कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न माग

अर्जुन राजवंशी

बिर्तामोड — प्रधानमन्त्री पुष्पकमल दाहालको बुधबारबाट सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गरिदिन भुटानी शरणार्थीले माग गरेका छन् । 

प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न माग

स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले विज्ञप्ति जारी गरी भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री दाहाललाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो ।

मञ्चले भारतसँग छलफल गरी भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल र भुटान सरकारबीच वार्ता–छलफलको वातावरण बनाउन आग्रह गरेको मञ्चका महासचिव धनबीर (डीबी) सुब्बाले जानकारी दिए ।

भुटानी शरणार्थीहरु ३० वर्षदेखि पूर्वी नेपालको झापा र मोरङका शिविरमा शरणागत छन् । एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अष्ट्रेलियालगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रमअन्तर्गत गएका छन् । झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी बसोबासरत रहेको सुब्बाले जानकारी दिए ।

मञ्चले भुटानी शरणार्थीको नाममा विभिन्न आपराधिक गतिविधिहरु भएकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । आपराधिक गतिविधिको नाममा भुटानी शरणार्थीको स्वदेश फिर्तीको अधिकार र चाहनामाथि कुनै आँच पुग्न नहुनेमा जोड दिएको छ । मञ्चले शिविरमा हाल रहेकामध्येबाट आत्मसम्मानपूर्वक स्वदेश फर्कन चाहानेहरुको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको समेत उल्लेख गरेको छ ।

साथै, मञ्चले भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्प अगाडि बढाउनका लागि आवश्यक वार्ता, छलफल, नीति निर्णय र निर्देशनजस्ता ठोस पहल गरिदिन समेत आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८० १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?