प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ


काठमाडौं — नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् ।


प्रेस चौतारी नेपाल चितवन शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले नेपालको मिचिएको भूमि फिर्ता गर्ने र नेपालको हितका विषयमा छलफल हुन जरुरी रहेको बताए ।
उने भने, 'विद्युत् बिक्रीको विषयमा छलफल हुने भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ ।'
यस क्रममा उपमहासचिव गुरुङले सरकारले ल्याएको बजेटले आफ्नो विधि प्रक्रिया मात्रै पुर्याएको र यो बजेट नारामा मात्रै सीमित भएको टिप्पणी गरेका थिए । बजेटमा भाषाले सबैतिर छोएको, मिलाएको तर स्रोतको कुनै सुनिश्चितता गर्न नसकेको उनको भनाइ थियो ।
सङ्घीय शासन प्रणालीमा सङ्घीय सरकारको एकात्मक र केन्द्रीकृत ढङ्गको बजेट आएको भन्दै उनले टिप्पणी गरेका थिए ।
यसैबीच, पूर्वराजाको गतिविधिप्रति लक्षित गर्दै नेता गुरुङले त्यसबारे पनि टिप्पणी गरेका थिए । पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको उनको भनाइ थियो । 'अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरुको जयजयकार हुन लागेको छ । यो देशका लागि खतरा हो,' गुरुङले भने ।
प्रकाशित : जेष्ठ १६, २०८० २०:२६