१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खुल्यो रत्न मन्दिरको ढोका 

गणतन्त्र दिवसको अवसर पारेर पोखराको रत्न मन्दिर सर्वसाधारणको लागि खुला गरिएको छ ।
जनता र प्रधानमन्त्रीको चाहनाले रत्न मन्दिरको ढोका खोलियो । - पर्यटनमन्त्री किराती
प्रतीक्षा काफ्ले

कास्की — गणतन्त्र दिवसको अवसर पारी सोमबार रत्न मन्दिरको ढोका खुला गरिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको रत्न मन्दिरको ढोका सर्वसाधारणका लागि खुला गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले एक कार्यक्रमबीच रत्न मन्दिरको ढोका खुलाएर सर्वसाधारणका लागि खुला भएको घोषणा गरे । 

खुल्यो रत्न मन्दिरको ढोका 

शाहकालीन हिउँदे दरबारका रूपमा परिचित पोखराको रत्न मन्दिर २०१५ मा बनेको थियो । फेवा किनारमा तत्कालीन राजा महेन्द्रले कान्छी रानी रत्नका लागि यो दरबार बनाएका थिए । संघिय गणतन्त्र लोकतान्त्रिक मुलुक घोषण भए पनि यो दरबार यत्तिकै राखिएको थियो । १७४ रोपनी ४ आना र २ पैसा क्षेत्रफलमा निर्माण गरिएको यस दरबारमा सोमबारदेखी स्वदेशी तथा विदेशी अवलोकन गर्न पाउनेछन् ।

नेपाली पर्यटकले प्रवेश शुल्कबापत एक सय, सार्क मुलुकका पर्यटकले २ सय र अन्य विदेशी पर्यटकले ५ सय रुपैयाँ बुझाउनुपर्ने छ । विद्यार्थी र अपांगता भएका व्यक्ति ५० प्रतिशत छुटमा प्रवेश गर्न पाउने छन् । नेपाल ट्रस्टकै कर्मचारीको व्यवस्थापनमा रत्न मन्दिर सञ्चालन हुने छ । राजा विरेन्द्रको परिवारको निधन भएपछि उक्त दरबार २०६७ मंसिर २० गते नेपाल ट्रष्टको स्वामित्वमा आएको हो ।

लोकतन्त्रपछिको अन्तरिम संसद्ले पूर्वराजा वीरेन्द्रका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी ट्रस्ट बनाउने निर्णय गरे अनुसार २०६४ असोज २१ को मन्त्रिपरिषद्ले सरकारमातहत ल्यायो । त्यतिबेला नेपाल ट्रस्ट रक्षा मन्त्रालयको मातहत थियो । नारायणहिटी दरबार सर्वसाधारणका लागि उहिल्यै खुला भइसक्दा पनि पोखराको रत्न मन्दिर, हिमागृहलाई बन्द राखियो । पर्यटकीय दृष्टिकोणलेसमेत सदुपयोग हुन सकेन । नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका मन्त्री किरातीले पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि ट्रस्टको कार्यालय पर्यटन मन्त्रालयअन्तर्गत राखेको बताए ।

‘पोखरावासी र प्रधानमन्त्री प्रचण्डको पहलमा रत्न मन्दिरको ढोका खोल्न सफल भयौँ,’ मन्त्री किरातीले भने । स्वदेशीसँगै सोमबार विदेशी पर्यटक पनि रत्न मन्दिर अवलोकन गरेका थिए । यस परिसरभित्र ऐतिहासिक रत्न मन्दिर दरबार, ताल घर, बाघ, बगैंचा र सानाठूला गरि १० वटा भवन रहेका छन् । दरबारभित्र वैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्षहरु, डाइनिङग कक्षलगायत ११ वटा कोठा रहेका छन् ।

फेवातालको मनमोहक दृश्य अवलोकन गर्न सकिने, तालकै छेउमा रहेको भवनलाई विदेशमन्त्री र राजदूतलाई भेट्ने कक्षकोरुपमा प्रयोग गरिन्थ्यो । रत्न मन्दिर खुलाउनका लागि यहाँ स्थानीय र जनप्रतिनिधिले पटक-पटक माग राखेका थिए ।

