भारत भ्रमण मैले सोचेजस्तै भयो : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण आफूले सोचेको जस्तै मूलभुत उद्देश्य पूरा भएको बताएका छन् । 

भारत भ्रमण मैले सोचेजस्तै भयो : प्रधानमन्त्री दाहाल

'यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रुपमा मैले सोचेको कुरा पूरा भएको छ । केही महत्वपूर्ण दूरगामी समझदारी भएका छन् । आफैंमा त्यो महत्वपूर्ण सुरुवात हो । चाहे दीर्घकालीन ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट भन्ने विषय होस्, हामी नेपालीहरुले सुरुदेखि नै राख्दै आएको कुरा थियो,' दाहालले भने, 'यसपटक त्यसमा सहमति बन्यो । प्रधानमन्त्री मोदीले आफैंले यो सम्पन्न भएको घोषणा गर्नु महत्वपूर्ण छ ।'

सीमा सम्बन्धी विषयमा भारतीय समकक्षीसँग खुलेर कुरा गरेको पनि प्रधानमन्त्री दाहालले बताएका थिए । शनिबार साँझ नयाँदिल्लीबाट फर्किएपछि पत्रकारहरूसँग दाहालले यस्तो बताएका हुन् । दाहालको यो चौथो भारत भ्रमण थियो ।

'भारतीय प्रधानमन्त्रीसँग खुलेर यसको समाधान खोज्नै पर्छ नत्र भने नेपाल-भारत सम्बन्धलाई सहज हुनसक्दैन भनेको छु,' दाहालले भने, 'उहाँले पनि समाधान खोजौं हामी पनि तयार छौं भनेर भन्नु भयो । सकारात्मक जवाफ मलाई मात्रै दिनु भएन प्रेस मिटमा तपाईंहरुले पनि सुन्नु भयो । सीमा विवादको विषयमा जे जति समस्या छन् सबैको समाधान खोज्ने प्रतिबद्धता सार्वजनिक रुपले व्यक्त भयो ।'

दाहालका अनुसार सीमा विवाद समाधान गर्ने विषयमा भएको सहमति आफैंमा ठूलो छ । 'हामी सधैँ नकारात्मक र आलोचक मात्रै होइनौं । हामीले समस्या समाधान खोजेका छौं' दाहालले भने, 'यो ठूलो कुरा भयो ।'

प्रकाशित : जेष्ठ २०, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?