१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
आर्थिक सर्वेक्षण ०७९/८०

संस्थानमा लगानी ६ खर्ब, नाफा १ अर्ब

राजु चौधरी

काठमाडौँ — सरकारले सार्वजनिक संस्थानमा हरेक वर्ष लगानी बढाए पनि नाफा भने घट्दै गएको छ । एक वर्षमा ५० अर्ब ८७ करोडभन्दा बढी लगानी थपिँदा संस्थानको खुद नाफा भने ९४.१५ प्रतिशतले घटेको छ । ०७७/७८ मा २६ अर्ब ३५ करोड खुद नाफा कमाएका संस्थानले ०७८/७९ मा १ अर्ब ५४ करोड मात्रै नाफा कमाउन सकेका छन् ।

संस्थानमा लगानी ६ खर्ब, नाफा १ अर्ब

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा ०८० अनुसार संस्थानहरूमा सरकारको ६ खर्ब १८ अर्ब १६ करोड लगानी छ । ०७७/७८ मा लगानी ५ खर्ब ६७ अर्ब २८ करोड थियो । संस्थानमा तुलनात्मक लगानी बढे पनि प्रतिफल देखिएको छैन ।

०७६/७७ र ०७७/७८ को अवस्था पनि उस्तै छ । ०७६/७७ मा ५ खर्ब १९ अर्ब ५५ करोड लगानी थियो । ०७७/७८ मा आइपुग्दा सरकारी लगानी ९.१८ प्रतिशतले बढेर ५ खर्ब ६७ अर्ब २८ करोड पुग्यो तर खुद नाफा ४५.४३ प्रतिशतले घटेर २६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको समीक्षामा उल्लेख छ ।

आर्थिक वर्ष ०७८/७९ मा संस्थानको सञ्चित नाफा पनि ०.७४ प्रतिशतले कमी भएर १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाखमा सीमित भएको छ । सञ्चित नोक्सानी भने बढेको छ । ‘०७७/७८ को तुलनामा १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ,’ समीक्षामा भनिएको छ ।

हाल औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४०, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनउपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ गरी ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् । अस्तित्वमा रहेका मध्ये ४२ संस्थान मात्रै सञ्चालनमा छन् । ०७८/७९ मा आइपुग्दा अस्तित्वमा रहेका मध्ये २५ संस्थानले नाफा आर्जन गरेका छन्, १७ वटा घाटामा छन् । दुई संस्थानको कारोबार शून्य छ ।

‘जनकपुर चुरोट कारखाना बन्द नै छ, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामै छ,’ समीक्षामा भनिएको छ, ‘नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिएन्ट म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखानाको व्यावसायिक कारोबार भएकै छैन । नेपाल रेलवे कम्पनीले गति लिन सकेको छैन ।’ ०७७/७८ मा २२ संस्थानले नाफा आर्जन गरेका थिए, १९ संस्थानले घाटा बेहोरेका थिए । बाँकी संस्थान शून्य अवस्थामा थिए । ०७८/७९ मा नाफा हुने संस्थानको संख्या बढे पनि अन्यको नोक्सानी डरलाग्दो छ ।

समीक्षाअनुसार ०७८/७९ मा सञ्चालित २५ संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणले १३ अर्ब ३७ करोड ४६ लाख नाफा कमाएको छ । दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २९ करोड २८ लाख नाफा कमाएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड ४९ लाख, कृषि विकास बैंकले २ अर्ब २२ करोड ५७ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ३० करोड ७१ लाख नाफा कमाएको छ ।

नाफा भएका संस्थानबाट आर्थिक वर्ष ०७८/७९ मा ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो । नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी आयल निगमको नोक्सानी ३८ अर्ब १७ करोड ७७ लाख पुगेको छ । अन्तर्राष्ट्रिय बजार भएको मूल्यवृद्धि र लागतअनुसार मूल्य समायोजन नहुँदा निगमको नोक्सानी चुलिएको हो । दोस्रोमा नेपाल वायु सेवा निगमको नोक्सानी १ अर्ब ७० करोड ३० लाख, नेपाल खानेपानी संस्थानको नोक्सानी ३९ करोड ५४ लाख र दुग्ध विकास संस्थानको नोक्सानी ३७ करोड पुगेको छ । नेपाल रेलवे कम्पनीको घाटा १४ करोड ३५ लाख, नेपाल ओरिएन्ट म्याग्नेसाइटको १४ करोड २८ लाख र नेपाल औषधिको नोक्सानी १३ करोड ८६ लाख पुगेको छ । समीक्षाअनुसार ०७८/७९ मा सेयरधनी कोष/नेटवर्थ गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ । गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ४.५४ प्रतिशतले वृद्धि भएर ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ । ऋण लगानी १४.४९ प्रतिशतले वृद्धि भएर २ खर्ब ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ ।

प्रकाशित : जेष्ठ १५, २०८० ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?