कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

डढेलोको सधैं डर

कतै प्राकृतिक र कतै मानवीय कारणले लाग्ने डढेलो बर्सेनि बस्ती पसेर जनधनको क्षति भइरहेको पूर्वी पहाडी जिल्लामा बनेनन् रोकथामका प्रभावकारी योजना
लक्ष्मी गौतम

पाँचथर — वैशाख २८ को दिउँसो । अपांगता भएका ३२ वर्षीय छोरा मनकुमारलाई एक्लै घरमा छाडेर पाँचथरको फाल्गुनन्द–१ नवमीडाँडाका प्रेम नेम्वाङ परिवारै मेला गए ।

डढेलोको सधैं डर

हातखुट्टा नचल्ने मनकुमार अरू समय पनि घरमा प्रायः एक्लै हुन्थे । दिउँसो साढे २ बजे नजिकैको लाक्सेबुङ जंगलमा डढेलो सल्कियो । त्यही डढेलोको झिल्को घरको फुसको छानामा सल्कियो । ढुंगामाटोको घरको छानोमात्रै दन्किएन, भित्र रहेका मनकुमार पनि जल्न थाले । ‘आँखै अगाडि छटपटाएको देख्दा पनि बचाउन सम्भव थिएन, आगो निभाउने जनशक्ति सीमित थियो,’ वडाध्यक्ष होमप्रसाद आङदेम्बेले भने, ‘आगो नियन्त्रण गर्न खोज्दाखोज्दै जलेर मनकुमारको निधन भयो ।’

सोही दिन तेह्रथुमको छथर–३ पञ्चकन्याको गढी सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मृत्यु भयो । आगो निभाउने क्रममा देवेन्द्र नेवार, प्रकाश तामाङ, वर्षीय युवराज श्रेष्ठ, ओम श्रेष्ठलगायत घाइते भए । इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जंगलनजिकै बारीमा काम गरिरहेका आमाछोरालाई आगोको लप्काले भेटेपछि जलेर ज्यान गएको बताए ।

जंगलमा सल्केको डढेलोले जीवन नै स्वाहा पारेको घटना पाँचथर आसपासमा बर्सेनि भइरहनेमा पर्छ । गत फागुन १ मा पाँचथरकै हिलिहाङ–७ यवाडाँडाका प्रेम पन्थाकको घरमा आगो लाग्दा सोही वडाका शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निसानको मृत्यु भयो । त्यसअघि गत पुस २० मा आगलागीमा पर्दा पाँचथरको फिदिम–८ का मेगबहादुर गुरुङकी बुहारी २३ वर्षीया आशा थेबे र २२ वर्षीय छोरी ममता गुरुङको सुतिरहेकै स्थानमा ज्यान गयो । घटनामा मेघबहादुर र छोरा विजेन्द्र घाइते भए । त्यसअघि गत मंसिर २८ मा घरमा आगो लाग्दा फिदिम–१३ की ९१ वर्षीया सुखरानी नेम्वाङले ओछ्यानमै ज्यान गुमाइन् ।

ज्यान जाने मात्रै होइन आगलागीले घर जलेर धनमाल नष्ट भएका घटनाहरू पनि नियमित आकस्मिकता हुन छाडिसके । जस्तो कि, वैशाख २७ मा पाथीभरा सामुदायिक वनमा लागेको डढेलो नजिकको बस्तीमा फैलँदा धनकुटाको छथर जोरपाटी–४ पाथीभराका नेत्रबहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माका दुई घर खरानी भए ।

प्रहरीका अनुसार गत फागुन २२ मा पाँचथरको कुम्मायक–१ साठीमुरेमा जंगलमा सल्किएको आगो बस्तीमा पस्यो । स्थानीय वसन्तकुमार चाम्लिङ राई र उनका छोरा छत्रबहादुरको घर जल्दा ५० लाखभन्दा बढीको क्षति भयो ।

