२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
वाग्मतीमा कांग्रेस रुपान्तरण अभियान

‘नातावाद र कृपावादले कांग्रेसलाई कमजोर बनायो’

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरूले पार्टीमा नातावाद र कृपावाद मौलाउँदा पार्टी कमजोर बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका नेताहरूले थालेको रुपान्तरण अभियानअन्तर्गत मंगलबार काठमाडौंमा भएको वाग्मती प्रदेशस्तरीय भेलामा सहभागी नेताहरूले पार्टीमा अनुचित लाभ लिने, नातावाद र कृपावादलाई प्रोत्साहन गर्ने चरित्र तलदेखि माथिसम्म हाबी रहेको भन्दै अब सच्चिनुको विकल्प नभएको बताए । 

‘नातावाद र कृपावादले कांग्रेसलाई कमजोर बनायो’

कार्यक्रममा नेता जगदिश्वरनरसिंह केसीले पार्टीमा अनुचित लाभ, नातावाद र कृपावाद फष्टाएर गएको बताए । ‘पार्टीमा अनुचित लाभ लिने, नातावाद र कृपावादलाई प्रोत्साहन दिनेहरूको हालीमुहाली छ, त्यसले पनि पार्टीलाई थप कमजोर बनाएको छ,’ उनले भने, ‘यस्ता विकृति र विसंगतिहरूबाट कांग्रेसलाई मुक्त गर्न आवश्यक छ । हामी सच्चिएर सबैलाई सच्चिने अभियानमा जोड्न आवश्यक छ ।’

उनले अब देशमा भ्रष्टाचार नियन्त्रणकालागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । ‘भ्रष्टाचारका सबै मुद्धामा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ । हामी रुपान्तरणसहितको कांग्रेस निर्माण गर्ने अभियानमा छौँ,’ उनले भने, ‘यो अभियान कुनै गुट वा समूहको होइन, पार्टीमा रुपान्तरण चाहनेहरूको हो ।’

केन्द्रीय सदस्य मधु आचार्यले पार्टीमा केन्द्रीय समितिकै बैठकसमेत बस्न नसक्ने अवस्था सिर्जना भएको बताए । ‘सभापतिले १० महिनादेखि केन्द्रीय समितिको बैठक राख्नुभएको छैन । पार्टीमा व्यक्तिगत निर्णय हाबी भएका छन्,’ उनले भने, ‘यही परिस्थिति रहे हामी विशेष महाधिवेशन बोलाउन बाध्य हुनेछौँ ।’

उनले पार्टीको विधानले हरेक दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान गरेको, तर नेतृत्वले विधानका व्यवस्थालाई बेवास्ता गरेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही र अजयबाबु शिवाकोटीले पनि बोलेका थिए । संघीय सांसद रामनाथ अधिकारी समेत सहभागी थिए । त्यस्तै, नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, देवराज चालिसे, राजेन्द्र अमात्य, रमेश धमला, रामनाथ अधिकारी, बसन्त गौतम, ऋषिराम घिमिरे, विष्णुदेवी पाण्डे, बिजुला बर्मा, भुपेन्द्र थापा, विकास लामा, जितनारायण श्रेष्ठ, अमिता प्रधान, बंशीलाल तामाङ, उज्वल बराल, इन्दिरा न्यौपाने, लक्ष्मी थापा, देवकी गौतम, विनोद कायस्थ, धर्मेन्द्र नेम्वाङ, सुवास पोखरेल लगायत नेताहरूले कांग्रेसमा रुपान्तरणका लागि गर्नैपर्ने कार्यहरूबारे चर्चा गरेका थिए ।

पार्टीमा रुपान्तरणकालागि अभियानको घोषणा गरेका नेताहरूले यसअघि मधेश प्रदेशस्तरीय भेला जनकपुरमा गरेका थिए ।

प्रकाशित : जेष्ठ १६, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?