२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कहिले खुल्छ चिवाभन्ज्याङ नाका ?

भारतको सिक्किमसँग नेपालका ताप्लेजुङ, पाँचथरवासीको रोटीबेटीको सम्बन्ध छ । वारि–पारि बिहेबारी भएका धेरै छन् । तर नाका नखुलेकै कारण समस्या पनि उत्तिकै झेलिरहेका छन् । 

चिवाभन्ज्याङ, पाँचथर — भारतको सिक्किमसँग सिमाना जोडिएको पाँचथरको चिवाभन्ज्याङ नाकासम्मै मोटरबाटो पुग्दा सिक्किमको उत्तरी छेउसम्म मात्रै मोटरबाटो आएको थियो । गत वर्षदेखि भारतले पनि सिमानासम्मै सडक पुर्‍यायो । सडक पूर्वाधार बने पनि चिवाभन्ज्याङ नाका नखुल्दा आवतजावत हुन सकेको छैन ।

कहिले खुल्छ चिवाभन्ज्याङ नाका ?

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष राजेन्द्र खालिङ प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा यो विषयले प्राथमिकता पाओस् भन्ने अपेक्षामा छन् । ‘स्थानीय तहबाट सीमानाकाको विषयमा केही पनि गर्न नसकिने रहेछ,’ राईले भने, ‘केन्द्रलाई अनुरोधपत्र त पठाएका छौं, तैपनि प्रधानमन्त्रीले सुन्ने गरी खबर पुगिदिए हुन्थ्यो ।’

भारतको सिक्किमसँग नेपालका ताप्लेजुङ, पाँचथरवासीको रोटीबेटीको सम्बन्ध छ । वारि र पारि बिहेबारी भएका धेरै छन् । तर नाका नखुलेकै कारण समस्या पनि उत्तिकै झेलिरहेका छन् । प्रहरीको पास बोकेर घर र माइती आवतजावत गर्नुपर्ने बाध्यता छ । स्थानीयले यो नाका भएर नेपाल–भारत आउजाउ र मालसामान ओसारपसार गर्न सहज हुनुपर्ने माग गरिरहेका छन् । राणाकालअघिदेखि नै वारिपारि सम्बन्ध र आउजाउ भइरहेको यहाँ कानुनी रूपमै नाका सञ्चालन गरिनुपर्ने स्थानीयको माग छ ।

मानवीय बस्ती घना रहेको च्याङथापु बजारबाट १८ किलोमिटर दूरीमा रहेको भन्ज्याङमा सशस्त्र सीमा प्रहरी बल स्थापना भइसकेको छ । ३ हजार १ सय ३९ मिटर उचाइमा रहेको सिमानाको वारि सशस्त्र प्रहरी र पारि भारतीय सीमा सुरक्षा बलको क्याम्प छ । ठूला सवारी चल्ने क्षमताका सडक ट्र्याक दुवैतिर खुलेको छ । नेपालतर्फको सडक कालोपत्रका लागि टेन्डरसमेत भइसकेको छ ।

खासगरी पूर्वका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटादेखि संखुवासभासम्मका लागि नाका सञ्चालनमा नआउँदा समस्या भएको यङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया बताउँछन् । ‘नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौं,’ अध्यक्ष योङयाले भने, ‘यहाँको दैनिकी र पर्यटकीय विकासका लागि गतिलो आधार बन्ने भएकाले नाका खोल्नका लागि सरकारीस्तरबाट पहल गर्न माग गरेका छौं ।’

सिक्किमवासीसँग सदियौंदेखिको सम्बन्ध रहेकाले पनि यो नाकाको छुट्टै महत्त्व रहेको अध्यक्ष योङया बताउँछन् । सडक सञ्जालले दुई देश जोडिएपछि चिवा भन्ज्याङमै होटल सुरु गरेका हिमाल राई अहिले विकल्प खोजिरहेका छन् । उनले भने, ‘भारतबाट जनवरीमा धेरै नै पर्यटक आए, नेपालबाट पनि वैशाख १ मा ५० भन्दा बढी गाडी लिएर मान्छे आए तर अरू बेला सुनसान छ ।’

नाका खुले राडी, गलैंचा, ऊन, घिउ, छुर्पीलगायत वस्तु भारत निर्यात गर्न सकिने र भारतबाट पनि आवश्यक वस्तु ल्याउन पाइने हिमाल बताउँछन् । आर्थिक, सामाजिक, पर्यटकीयलगायत गतिविधिमा सिक्किमका लागि पनि छोटो र सहज मानिएको नाकाले पर्यटकीय गतिविधिमा दुवैतर्फका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने बुझाइ स्थानीयको छ ।