त्यसअघि फागुन १ मा तेह्रथुमको आठराई–६ चुहानडाँडा नजिकैको फाक्चुवा जंगलबाट सल्केको डढेलो बस्ती पस्दा १४ घर खरानी भएका थिए । आगलागी घटनाको तीन महिना बित्यो, उनीहरूले अझै थातबास उभ्याउन सकेका छैनन् । खुल्ला चौरको बास छ ।

०००

पूर्वी पहाडमा आगलागीका कारण जनधनको क्षति भएका यी प्रतिनिधिमूलक घटना हुन् । कोशी प्रदेशको पाँचथरसँगै इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा र भोजपुरसहितका पहाडी जिल्लामा आगलागीका घटनाबाट बर्सेनि जनधनको क्षति घटेको छैन । पाँचथरमा मात्रै गत कात्तिकदेखि वैशाखसम्म आगलागीका ८७ घटना भए । जसमध्ये १५ घटना सामुदायिक वनमा लागेको आगो सल्केर भएका हुन् । जिल्ला प्रहरी पाँचथरका अनुसार यी सबै घटनामा ४२ घरमा क्षति पुगेको छ भने ५ जनाले ज्यान गुमाएका छन् । दुई जना घाइते भएका छन् भने १६ चौपाया मरेका छन् । प्रहरीका अनुसार सबै घटनामा ४ करोड २१ लाख ३३ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

आगालागीका घटनाले सिंगो कोशी प्रदेश नै आक्रान्त छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गत कात्तिकदेखि वैशाखसम्म कोशीमा आगलागीका ८ सय ५२ घटना भए । जसमा १५ को ज्यान गयो, ३८ घाइते भए । यो अवधिमा प्रदेशभर ४ सय ४९ घर, १ सय ८२ गोठ, २७ सवारीसाधनमा क्षति पुग्यो, १२ सय ११ चौपाया मरे । आगलागीकै कारण ३ सय ७७ परिवार प्रभावित भए, १ सय ४१ घरपरिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार यी घटनाबाट ७५ करोड ६६ लाख बराबरको धनसम्पत्तिको क्षति भएको छ ।

पहाडी बजारमा प्रायः घर काठपातले बनाएर टिनले छाएका हुने र कतिपय यस्ता घरमा अलैंची र अम्लिसो जस्तो धेरै मूल्य पर्ने नगदे बाली पनि भण्डारण गरिने भएकाले पहाडका बजारमा आगलागी हुँदा धेरै धनमालको क्षति हुने गरेको देखिन्छ ।

हिउँद सुरु भएपछि जेठ–असार महिनासम्म प्रायः साना ठूला आगलागीका घटना दोहोरिइरहे पनि स्थानीय तहले नियन्त्रणको पूर्वतयारीमा ध्यान दिन सकेको देखिन्न । आगलागी नियन्त्रणमा स्थानीय र सुरक्षाकर्मीले जोखिम मोलेरै गरेको प्रयासबाट नियन्त्रणमा छिटै नआउने गरेको देखिन्छ । एउटा नगर र ७ गाउँपालिकासहित ८ स्थानीय तह रहेको पाँचथरको फिदिम नगरबाहेकमा अन्यत्र दमकल छैन । पाँचथरसहित छिमेकी तेह्रथुमको आठराई र ताप्लेजुङका विभिन्न स्थानमा हुने घटनामा समेत आगो निभाउन फिदिमकै दमकलले भरथेग गरिरहेको छ ।

फिदिम नगरपालिकाका दुईमध्ये एउटा दमकल जिल्ला प्रहरीमा र अर्को नगरपालिकामै राखिन्छ । आगो निभाउन एउटा दमकलमा प्रायः ६ जनाको दक्ष जनशक्ति आवश्यक हुन्छ । आगलागी जतिबेला र जहाँसुकै हुन सक्ने भएकाले दमकलका पार्टपुर्जा जाँच, इन्धन भर्ने तथा आवश्यकता अनुसार जनशक्तिलाई आगो निभाउने तालिम र आवश्यक उपकरणसहित तैनाथ राखेर नियन्त्रणमा खटाइने प्रकोप व्यवस्थापनको अगुवाइ गर्दै आएका फिदिम–४ का पूर्ववडाध्यक्ष प्रकाश गुरुङ बताउँछन् ।

