प्रधानमन्त्री दाहालको भारत भ्रमण

परम्पराको निरन्तरता कि क्रमभंगता ?

पहिलो पटक भारत भ्रमण गर्दा दाहाल संसद्को सबैभन्दा ठूलो दलका अध्यक्ष थिए, अहिले उनको दल माओवादी तेस्रो स्थानमा छ
जगदीश्वर पाण्डे

काठमाडौँ — तेस्रो पटक प्रधानमन्त्री भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल चौथो भारत भ्रमणको तयारीमा छन् । प्रधानमन्त्रीका रूपमा सन् २००८ मा पहिलो पटक भारत भ्रमण गर्दा उनी संसद्को सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष थिए । अहिले पनि उनी माओवादीको अध्यक्ष नै छन् तर उनको दल तेस्रो स्थानमा छ । 

परम्पराको निरन्तरता कि क्रमभंगता ?

१४ वर्षअघि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेपछि दाहालले पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परा तोड्न खोजे । प्रधानमन्त्री भएलगत्तै उनी ओलम्पिक समापन समारोहमा सहभागी चीन गएका थिए । तर त्यसबाट भारत असन्तुष्ट रहेको बुझेपछि उनले पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने बताए र केही समयमै भारत भ्रमणमा निस्किए । सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री भएका बेला उनले पहिलो औपचारिक विदेश भ्रमण भारतकै गरे । दोस्रो कार्यकालमा उनी दुई पटक भारत पुगेका थिए । यस पटक पनि उनी कुरेरै पहिलो विदेश भ्रमण भारतकै गर्दै छन् । यसबीचमा बोआओ फोरममा सहभागिताका लागि निम्तो आउँदा पनि उनी चीन गएनन् । यसबाट उनले परम्परामा क्रमभंगता चाहेको देखिँदैन ।

पहिलो भ्रमण

कुनै समयका विद्रोही नेता दाहालले विस्तृत शान्ति सम्झौता गर्दै संविधानसभा निर्वाचनमा भाग दिँदै माओवादीलाई पहिलो पार्टी बनाएका थिए । त्यसपछि सरकार प्रमुख भएका उनले तत्कालीन भारतीय समकक्षी मनमोहन सिंहको निमन्त्रणामा २००८ सेप्टेम्बर १४–१८ मा भारत भ्रमण गरे । ५ दिने भ्रमणका क्रममा दाहालले तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिल, उपराष्ट्रपति हमिद अन्सारी, कंग्रेसकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष लालकृष्ण आडवाणीलगायतलाई भेटेका थिए ।

त्यस बेला दुवै मुलुकले जारी गरेको संयुक्त वक्तव्यमा दुई प्रधानमन्त्रीले नेपाल र भारतबीचको सदियौं पुरानो घनिष्ट, सौहार्दपूर्ण र बृहत् सम्बन्धप्रति सन्तोष व्यक्त गरेको उल्लेख छ । ‘दुवै प्रधानमन्त्रीले आगामी दिनमा पनि सम्बन्धलाई थप सुमधुर बनाउन आ–आफ्नो साथ र सहयोग व्यक्त गरेका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘वार्ता अत्यन्त सौहार्दता र न्यानो वातावरणमा सम्पन्न भयो ।’ भारतीय प्रधानमन्त्रीले नेपालको ऐतिहासिक महत्त्वको शान्तिपूर्ण, राजनीतिक, लोकतान्त्रिक रूपान्तरणको प्रशंसा गरेका थिए । प्रधानमन्त्री दाहालले भने देशमा शान्तिपूर्ण राजनीतिक लोकतान्त्रिक रूपान्तरणका क्रममा भारतका जनता र सरकारले दिएको सकारात्मक सहयोगबारे उल्लेख गरेका थिए । ‘भारत सरकारले नेपालमा शान्तिपूर्ण, राजनीतिक, लोकतान्त्रिक संक्रमणलाई पूर्ण समर्थन गरेको छ,’ संयुक्त वक्तव्यमा भनिएको थियो ।

