१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

माओवादी नेताहरूको चीन भ्रमणको अन्तर्य

लक्ष्मी लम्साल

बेइजिङ — चीनको करिब २ साता लामो भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको टोलीले तिब्बत, बेइजिङ र हुपेइ प्रान्तको अवलोकन गरेको छ । पार्टी उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली गत जेठ ५ मा चीन भ्रमणमा आएको थियो । टोलीमा पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् भने सातै प्रदेश अध्यक्षहरु, ८ वटा जनवर्गीय संगठनका प्रतिनिधिहरू, प्रधानमन्त्री सचिवालयका प्रतिनिधि संलग्न छन् । 

माओवादी नेताहरूको चीन भ्रमणको अन्तर्य

सिचुवान प्रान्तस्थित विमानस्थलमा अवतरण गरेको भ्रमण टोलीले छिमेकी स्वायत्त प्रदेश तिब्बतबाट यात्रा प्रारम्भ गरेको थियो । गरिबी निवारणमा अद्भूत चमत्कार गरेको चीनले नेपाली टोलीलाई तिब्बतको गरिबी न्यूनीकरण सम्बन्धित दुइटा नमुना गाउँहरू घुमाएको थियो । उब्जनी नहुने पठारभूमिमा समेत स्थल तथा हवाई यातायात, पूर्वाधार निर्माण लगायतका कुराहरू अवलोकन गराइएको थियो । टोलीलाई कैलाश मानसरोवर घुमाएर चीनले पर्यटकीय खुलापनको सन्देश दिएको हुनसक्ने भ्रमणमा सहभागी नेताहरूले बताए ।

भ्रमणमा सहभागी पार्टी सचिव गणेश साहले भने, ‘नेपालसँग सीमा जोडिएको हिसाबले हिमाल वारिपारि प्रेमपूर्ण र इतिहासकालदेखि नै भावनात्मक छ ।’ विश्वको छानो मानिने तिब्बत र नेपालको हिमाली क्षेत्र दुवैले जलवायु परिवर्तनको असर सामना गर्नुपर्ने हुन्छ । यस विषयमा नेपाल र चीनले संयुक्त पहल गर्न सक्ने साहको भनाइ छ ।

आर्थिक प्रगतिसँगै चीन तिब्बतका हरेक घरमा बिजुली पुर्‍याएको र डाँडाकाँडामा समेत पानी बगाएको बताउँदै सचिव साहले नेपालले अब चीनसँग व्यापार र रोजगारीको सवालमा बहस अघि बढाउनुपर्ने बताए । ‘चीनसँग ट्रेड एण्ड ट्रान्जिटको संभावना रहेछ । अरब र युरोपपछि अब नेपालले चीनसँग पनि वैदेशिक रोजगारी विषय उठाउनुपर्छ’, साहले भने, ‘तिब्बत नेपालभन्दा धेरै अगाडि बढिसक्यो । ५/१० वर्षमा तिब्बत समृद्ध स्वायत्त प्रदेश बन्ने बाटोमा प्रवेश गर्दैछ । यसबाट नेपालले फाइदा लिने उपाय सोच्नुपर्छ ।’

माओवादी नेताहरूसँग सीपीसी विदेश विभाग प्रमुखका अपेक्षा

तिब्बतपछि राजधानी बेइजिङ आएको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग जेठ ११ मा भेटवार्ता गरेको थियो । उपाध्यक्ष सापकोटासँग एक्लै र त्यसपछि पदाधिकारीसहित भएको भेटवार्तामा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भयो । लिउले नेपालसँग विशेष सम्बन्ध विकास गर्न इच्छुक रहेको बताए । सामूहिक भेटमा मन्त्री छाओले घुमाउरो पाराले नेपालको मधेश क्षेत्रमा उपस्थिति जनाउने, चीनको आधुनिकीकरण अनुभव बाँड्ने र नेपालको सुखदुःखको साथी बन्ने चीनको अभिलाषा सुनाए । लिउले व्यक्तिगत रुपमा आफ्नो नेपाल भावना गहिरो रहेको सुनाए । उनले भने, ‘मैले पद सम्हाल्ने बित्तिकै पहिलो भ्रमण नेपालबाट गरेको थिएँ ।’