पहाडी बजारका बस्तीमा सल्कनासाथ आगोले ठूलो रूप लिने, अग्नि नियन्त्रकलाई ढिला गरी खबर आउने, दमकल पुग्न बाटो साँघुरा हुने तथा सदरमुकामभन्दा टाढाको दूरीमा आगलागी हुने धेरै क्षति भइसक्दा मात्रै पुग्ने गरेको गुरुङको अनुभव छ । फिदिम नगरपालिकाको दमकल पाँच वर्षयता ५५ ठाउँको आगो निभाउन प्रयोग भएको छ । फिदिम र तेह्रथुमको आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजार ४५ मिनेट दूरी हो । आठराईमा दमकल छैन । उक्त क्षेत्रका आगलागी नियन्त्रणमा फिदिमकै दमकलको भरथेग छ भने अर्को छिमेकी ताप्लेजुङको फुङलिङ नगरपालिकामा एउटा मात्रै दमकल छ । पाँचथरसहित छिमेकी दुइटै जिल्लामा आगलागीका घटना भइरहन्छन् । ‘जतिबेला जहाँबाट पनि खबर आउन सक्छ यन्त्र र जनशक्ति तैनाथ राखेर नियन्त्रणमा खट्छौं,’ पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडा भन्छन् ।

फागुन २७ मा स्थानीय जंगलमा लगाएको डढेलोमा पर्दा पाँचथरको हिलिहाङ गाउँपालिकामा बाँधेर राखेका दर्जन चौपाया डढे । डढेकामध्ये आधा मरे भने घाइते आधा अहिलेसम्म निको भइसकेका छैनन् । खोरमा राखिएका सुँगुर मर्नुका साथै थलामा बाँधिएका गाईभैंसी डढे । आगोले पोलेर घाइते चौपाया महिनौंसम्म उपचार गर्दा पनि निको हुन नसकेको हिलिहाङ गाउँपालिका पशु स्वास्थ्य प्राविधिक धीरज कट्टेल बताउँछन् ।

०००

पाँचथरको हिलिहाङ–२ सिंहापुरका मनबहादुर लिम्बू चैत पहिलो साता घरनजिकैको पाखोबारीमा पात पतिंगर बटुल्दै थिए । हेर्दाहेर्दै तीन डोको जति पतिंगर जम्मा पारेर उनले आगो सल्काए । त्यो आगो बिस्तारै नजिकैको खरबारी र आसपासका पाखामा फैलियो । नजिकैको बस्तीबाट आएका स्थानीयले अग्निरेखा बनाएर आगो छेके र नियन्त्रण भयो । धन्न हावा चलेन, नत्र बस्तीमै पुग्ने थियो । पाखोबारीमा खोरिया फाँडेर आगो लगाउँदा अन्न राम्ररी फल्ने, भीरमा आगो लगाइसकेपछि घाँस राम्ररी पलाउने लोभमा स्थानीयले जंगल र पाखा बारीमा आगो लगाउने गरेको देखिन्छ ।

कहिलेकाहीं आगलागीले मानवीय र चौपायामा क्षति नगरे पनि सार्वजनिक संरचनाहरू बिगार्छन् । जस्तो कि, हिलिहाङ–३ को सिस्ने खानेपानी आयोजनाका पाइप डढेलोकै कारण जल्दा स्थानीयले साता दिनसम्म खानेपानीको हैरानी भोगे ।