नेपालमा त्यस बेला अन्तरिम संविधान थियो भने नयाँ संविधान बनाउने क्रम थियो । दाहाल र सिंहले संविधानसभाको निर्वाचनपछि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, नयाँ संविधान निर्माण गर्ने र आर्थिक विकासको गतिलाई तीव्रता दिने नेपाल सरकारको आगामी दिनका प्रमुख प्राथमिकता रहेको उल्लेख गरेका थिए । ‘दुई प्रधानमन्त्रीहरूबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिलाई पुनरावलोकन, समायोजन र अद्यावधिक गर्न र द्विपक्षीय सम्बन्धका विशेष विशेषतालाई उचित मान्यता दिने सहमति भएको छ । यसका लागि परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय समिति गठन गरिनेछ,’ संयुक्त वक्तव्यमा भनिएको थियो ।

दोस्रो भ्रमण

पहिलो भारत भ्रमणको ८ वर्षपछि दोस्रो पटक प्रधानमन्त्री बनेका दाहालले सन् २०१६ सेप्टेम्बर १५–१८ मा भारत भ्रमण गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भ्रमणमा गएका दाहालले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि भेटेका थिए । उनले हरिद्वारनजिक पताञ्जली योगपीठ पनि भ्रमण गरेका थिए । भ्रमणमा दाहाल र मोदीबीच ‘बहुआयामिक सहकार्य’ गर्ने सहमति भएको थियो ।

भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यअनुसार दुई प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका सम्पूर्ण पंक्तिको समीक्षा गर्दै दुई मुलुकका जनताको पारस्परिक हितका सबै क्षेत्रमा आपसी सहयोगलाई थप गहिरो र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । ‘उनीहरूले सबै द्विपक्षीय संस्थागत संयन्त्रको नियमित बैठक बसेर निर्णयलाई छिटो कार्यान्वयन गर्न निर्देशन दिए । दुवै पक्ष सन् २०१६ मा भारत–नेपाल संयुक्त आयोगको अर्को बैठक गर्न सहमत भएका छन्,’ वक्तव्यमा भनिएको थियो, ‘दुई प्रधानमन्त्रीले उपक्षेत्रीय सहयोग प्रवर्द्धनमा भएको प्रगति उल्लेख गर्दै विशेषगरी व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका क्षेत्रमा यसलाई अझ प्रवर्द्धन गर्ने उपाय खोज्नुपर्नेमा सहमति जनाएका छन् ।’ दुवै प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोओपरेसन (बिमस्टेक) को ढाँचाभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

दाहाल र मोदीले नेपाल–भारत सम्बन्धका लागि प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पहिलो बैठक सन् २०१६ जुलाईमा काठमाडौंमा भएको उल्लेख गर्दै उक्त समूहले गहनताका साथ काम गर्ने र भारत–नेपाल सम्बन्धको समग्रतालाई स्वतन्त्र दृष्टिकोणबाट हेर्ने र सुझाव दिने विश्वास व्यक्त गरेका थिए । तर उक्त प्रतिवेदन भारतले बुझ्न नमान्दा पाच वर्षदेखि थन्किएको छ । प्रधानमन्त्री दाहालले नेपालमा २०१५ अप्रिल २५ र १२ मेमा गएको विनाशकारी भूकम्पपछि भारत सरकार र जनताले प्रदान गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको एक अर्ब अमेरिकी डलर सहयोगका लागि आभार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीलाई नेपालमा भएका घटनाक्रमबारे जानकारी गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान जारी हुनु ऐतिहासिक घटना भएको उल्लेख गरेका थिए । उनले आफ्नो सरकारले संविधानको प्रभावकारी कार्यान्वयनका लागि नेपाली समाजका सबै वर्गलाई समेट्न गरेको प्रयासबारे पनि उल्लेख गरेका थिए । नेपालमा नयाँ संविधान आएपछि असन्तुष्ट भई आर्थिक नाकाबन्दीसमेत गरेको भारतले त्यस बेला भने संघीय संविधानको प्रशंसा गरेको थियो । जवाफमा दाहालले नेपालको शान्ति प्रक्रियामा सद्भाव, समर्थन र ऐक्यबद्धताका लागि भारत सरकार र जनतालाई धन्यवाद दिए ।