सामूहिक भेटवार्तामा लिउले नेपालका वामपन्थी शक्तिहरू मिल्नुपर्ने विषय खासै कोट्याएनन् । पाँच वर्षअघि इतिहासमै पहिलो पटक नेकपा एमाले र माओवादी सहित पार्टीहरू मिलेर ठूलो पार्टीले सत्ता संचालन गर्दा चीन निकै हौसिएको थियो भने हरेक पटक मिल्नुपर्ने कुरामा जोड दिइरहन्थ्यो । सामूहिक भेटमा सहभागी एक नेताका अनुसार उनले यति मात्रै भने, ‘कम्युनिष्ट पार्टीहरू मिलेको हेर्न चीन इच्छुक रहन्छ ।’

तीन दिन बेइजिङ भ्रमणपछि सो टोलीले ३ वर्षअघि कोरोना भाइरस विस्फोट भएको ठानिएको वुहान सहरको भ्रमण गरेको थियो । हुपेइ प्रान्तको वुहान र श् यान सहर भ्रमण गरेको छ । वुहानमा विभिन्न देशका कम्युनिष्ट नेताहरूको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले चिनियाँ विकासको चमत्कार र चिनियाँ विशेषतायुक्त समाजवादको चर्चा गरे । कार्यक्रममा नाइजेरिया, रसिया, पाकिस्तान लगायतका १७ देशका वामपन्थी पार्टीका उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीहरू सहभागी थिए । त्यसअघि नेपाली टोलीले श् यानस्थित चीनकै बृहत् परियोजनामध्ये एक मानव निर्मित जलाशयको अवलोकन गरेको थियो भने अटोमोबाइल कारखाना भ्रमण गरेको थियो ।

भ्रमणको अन्तर्य

झण्डै साढे तीन वर्षको अन्तरालपछि चीनले कोभिड-१९ विरुद्धको बन्दाबन्दी खुकुलो पारेर अन्तर्राष्ट्रिय पाहुनाहरूलाई धमाधम चीन भ्रमणको निम्तो दिइरहेको छ । नेपाली नेताहरूको भ्रमण त झन् तीव्र हुँदैछ । यसअघि गत अप्रिल मध्यतिर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वर्ल्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा भाग लिन नेकपा (एमाले)का तर्फबाट केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र नेकपा माओवादी केन्द्रका नेता राम थापा बेइजिङ आएका थिए । त्यसअघि कोभिडका कारण नेपालका वामपन्थीहरूलाई अनलाइन तरीकाद्वारा प्रशिक्षण दिने गरेका थिए । अन्य यस्ता आदानप्रदानका कार्यक्रमका सिलसिलामा साना ठूला नेपाली प्रतिनिधि मण्डलको चीन यात्रा चलिरहेकै छ ।

विशेषगरी सत्तारुढ माओवादीको चीन यात्रालाई केही कोणबाट हेर्न सकिन्छ । पहिलो, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबारदेखिको भारत भ्रमणअघि सत्तारुढ माओवादीले आफ्ना नेताहरूलाई चीन भ्रमणमा पठायो । प्रधानमन्त्री हुने बित्तिकै भारतकै भ्रमण गर्ने पुरानो प्रथामा कुनै क्रमभंग गर्न नसकेकोमा सत्तारुढ माओवादीले चिनियाँ कम्युनिष्ट पार्टीलाई आफ्नो सद्भाव र परिस्थिति बुझिदिन अपिल गरेको हुनसक्ने चर्चा नेपाली विश्लेषक वृत्तमा चलेको छ । यो चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो पूर्व निर्धारित कार्यक्रम भएकाले एउटा संयोगको रुपमा मात्रै लिन सकिन्छ वा वास्तवमै प्रधानमन्त्रीको दूतको रुपमा सापकोटाको टोली पठाइएको हो, यकिन छैन ।

