कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साहसिक पर्यटनमा नयाँ पुस्ता

ब्रिटिस गोर्खा र नेपाली सेनाको जागिर खाने रहर पूरा नभएपछि देशको पर्यटन क्षेत्रमा टेवा पुर्‍याइरहेका छन्, पाँचथर फालेलुङका फुङ्सो
लक्ष्मी गौतम

पाँचथर — बाल्यकालमा लाहुरे बन्ने सपना सँगालेका पाँचथरको फालेलुङ गाउँपालिका–८ का २६ वर्षीय फुङ्सो जवेगू अचेल कोशी प्रदेशका हिमाल, ताल तलैया र नदी क्षेत्रमा भेटिन्छन् ।

साहसिक पर्यटनमा नयाँ पुस्ता

उनको भूमिका विश्वको तेस्रो हिमाल कञ्चनजंघा एवं कुम्भकर्ण क्षेत्रमा पथ प्रदर्शक (गाइड), तमोर नदीमा र्‍याफ्टिङ गाइड, इलाम र पाँचथरका उच्च पहाडी भूभागमा साइक्लरको छ । त्यस्तै, उनी सन्दकपुर, साधुटार, सुकेपोखरी र तुम्लिङलगायत पर्यटकीय स्थलमा ड्रोन अपरेसनको काम गर्छन् ।

‘लाहुर जान दिएको परीक्षामा सफल भएको भए जन्मभूमि आसपासका प्राकृतिक छटासँग यसरी साइनो गासिँदैन्थ्यो होला,’ उनी भन्छन्, ‘२०७१ मा ब्रिटिस लाहुरेका लागि आवेदन दिए, टाढाको देख्ने समस्या भएको भन्दै अयोग्य घोषणा गरियो ।’ लाहुरे जान नपाएपछि रिफ्रेस हुन अन्नपूर्ण हिमालको बेस क्याम्प गएँ उनी । ‘४ जनाको टोली थियो । एक साता घुमेर फर्कियौं, त्यसपछि नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्टका लागि दिएको परीक्षामा पनि असफल भएँ,’ उनले भने ।

नेपाली सेनाको परीक्षामा पनि असफल भएपछि घुमफिरका लागि पाँचथर र ताप्लेजुङको सिमानास्थित तिम्बुङ पोखरी गएर फर्के उनी । त्यसले भने उनको जागिर मोह हटाइदियो । ‘बालसखा र ब्याचीमध्ये धेरैजसो लाहुरमा छन्, पैसा कमाए पनि देशको माटो र हावापानीको समीपमा आउन भाग्यले दिएन भनेर गुनासो गरिरहन्छन्, अनुकूल मिलाएर घुम्न आउनु है भनेर सुझाव दिन्छु,’ भन्छन् ।

हाल उनी तमोर भ्याली ट्राभल टुर एन्ड ट्रेकिङ नामक एजेन्सी खोलेर साहसिक पर्यटनमा जोडिएका छन् । ‘नेपालका उच्च पदस्थ कर्मचारी, सुरक्षा अधिकारी र आम नागरिकसँगै विदेशी पर्यटकलाई लिएर चार पटकसम्म विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर, एक पटक कुम्भकर्ण हिालको आधार शिविर पुगें, सबै भ्रमणमा बेग्लाबेल्लै अनुभव र अनुभूति सँगालेको छु,’ उनले भने ।

जवेगूले पथप्रदर्शकसँगै र्‍याफ्टिङ गाइडको पहिचान पनि बनाएका छन् । उनी संलग्न तमोर भ्याली ट्राभल एन्ड टुर प्रालिले पाँचथर र ताप्लेजुङको सीमावर्ती कावेली नदीदेखि सुनसरीको चतरासम्म व्यावसायिक जलयात्रा थालेको ५ वर्ष पूरा भयो । उनको समूहले प्रायः नक्कले घाटदेखि तमोर नदी माझीटारसम्म जलयात्रा गराउँछ । ‘यात्रीको मागका आधारमा कावेली वा तमोर नदीको नक्कले घाटदेखि माझीटार, लुबुघाट, सिम्राघाट, मूलघाट हुँदै सुनसरीको चतरासम्म जलयात्रा गराउँछौं,’ उनी थप्छन् ।

गत वर्ष जवेगूकै नेतृत्वमा काठमाडौं र ताप्लेजुङका तीन युवकले पाँचथरको साधुटारदेखि सुकेपोखरी, सन्दकपुर हुँदै झापाको धुलाबारीसम्म साइक्लिङ गरेर नयाँ गन्तव्य पत्तो लगाएका थिए । जवेगू कुशल ड्रोन अपरेटर पनि हुन् । भ्रमणका क्रममा जहाँजहाँ पुग्छन्, ड्रोन उडाएर आकर्षक वृृृत्तचित्र तथा भ्लग बनाउँदै ती स्थानको प्रचार गर्नु उनको प्राथमिकता हो । उनले लिम्बू संस्कृतिमा आधारित म्युजिक भिडियोसँगै ताप्लेजुङ र पाँचथरको सिमानास्थित तिम्बुङ पोखरी, ताप्लेजुङको पाथीभरा, कञ्चनजंघा पदमार्ग, पाँचथरको सुकेपोखरी, साधुटार, लब्रेकुटी, मिलुङ झर्ना, इलामको सन्दकपुर, कुटीडाँडा, माइपोखरी, तेह्रथुमको जलजले र मिल्केजस्ता स्थानलाई प्रवर्द्धन गर्ने दर्जनौं भिडियो बनाइसकेका छन् । ‘किशोर उमेरमा लाहुरे बन्न जागेको सोख अहिले स्वदेशका हिमाल, पहाड, नदी, झर्ना र पाखा भित्तामा अलमलिइरहेको छ, सम्भवतः लाहुर गएको भए मैले मातृभूमिको सुगन्ध यति नजिकबाट लिन सक्ने थिइनँ र देशको माटोले पनि मलाई चिन्ने थिएन ।

परीक्षामा अनुत्तीर्ण भएपछि रिफ्रेसमेन्टका लागि गएको अन्नपूर्ण हिमालको आधार शिविर यात्राले यु टर्न गरिदियो, सकेसम्म नेपाली पाखाको भ्रमण गर्छु अनि यहीँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछु,’ जवेगू भन्छन् । फुङ्सोका पिता मोहनशमशेर र दाजु मिलन जवेगू शिक्षक र आमा गृहिणी हुन् । सानैदेखि आफ्नो रुचिअनुसारको काम गर्ने पारिवारिक माहोलले पनि साथ दिएको उनी बताउँछन् । ‘जबरजस्ती पढ्नुपर्छ, पढेर जागिर खानैपर्छ भन्ने दबाब अभिभावकबाट कहिल्यै आएन,’ उनी भन्छन् ।

प्रकाशित : जेष्ठ १९, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?