फोहोर कम गर्न प्लास्टिकको प्रयोग रोकौं : मन्त्री गुरूङ

काठमाडौँ — शहरी विकासमन्त्री सीता गुरूङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् ।

फोहोर कम गर्न प्लास्टिकको प्रयोग रोकौं : मन्त्री गुरूङ

बुधबार मन्त्रालयमा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्री गुरूङले काठमाडौंको फोहोर व्यवस्थापनको चापलाई कम गर्न फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने र प्लास्टिकको उपयोगलाई निषेध गर्नुपर्ने बताइन् ।

‘जति फोहोर उत्सर्जन हुन्छ, त्यसमध्ये अत्यधिक मात्रा प्लास्टिकको छ । डम्पिङ साइट पनि प्लास्टिकले नै भरिएको छ,’ मन्त्री गुरूङले भनिन्, ‘हामीले एकातिर फोहोरलाई स्रोतमै बर्गीकरण गरेर व्यवस्थापन गर्नु आवश्यक छ भने अर्कोतिर प्लास्टिकजन्य वस्तुको उपयोगमा पनि विचार पुर्‍याउनुपर्ने अवस्था आएको छ ।’

मन्त्री गुरूङले बैठकमा सहभागी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूलाई प्लास्टिकको उपयोगबारे सरकारले पहिल्यै गरिसकेको निर्णय कार्यान्वयनमा जोड दिन आग्रह गरिन् । सरकारले २०७२ को बैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा प्लास्टिकका झोलाहरू विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । तर, भुकम्पका कारण सरकारको त्यो निर्णय कार्यान्वयन भएन । सरकारले २०७८/७९ को बजेटमार्फत फेरि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगायो । सो निर्णयसमेत अहिलेसम्म पूर्ण कार्यान्वयनमा आएको छैन । मन्त्री गुरूङले सरकारले पहिल्यै गरिसकेको निर्णय कार्यान्वयनका विषयमा चासो दिएकी हुन् ।

मन्त्री गुरूङले वर्षामा समेत फोहोरमैला व्यवस्थापनमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएकी छिन् । बैठकमा फोहोरमैला व्यवस्थापनको मुख्य सरोकारवाला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने बैठकमा सहभागी थिएनन् । गत महिना संघीय सरकारले असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर शाहले सर्वोच्च अदालतको आदेशपछि सिंहदरबारको फोहोर उठाउन लगाएका छन् । त्यसयता फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न बोलाइएका बैठकमा भने सहभागी छैनन् ।

बुधबारको बैठकमा फोहोरमैला व्यवस्थापनका लागि तत्कालिन र दिर्घकालिन कार्ययोजना बनाएर अघि बढ्ने विषयमा विभिन्न योजनाहरूमाथि छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रदिप परियारले बैठकमा फोहोरमैला व्यवस्थापनको लागि कार्ययोजनामा समेट्नुपर्ने विषयहरूमाथि छलफल भएको बताए । ‘प्रधानमन्त्रीज्यूले नै कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ । त्यहीअनुसार कार्ययोजना बनाउने सन्दर्भमा मन्त्रीज्यूको संयोजकत्वमा कार्ययोजनाका लागि छलफल भएको हो,’ उनले भने ।

प्रकाशित : जेष्ठ १७, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?