विश्वविद्यालय सुशासन र सदाचारको नमुनाको रूपमा देखिनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूमा सुशासन र सदाचारको नमुनाका रूपमा देखिनुपर्ने बताएका छन् । विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले मुलुकमा भ्रष्टाचारले थिलथिलो भएको भन्दै त्यसलाई निर्मूल गरी सुशासन कायम गर्न विश्वविद्यालयहरूले भूमिका खेल्नुपर्ने बताए । मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्वपूर्ण हुने पनि उनको भनाइ थियो ।
'मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो । शैक्षिक संस्थाहरूले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमुनाको रुपमा विश्वविद्यालयहरू देखिनुपर्दछ,' उनले भने ।
प्रधानमन्त्री दाहालले विश्वविद्यालयका पठ्यक्रम र पठनपाठन सूचना प्रविधिमा आधारित हुँदा मात्रै वर्तमान समय सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने बताए । त्यसो गर्दा रोजगारी र स्वरोजगारीको कुरा पनि आउने उनको भनाइ थियो । शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै उनले देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, प्रधानमन्त्री दाहालले संघीय संसद्बाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार नै बजेट निर्माण भइरहेको बताए । जटिल परिस्थितिबीच नीति कार्यक्रम पारित गरेको उनको भनाइ थियो । 'निकै ठूलो जटिलताकाबीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । नीति कार्यक्रम अनुसारकै बजेट होस् भन्नेमा सरकार लागेको छ । अहिले मुख्यतः ७ सय ५३ वटै पालिकामा कृषि उत्पानमा वृद्धि गर्ने, युवाहरूलाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने तयारीमा छौं.' उनले भने ।
प्रकाशित : जेष्ठ १४, २०८० १५:२४