सोही अवसरमा नेपाली पक्षले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि भारतको उम्मेदवारीप्रति आफ्नो समर्थन रहेको दोहोर्‍याएको थियो । हवाई रुट थपका सम्बन्धमा पनि समझदारी बनेको थियो । त्यस बेलाको संयुक्त वक्तव्यमा नेपालले हवाई रुटका लागि अनुरोध गरेको र हवाई सेवाका विषयमा छलफल गर्न दुवै पक्ष नागरिक उड्डयन वार्ता गर्न सहमत भएको उल्लेख थियो ।

तेस्रो भ्रमण

दोस्रो भारत भ्रमण भएको एक महिनाभित्रमै सन् २०१६ अक्टोबर १५–१७ सम्म दाहाल भारत भ्रमणमा निस्किएका थिए । यो भ्रमण भारत र नेपालबीच मात्र सीमित थिएन । भारतको गोवामा भएको ब्रिक्स–बिमस्टेक आउटरिच शिखर सम्मेलनका लागि गएका दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग संवाद गरेका थिए । दाहालको दायाँबायाँ मोदी र सी रहेको त्यति बेलाको तस्बिर चर्चामा आएको थियो । दाहालले ब्रिक्स सम्मेलनका क्रममा दुई एसियाली ठूला राष्ट्रबीचको ‘गतिशील पुल’ का रूपमा नेपाललाई उभ्याउनका लागि उक्त भेट गरेको उल्लेख गरेका थिए । ‘हामी दुई देशबीच गतिशील पुलका रूपमा काम गरेर भौगोलिक विशेषताको फाइदा लिन चाहन्छौं,’ दाहाललाई उदृत गर्दै त्यस बेलाका स्वकीय प्रकाश दाहालले सञ्चारमाध्यमलाई बताएका थिए । त्यस बेला चीनका राष्ट्रपति सीले नेपालले भारत र चीन दुवैसँगको सम्बन्धलाई निरन्तरता दिएकामा प्रशंसा गर्दै नेपाल, चीन र भारतबीचको सम्बन्ध अझ सुमधुर हुने बताएका थिए ।

अब चौथो भ्रमण

यस पटकको भ्रमणमा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति दौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने छन् । प्रधानमन्त्री दाहालले मध्य प्रदेशको इन्दोर र उज्जैन पनि भ्रमण गर्नेछन् ।

दाहालको यस भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिलाई सुदृढ र भारतसँगको सम्बन्ध अझ मजबुत बनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । यो भ्रमणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी, नेपालगन्ज एकीकृत चौकी उद्घाटन तथा भैरहवा एकीकृत जाँच चौकीको शिलान्यास, विराटनगर रेल यार्ड उद्घाटन, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन सम्बन्धका एजेन्डाहरू उठाउने गृहकार्य नेपालले गरिरहेको छ । नेपाल टेलिभिजन च्यानल भारतमा प्रसारण, भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धता, बंगलादेशसँग विद्युत् व्यापारमा भारतको सहजीकरण र प्रसारण लाइन निर्माणमा सहयोग, २५ वर्षसम्म विद्युत् व्यापार सम्झौता, तल्लो अरुण र फुकोट कर्णालीमा २१.९ प्रतिशत बिजुली पाउने गरी सम्झौता, न्यु मोदी–लेखनाथ प्रसारण लाइन उद्घाटन तथा गोरखपुर प्रसारण लाइन शिलान्यास लगायतका एजेन्डा उठाउन पनि नेपाली पक्षले गृहकार्य गरिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको भारत भ्रमण नेपालको हितमा हुने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री दाहालले पहिलेभन्दा यस पटक भ्रमण फरक हुने बताए । पहिलो भ्रमण राजनीतिमा केन्द्रित रहेको र अहिलेको भ्रमण दुई मुलुकबीचको सहकार्य र साझेदारीका विषयमा बढी केन्द्रित हुने उनको भनाइ छ । ‘केही वर्षयता नेपाल–भारत सम्बन्धमा केही उतार–चढाव आयो । यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद बनाउन लागि मद्दत गर्ने छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?