२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रधानमन्त्री दाहालको चारदिने भारत भ्रमण घोषणा

एजेन्डा र टोली सदस्य टुंगो लाग्न बाँकी
भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिने दुवै पक्षको विश्वास 

काठमाडौँ‚ नयाँदिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिबार सार्वजनिक भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० सम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री दाहालको चारदिने भारत भ्रमण घोषणा

परराष्ट्र मन्त्रालयले भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ । गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालको यो पहिलो विदेश भ्रमण हो । भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालका साथै मन्त्री, सचिव र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘टोलीमा को–को पर्ने भन्ने टुंगो बजेटपछि मात्र लाग्छ,’ परराष्ट्रका एक अधिकारीले भने ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतकी राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ । पत्रकार सम्मेलनमा प्रश्न सोध्न भने पाइने छैन । दुवै नेताहरूले सम्बोधन मात्र गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत गर्नेछन् ।

प्रधानमन्त्री दाहाल र अन्य विशिष्ट व्यक्तिहरूबीच भेटवार्ता हुने जनाइए पनि त्यसबारे विस्तृत खुलाइएको छैन । विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्रीको भेटवार्ता हुने जनाइएको छ । प्रधानमन्त्री दाहालले मध्यप्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यक्रम पनि छ । इन्दोरमा प्रधानमन्त्री दाहाललाई फोहोरमैला व्यवस्थापनबारे जानकारी दिने तयारी छ । इन्दोर भारतको सबैभन्दा सफा सहरका रूपमा चिनिन्छ । उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिर दर्शन गर्नेछन् । गत वर्ष भारत भ्रमणमा आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बनारस भ्रमण गराइएको थियो ।

विदेश मन्त्रालयले भारत सरकारको ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको जनाएको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध र सहयोग केही वर्षयता उल्लेखनीय रूपमा सुदृढ भएको पनि विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यो भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिने दुवै पक्षले विश्वास राखेका छन् ।

प्रधानमन्त्रीका रूपमा दाहालले यसअघि तीन पटक भारत भ्रमण गरिसकेका छन् । उनी दुई पटक द्विपक्षीय औपचारिक भ्रमणका क्रममा नयाँदिल्ली पुगेका हुन् भने एक पटक ब्रिक्स समिटमा सहभागी हुन गोवा गएका थिए । पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री भएका बेला दाहालले पहिलो भ्रमण चीनमा गरेका थिए । बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन उनी चीन गएका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट गर्ने परम्परालाई उनले तोडेको भन्दै त्यति बेला चर्चा भएको थियो । तर त्यसबाट भारत असन्तुष्ट बनेको बुझेपछि दाहालले बेइजिङबाट फर्केलगत्तै आफ्नो राजनीतिक भ्रमण भारतबाटै सुरु हुने बताएका थिए र केही समयपछि नै भारत गएका थिए ।

दाहालले सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री भएका बेला पनि पहिलो औपचारिक भ्रमण भारतमै गरेका थिए । त्यही कार्यकालमा उनी गोवामा भएको ब्रिक्स समिटमा सहभागी भएका थिए । गोवामा दाहालले मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग साइडलाइन वार्ता गरेका थिए । यस पटक प्रधानमन्त्री भएकै पर्सिपल्ट पुस १२ मा दाहालले एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । दाहाल चीनको हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म आयोजित ‘बोआओ फोरम फर एसिया’ मा निमन्त्रणा आउँदा पनि सहभागी भएनन् ।

प्रधानमन्त्री दाहालको यस पटकको भ्रमणका लागि मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र मन्त्रालयले नयाँदिल्लीस्थित नेपाली दूतावाससँग मिलेर तीव्र गतिमा गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार यस भ्रमणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी, नेपालगन्ज एकीकृत चौकी उद्घाटन तथा भैरहवा एकीकृत जाँच चौकीको शिलान्यास, विराटनगर रेल यार्ड उद्घाटन, सिलिगुडी–झापा र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन सम्बन्धी एजेन्डा उठाउने गृहकार्य भइरहेको छ ।

नेपाल टेलिभिजन च्यानल भारतमा प्रसारण, भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धता, बंगलादेशसँग विद्युत् व्यापारमा भारतको सहजीकरण र प्रसारण लाइन निर्माणमा सहयोग, २५ वर्षसम्म विद्युत् व्यापार सम्झौता, तल्लो अरुण र फुकोट कर्णालीमा २१.९ प्रतिशत बिजुली पाउने गरी सम्झौता, न्यु मोदी–लेखनाथ प्रसारण लाइन उद्घाटन तथा गोरखपुर प्रसारण लाइन शिलान्यासलगायतका एजेन्डा नेपाली पक्षले भारतसँग उठाउने विषयमा तयारी भइरहेको छ । एजेन्डाका विषयमा परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वपरराष्ट्र सचिवहरू र भारतका लागि नेपालका पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । प्रधानमन्त्री दाहालले पनि भारत उड्नुअघि एजेन्डाका सम्बन्धमा छलफल गर्ने तयारी छ ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?