१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१० लाख पर्यटक भित्र्याउन ध्वजावाहक निगम र प्राधिकरणलाई पुनर्संरचना गरिने

पर्यटन मन्त्रालयको बजेट ११ अर्ब ९६ करोड
सुरज कुँवर

काठमाडौँ — नेपालमा वार्षिक कम्तीमा १० लाख पर्यटक भित्र्याउन ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संचना गरिने भएको छ ।

१० लाख पर्यटक भित्र्याउन ध्वजावाहक निगम र प्राधिकरणलाई पुनर्संरचना गरिने

नेपाललाई सुरक्षित र आकर्षित पर्यटकीय गन्तव्य बनाउन हवाई सेवाको नियमन गर्ने प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा विभाजन गरिने भएको हो भने पर्यटकको संख्या वृद्धि गर्न निगमको व्यवस्थापकीय सुधार गरिने भएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संसदका दुबै सदनमा सोमबार प्रस्तुत गरेको बजेटका १० वटा प्राथमिकतामध्ये पर्यटनलाई पहिलो स्थानमा महत्त्व दिँदै प्राधिकरण र निगम पुनर्संरचनाको विषय पुनः दोहोर्‍याउँदै कार्यक्रम ल्याएका छन् ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग अलग बनाइने छ,’ बजेटमा उल्लेख गरिएको छ, ‘नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी व्यवस्थापकीय सुधार कार्य अघि बढाइनेछ ।’

यी दुबै निकाय हेर्ने तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड बजेट विनियोजन गर्दै अर्थमन्त्री महतले पूर्वाधारतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम पनि अघि बढाइने बताए । उनका अनुसार आगामी वर्ष त्यहाँको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुअब्जा वितरण, जग्गा संरक्षण लगायतका काम हुने छन् ।

पूर्वतयारीको काम अघि बढाइने यो परियोजनाको लगानी मोडालिटी भने हालसम्म तय भइसकेको छैन ।अर्थमन्त्रीले आगामी वर्ष नै मोडालिटीबारे पनि टुंगो लगाइने बताए । उनले हालै सरकारले निमार्ण सम्पन्न गरेका भैरहवास्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा संचालन गरिने बताए । यी दुबै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन सकिरहेका छैनन् । अर्थमन्त्रीले भैरहवामा बौद्धमार्गीलाई थाइल्याण्ड, श्रीलंका, चीन र भारतबाट सोझै ल्याउन ती मुलुकबाट सिधा उडान गरिने भनेका छन् ।

आन्तरिक उडानतर्फ सरकारले बिराटनगर, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलको स्तरोउन्नति गर्ने भनेको छ । ती विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा परिणत गर्दै रुकुमको चौरजहारी, दाङको टारीगाउँ, उदयपुरको सगरमाथा र जुम्लाको खलंगा लगायतका क्षेत्रमा रहेका विमानस्थलको स्तरोउन्नति गरिने भनिएको छ । त्यसैगरी दुर्गम तथा हिमाली भेगमा उडान गर्ने वायुसेवालाई सहुलीयत दिई हवाइ यातायातलाई अझ सहज र सुलभ बनाइने बजेटमा उल्लेख छ ।

मन्त्रालयमातहत रहेको पर्यटन विभागमार्फत हुने पूर्वाधारका कामका लागि २ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । यो रकमले पाथीभरा, हलेसी, किरातहरुको उद्मस्थल तुवाचुङ्ग–चतरा–बराह क्षेत्र, गढीमाई, छिन्नमस्ता लगायतका दुई दर्जनभन्दा बढी गन्तव्यमा पदमार्ग तथा भौतिक निमार्णका कार्य गरिने बताइएको छ ।

हिमाली क्षेत्रको सुन्दरताको अवलोकन तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेट हिमालयन ट्रेलको बाँकी निर्माण कार्य पनि आगामी वर्ष पुन: थालिने भएको छ । भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरबार, हनुमानढोका, नुवाकोट लगायतका २५ वटा सम्पदा आगामी वर्ष पुनर्निर्माण सम्पन्न गर्ने बजेटको लक्ष्य रहेको छ । आगामी वर्ष सरकारले १० लाख पर्यटक संख्या पुर्‍याउने जनाउँदै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाउने महत्वाकांक्षी कार्यक्रम फेरि ल्याएको छ । सरकारले निजी क्षेत्रलाई साहसिक तथा चलचित्र पर्यटनमा प्रोत्साहन दिने पनि जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८० २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?