घरबाट ननिस्किने गरेकाले यात्रु नभेट्ने गरेको हो ।’

विराटनगरमा किराना पसल सञ्चालन गर्दै आएका महेन्द्र साहले ग्राहक आइहाल्ने आशामा पसल खोलेर बस्न गरे पनि कडा घामले गर्दा साँझ ५ बजेपछि मात्रै ग्राहक आउने गरेकाले व्यवसाय चौपट भएको गुनासो पोखे । उनले गर्मी बढेदेखि २५ प्रतिशत पनि आमदानी नभइरहेको बताए । उनले दैनिक पसल चल्ने समयमा ६ घण्टा गर्मीले ग्राहक नआउँदा व्यापारको अवस्था के होला भनी प्रतिप्रश्न गरे ।

गर्मी बढेदेखि यहाँका उद्योगहरुमा समेत उत्पादन घटेको छ । उद्योगमा मजदुरहरुले गर्मीले काम गर्न नसकेकाले उत्पादन घटेको उद्योगी व्यवसायीहरुले बताए । उनीहरुले एकातिर मजदुरले गर्मीका कारण काम गर्न नसक्ने र अर्कोतिर अघोषित लोडसेडिङले विद्युत नहुँदा थप मार्काका परेको गुनासो पोखे ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले गर्मीले उद्योगमा काम गर्ने मजदुरहरुको काम गर्ने क्षमतामा ह्रास आउनुका साथै विद्युत नियमित नहुँदा यहाँका उद्योगहरुमा उत्पादन घटेको बताए । अहिले नदी, खोलामा जलासय सुखेर विद्युत उत्पादनमा कमी आएको छ । प्रदेश उद्योग वाणिज्य महासंघका निर्देशक रेवतीरमण भण्डारीले गर्मी बढेदेखि यस प्रदेशको सुनसरी, मोरङ, झापाका उद्योग, व्यवसाय क्षेत्र प्रभावित भएको बताए ।

‘उद्योग भनेको त्यसै तातो निस्किने ठाउँ र त्यसमा थप ४० सेन्टिग्रेडको गर्मी थपिएपछि जस्तोसुकै मजदुर तथा प्राविधिकले काम गर्नसक्ने अवस्था नहुँदा उत्पादन घट्नु स्वभाविक हो,’ उनले भने, ‘त्यसमा पनि नेपाल विद्युत प्राधिकरणले दिनमा २५ पटक लाइन काट्ने गरेकाले पनि उद्योग व्यवसाय प्रभावित भएको छ ।’ उनले यस प्रदेशका तराईका जिल्लाहरुका बजार, व्यवसायमा अहिले २५ प्रतिशत पनि कारोबार नभइरहेको बताए । ‘बिहान १० बजेदेखि साँझ ५ नबजुञ्जेल ग्राहकै नआउँदा व्यवसायीको के चल्छ ?,’ उनले भने, ‘राति ८ बजेपछि स्थानीय प्रशासनले पसल चलाउन पनि नदिने गरेकोले १२ घण्टा चल्ने पसल अहिले मुस्किलले ६ घण्टा पनि नचलेको अवस्था छ ।’

चर्किएको गर्मीले यस प्रदेशका तराईका जिल्लाहरुको स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । कोशी अस्पतालका आकस्मिक वार्डका कामेश्वर साहले केही दिनदेखि बढेको गर्मीले बिरामीको चाप बढेको बताए । उनले पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा कमजोरी भएका, रुघाखोकी, झाडापखालालगायतका बिरामीको संख्या बढेको सुनाए । उनले आकस्मिक कक्षमा मात्रै अहिले दैनिक उपचारका लागि ३ सयभन्दा बढी बिरामी आउने गरेको बताए ।

गर्मी बढेदेखि यहाँका पालिकाहरुले एक सातादेखि विद्यालयमा बिदा दिएर बन्द गरेका छन् । सुनसरी, मोरङ र झापाका विद्यालयहरु एक सातादेखि बन्द रहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले गर्मीबाट कुनै किसिमको क्षति हुन नदिन स्थानीय तहहरुसँग समन्वय गरेर अघि बढिरहेको बताए । उनले पालिकाहरुले बालबालिकालाई असर पर्न नदिनका लागि वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएको र गर्मीबाट जोगिन जनचेतामूलक काम गरिरहेको बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्मीबाट कुनै किसिमको क्षति हुन नदिन जिल्ला विपद व्यवस्थापन समितिको बैठकले स्थानीय तहहरुलाई क्रियाशील बनाउन प्रमुख जिल्ला अधिकारीहरुसँग समन्वय गरेको छ । ‘यस प्रदेशका सुनसरी, मोरङ र झापामा गर्मीको प्रभाव परेकाले प्रमुख जिल्ला अधिकारीमार्फत पालिकाहरुसँग समन्वय गरेर रोकथाम, उद्धारलगायतको व्यवस्थापनमा छौं,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले भने,‘गर्मीले कुनै किसिमको क्षति हुन नदिन कोशी प्रदेश तयारी अवस्थामा रहेको छ ।’

प्रकाशित : जेष्ठ २२, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?