पोखराका पर्यटन व्यवसायीले यहाँ आउने प्रधानमन्त्री, रक्षामन्त्री, पर्यटनमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसद, महानगर प्रमुखलगायतलाई पटक-पटक ज्ञापनपत्र बुझाएर रत्न मन्दिर खुला गर्न माग गर्थे । उनीहरुले पनि आफ्नै कार्यकालमा यी सम्पदा खुला गर्ने प्रतिबद्धता जनाउँथे । गण्डकी प्रदेश सरकारले यी सम्पदालाई आफ्नो मातहतमा ल्याउन कसरत गरेको थियो । रत्न मन्दिर र हिमागृह परिसरलगायत नेपाल ट्रस्टको स्वामित्वमा पोखरामा रहेका भवन तथा जग्गा संरक्षण तथा सञ्चालनसम्बन्धी अवधारणासहितको अध्ययन प्रतिवेदन प्रदेश सरकारले २०७६ मा तयार गरेको थियो ।

रत्न मन्दिर व्यावसायिक प्रयोजनमा भाडामा लगाउने प्रस्ताव आएपछि भने नागरिक समाजले विरोध जनायो । हालका पर्यटन मन्त्री सुदन किरातीले गत वैशाखमा पोखरा आउँदा रत्न मन्दिरको भ्रमण गरी यसलाई गणतन्त्र दिवसबाट खुला गर्ने घोषणा गरेका थिए । पोखरा महानगरको सहयोगमा रत्न मन्दिरमा मर्मतसम्भार, रंगरोगनको कार्य गरियो । नेपाल ट्रस्टले सर्वसाधारणका लागि खुला गर्न सञ्चालन कार्यविधि बनाएको छ ।

नेपाल ट्रस्ट कार्यालय सचिव सर्जुकुमार वैधले नेपाल ट्रष्टका लागि रत्न मन्दिर खुला गरिएको पहिलो र नयाँ अनुभव सुनाए । फेवा तालतिर फर्किएको रत्न मन्दिर परिसर ४ खण्डमा फैलिएको छ । मुल गेट र प्रवेश खण्ड, रत्न मन्दिर र बगैंचा चौर सहितको मुख्य खण्ड, हेलिप्याड, भेटघाट टहरो र एडीसी भवनसहितको फराकिलो चौर खण्ड, नेपाली सेनाको ब्यारेक सहितको जंगल र सिमसार खण्ड रहेका छन् । हाल यही चार खण्ड सर्वसाधारणका लागि खुला हुनेछ । रत्न मन्दिरको मुख्य दरबारभित्र भने प्रवेश खुला गरिने छैन ।

ट्रस्टकी बोर्ड सदस्य याङ्जोम शेर्पाले लामोसमयदेखि रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी भए पनि सरकार फेरबदलका कारण खुलाउन नसकिएको बताइन् । राजतन्त्रको अन्त्यसँगै सुरुमा यसलाई नेपाली सेनाको पृतना बनाउने योजना अघि सारिएको थियो ।

अतिथि गृह, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधता पार्क, ताल संग्रहालय, पर्यटक सूचना केन्द्र बनाउनेदेखि विदेशी संस्थालाई भाडामा दिने, अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बनाउनेसम्मका पहल पनि भए । पाँचतारे होटल, अर्गानिक गार्डेन, क्लब र टुरिस्ट मार्केटलगायतका विकल्प पनि अघि सारियो । तर, सबै व्यापारिक प्रकृतिका भएकाले स्थानीयले विरोध गरे । वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर’ खोल्ने योजना पनि अघि सारेको थियो ।

मन्त्री किरातीले मन्दिरको मूल ढोका पनि विस्तारै खोलिने बताए । बेलायती महारानी, चीनका राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री बीपी कोइराला पनि यहाँ बास बसेका छन् । विशिष्ट अतिथिका रूपमा आएका बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि यसबारे लेखेका छन् । यस दरबारमा ४१ वर्ष हेरचाहको काम गरेकी ८२ वर्षीया प्रतापकुमारी अधिकारीले राजा महेन्द्र भ्रमणको क्रममा पोखरा आउँदा ताल किनार मन परेपछि रत्न मन्दिर बनाएको बताइन् ।