दोश्रो, नेपालका हुम्ला, जुम्ला लगायत अति विकट क्षेत्रहरूसँग १४ सय १४ किलोमिटर सीमा जोडिएको तिब्बतले विकासमा नेपाललाई उछिनिसकेको छ । नेपाललाई दक्षिण एसियाको ‘गेटवे’ बनाउन लागिरहेको चीनले अब तिब्बतको पूर्वाधार संचरना पनि तयारी हालतमा रहेको देखाउन खोजेको छ । बेइजिङबाट विभिन्न देशका राजदूत र विज्ञहरूको टोली ल्हासा पुगेका बेला नेपाली टोली पनि त्यहीँ पुगेको थियो जतिखेर ‘तिब्बत विकास मञ्च’ लगायतका विकासका गोष्ठी/सेमिनारहरू तिब्बतमा चलिरहेका थिए ।

तेश्रो, कैलाश मानसरोवर भारतीय, नेपाली तीर्थयात्रीहरूको पवित्र गन्तव्य हो । नेपालले दाबी गरेर नक्सामा समेटिसकेको तर चीन र भारत दुवैले तार्किक निष्कर्षमा पुर्याउन बाँकी त्रिदेशीय बिन्दु भएर भारतले पदमार्ग बनाएको छ । यही बेला नेपाली सत्तारुढ पार्टीका नेताहरुको तीर्थाटनले गहिरो सन्देश दिएको हुनसक्छ । वा चीनले आफ्नो पर्यटकीय गन्तव्य खुलेको जानकारी दिएको छ ।

बेइजिङमा सीपीसी विदेश विभाग प्रमुख र पूरै माओवादी टोलीबीचको कुराकानी त भाइचारा सम्बन्धको पटाक्षेप नै भइहाल्यो । नेपालको सत्तारुढ पार्टीसँग आगामी सम्बन्ध र नेपाल सरकारले लिने विकासको नीतिमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु नै भेटवार्ताको मुख्य अन्तर्य रहेको पार्टी सचिव गणेश साहले कान्तिपुरलाई बताए ।

साहका अनुसार विज्ञान, प्रविधि र आधुनिकीकरणको दिशामा तीव्र गतिमा अघि बढेको चीनले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनपछि चरम गरिबीमा उल्लेख्य सुधार गरी विश्वको पहिलो अर्थतन्त्र बन्ने दिशातर्फ अग्रसर रहेकोले आफ्नो विकास देखाउन र नेपालप्रति सहयोगको प्रतिवद्धता जनाउन यो भ्रमणको अर्थ रहनसक्छ ।

कुनै बेला कोरोना महामारीले आक्रान्त भएको हुपेई प्रान्तको वुहान सहर भ्रमण गराएर चीनले वुहान फेरि पूर्ववत अवस्थामा फर्किएको र चीनकै सबैभन्दा गतिशील प्रविधि सहर भएको सन्देश दिएको छ ।

भ्रमणमा सहभागी अखिल क्रान्तिकारी विदेश विभाग प्रमुख जीपी मैनालीका अनुसार चीनले नेपालका वामपन्थी दलहरूलाई सिपिसीको शासन, तिब्बतको विकास, गरिबी निवारणको चिनियाँ शैली, पर्यटकीय खुलापन, सरसहयोगको चाहना लगायत प्रकट गर्नका लागि यो भ्रमण केन्द्रित रहेको हुनसक्छ ।

नेपालबाट प्रधानमन्त्री दाहाल, बुधबार भारत भ्रमणमा जाँदै गर्दा भोलिपल्ट बिहीबार चिनियाँ नेताहरूको सद्भाव बोकेर सत्तारुढ माओवादीका प्रभावशाली नेताहरू नेपाल फर्किँने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ १७, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?