सीमाबाट सिक्किमको राजधानी ग्यान्टोक पुग्न १ सय ७० किलोमिटर मात्रै छ । यो नेपालबाट ग्यान्टोक पुग्ने सबैभन्दा छोटो दूरी हो । चिवाभन्याङदेखि उत्तरे बजार २५ किलोमिटरको दूरीमा छ । चिवाभन्ज्याङबाट ताप्लेजुङ र पाँचथर ८० किलोमिटरको दूरीमा पर्छ । तमोर करिडोरले तेह्रथुम र धनकुटालाई जोडेको छ भने यो नाकाको उपभोग संखुवासभा, भोजपुरका लागि पनि सहज छ । नाका खोल्ने विषयमा सरकार गम्भीर हुनुपर्ने मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बूको माग छ । भारतबाट पाथीभरा आउने र सिक्किम जानेलाई सहज हुनुपर्ने माग व्यवसायीको छ ।

पहाडलाई चीन–भारत दुवै नाका उस्तै

नेपालका ताप्लेजुङ र दार्चुला भारत र चीन दुवै देशसँग सिमाना जोडिएका जिल्ला हुन् । तर पनि यी जिल्लाले यसको यथेष्ट लाभ लिन पाएका भने छैनन् । कोरोना महामारीसँगै चार वर्षअघि बन्द टिप्ताला नाका पनि अहिलेसम्म नखुल्दा गलैंचा बिक्री, खाद्यान्न आयातनिर्यातमा समस्या भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ बताउँछन् ।

नेपाल भारत सिमानाका रहेको चिवा भञ्ज्याङको पिलरमा सशस्त्र प्रहरी । दुवै देशलाई सडक सञ्जालले जोडिएको यो नाका खोल्न स्थानीयले माग गरेका छन । तस्बिर : आनन्द गौतम / कान्तिपुर

ओलाङचुङगोलामा चार वर्षदेखि बुनेका गलैंचा बिक्री नभएको उनले बताए । ‘तिब्बत प्रशासनलाई जुम मिटिङ पनि भन्यौं, नेपाल सरकारलाई पनि अनुरोध गर्‍यौं, नाका खुल्दैन, के गर्ने ?,’ छेतेनले भने । व्यापारका लागि एक महिने शिविर मात्रै चलाइदिए पनि हुने उनी बताउँछन् ।

जैविक विविधताले भरिएको यो क्षेत्रमा प्रशस्तै पर्यटकीय स्थल छन् । लोकमार्ग खुलेसँगै च्याङथापु, फलैचा, थर्पुलगायत क्षेत्रमा ठूला होटल खुल्न थालेका हुन् । चिवाभन्ज्याङ क्षेत्र जैविक विविधताले पनि धनी छ । विभिन्न प्रकारका गुराँस, जडिबुटी, जंगली जनावर लगायत पर्यटकको ध्यान तान्ने स्थान रहेकाले स्थानीयले यहाँको व्यवस्थित पर्यटकीय गतिविधि बढाउन पनि सरोकारवालाको साथ खोजिरहेका छन् । चिवाभन्ज्याङबाट मेजर, डुँड, पहाडेमेघु हुँदै तिम्बुङ पोखरी र कञ्चनजंघासम्मको यात्रा गर्न सकिन्छ । ‘अथाह सम्भावना भएकाले पनि यो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन आवश्यक छ,’ केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने ।

किरात लिम्बू जातिसँग जोडिएका भिन्न इतिहास यहाँ पाइन्छ । लेकाली जीवनशैली, चौंरी गोठको अनुभव यहाँको भिन्न आनन्दको पाटो हो । गुराँसे वनले छोपेको तिम्बुङ पोखरी—लामापोखरी–फलोट क्षेत्र यहीं पर्छ । तिम्बुपोखरी जान भने गाडी छाडेर दुई दिन हिँड्न पर्छ । यहाँ जडिबुटी, चौंरीलगायत अन्य पशुका परिकार, तीतेमाछाको स्वाद चाख्न पाइन्छ । चिवाभन्ज्याङबाट पाँचथरकै फालेलुङ र इलामको सन्दकपुर क्षेत्रको भ्रमणका लागि पनि सिक्किमबाट आउनेहरूका लागि नजिक पर्छ ।

प्रकाशित : जेष्ठ १५, २०८० २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?