स्थानीयसँग जग्गा किनेर २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो । २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो । ‘राजा वीरेन्द्रको शोक मनाइएको थियो,’ अधिकारी भन्छिन्, ‘अन्तिम भोज नै उहाँको दु:खदको थियो । त्यसपछि यो मन्दिरमा चहलपहल हट्यो ।’ उनले रत्न मन्दिर पहिलेको तुलनामा व्यवस्थापकीय कमजोर भएको बताइन् ।

दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र हिमा गृहमा बसेको अनुभव अधिकारीसँग छ । ज्ञानेन्द्र राजा भएपछि दरबारका नाममा रहेका सम्पत्ति आफ्नो नाममा सारेका थिए । रत्न मन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आएको हो । रत्न मन्दिरभन्दा ५ सय मिटर पूर्वमा छ, हिमा गृह ।

यो पनि नेपाल ट्रस्टको स्वामित्वमा छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो । २०३८ पुस ९ मा अधिराजकुमार हिमालयले पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिएका थिए । ०४६ कात्तिक १० मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै अवस्थित हिमा गृहको क्षेत्रफल १० रोपनी ४ आना छ । हिमा गृहलाई भने हाल खुला गरिएको छैन । मन्त्री किरातीले हिमागृह पनि खोलिने प्रतिबद्धता जनाए । यहाँकै बाटो हुदै तालबाराही मन्दिरसम्म पुग्न सकिने किरातीले सुनाए ।

सामाजिक अभियन्ता रामबहादुर थापाले रत्न मन्दिर खुला गरिनु खुसीको कुरा रहेको बताए । ‘तर, प्रवेश शुल्क विदेशी र स्वदेशीलाई एउटै बनाउनुपर्छ,’ उनले भने, ‘रत्न मन्दिर खुला गरेसंगै धेरै प्रश्न र शंका उत्पनन्न भएका छन् । यसमा हामी खबरदारी गरिरहन्छौँ ।’

गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले रत्न मन्दिर संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । आफू प्रदेशको पर्यटन मन्त्री रहँदै गर्दा संघीय पर्यटनमन्त्री किरातीसँग रत्न मन्दिर खुलाउन माग गर्दै आएको बताए । पोखरा महानगर प्रमुख धनराज आचार्यले रत्न मन्दिर व्यवस्थापन र संरक्षण महानगरपालिकाले नै गर्ने बताएका छन् । तत्कालीन राजपरिवारले प्रयोग गरेका भवन, बगैंचा, विभिन्न सामग्रीबारे तत्काल सूचना बोर्डमार्फत देखाइने उनले सुनाए ।

यहाँको पर्यटनसँग जोडिएको रत्न मन्दिरका कारण पर्यटकका लागि एक दिन थप हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रत्न मन्दिरको ढोका खोलिएसँगै पर्यटकको लागि प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास स्थानीयले लिएका छन् । पोखरा महानगर–२२ का नरनाथ बरालले हालसम्म रत्न मन्दिर बाहिरमात्रै देखिएको बताए । ‘पहिलोपटक भित्र आएर हेर्न पाए, निकै राम्रो लाग्यो,’ उनले भने, ‘अझै दरबारभित्र पस्न पाइएन । दरबारभित्र के छ भन्ने अर्को कौतुहल थपियो ।’ उनले दरबारभित्रको परिसर पार्कमा निर्माण गर्नुपर्ने बताए ।

नागरिक समाज कास्कीका पूर्वसंयोजक विष्णुहरि अधिकारीले रत्न मन्दिर रिसोर्ट बनाउने, हिमा गृहलाई मुख्यमन्त्रीको निवास बनाउने खिचडी पाकिरहँदा नागरिक समाज र पोखराबासीको अगुवाइमा भाडामा लगाउन रोक लगाइएको बताए । ‘राजा कसरी बस्थे ? सर्वसाधारणले हेर्न र बुझ्न पाउनुपर्छ,’ उनले भने, ‘दरबारको मूल ढोका अझै खोलिएको छैन । भित्र साँघुरो छ । ५ जनाभन्दा बढी व्यक्ति जान मिल्दैन । जीर्ण पनि छ । धेरै संरचना बनाउनुपर्ने भएकाले भित्र नखोलिएको हो ।’

प्रकाशित : जेष्ठ १५, २०८० २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?