पाँचथरका डीएसपी खतिवडाका अनुसार आगो लगाउनेको पहिचान भए पनि प्रहरीमा उजुरी नगर्ने प्रवृत्तिले यस्ता घटना दोहोरिरहेका छन् । कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीको अनुभवमा मानिसले जंगल छेउ चुरोट खाएर जथाभावी फ्याँक्ने जस्ता गतिविधिले पनि आगलागीका धेरै घटना हुने गरेको छन् । उनी भन्छन्, ‘बटुवा र मापसे गरेकाले जथाभावी चुरोट सल्काएर छोड्छन्, वनमा आगो सल्कँदै बस्तीसम्म पुगेर सखाप पारिदिन्छ ।’

आगलागी नियन्त्रणका लागि विपद् व्यवस्थापन समितिमार्फत चेतनामूलक कार्यक्रमबाहेक ठूलो काम गर्न नसकिएको उनले बताए । ‘अग्निरेखा बनाएर डढेलो नियन्त्रण गर्ने, सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने, आगो लागिरहेका स्थानमा भीड नियन्त्रण र फायर एस्क्टिङग्युसर चलाउने तालिमका काम गरेका छौं, तर यो पर्याप्त होइन ।’

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले ताइवान, जर्मनी र अमेरिकी विश्वविद्यालयका अनुसन्धातासँग गरेको अध्ययनको प्रतिवेदन ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ अनुसार नेपालमा सन् २००५ देखि २०२२ सम्म डढेलोमा परी १ सय १९ जनाको ज्यान गएको थियो । ९ सय ८७ घर जलेको प्रतिवेदनमा उल्लेख छ ।

डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गरेको छ । डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण, १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ । ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको अध्येताहरू बताउँछन् ।

वनविज्ञ भोला भट्टराई विगतमा यदाकदा प्राकृतिक रूपमा डढेलो लाग्ने गरे पनि अहिले मानवीय कारणले घटना बढिरहेको बताउँछन् । ‘पहिले प्राकृतिक हिसाबले वनमा डढेलो लाग्थ्यो, अहिले मान्छेले कि त जानेर कि त लापरबाही गरेर डढेलो लगाउँछन्, वन पैदावारको चोरीतस्करी वा घाँस पलाउने आसमा पनि डढलो लगाउने क्रम बढेको छ,’ उनले भने ।

मानवीय जीवनशैलीमा आएको परिवर्तनले पनि डढेलोका घटना बढाएको अपी–नाम्पा संरक्षण क्षेत्र प्रमुख नुरेन्द्र अर्याल बताउँछन् । डढेलोले चरन क्षेत्र र बासस्थान नासिएपछि जंगली जनावर बस्ती क्षेत्र पुग्दा मानव–जनावर द्वन्द्व बढ्न थालेको छ । जंगली जनावर मर्ने तथा मान्छेको पनि ज्यान जाने घटना भइरहेका छन् । डढेलोले पानी मुहानहरूमा समेत असर परेको उनी बताउँछन् ।

पछिल्ला वर्षमा संकटापन्न र जोखिम–उन्मुख वनस्पति रहेको हिमाली क्षेत्रमा समेत डढेलोको प्रकोप बढेको छ । डढेलोबाट धूपी, भुइँचिमालो, भोजपत्र, चाँप, यार्चागुम्बुलगायत जडीबुटी जलेको विज्ञ बताउँछन् । त्रिवि वनस्पति विभागका सहप्राध्यापक नारायण घिमिरे तराई तथा पहाडमा कुनै बिरुवा एक वर्षमा एक मिटर बढ्न सक्ने भए पनि हिमाली क्षेत्र त्यति उचाइको हुन १०–१५ वर्ष लाग्ने बताउँछन् । ‘सानो क्षेत्रफलमा पनि प्रजातीय विविधता धेरै हुने हिमाली क्षेत्रमा डढेलो लाग्दा हुने क्षति पुनर्भरण गर्न सम्भव हुँदैन,’ घिमिरे भन्छन् ।

प्रकाशित : जेष्ठ २१, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?