२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

'भ्रष्टाचार नियन्त्रण गर्दा प्रधानमन्त्रीको मुटु हल्लिएको छैन'

'भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा कतिपय माननीय सदस्यहरूले सरकारको अझ प्रधानमन्त्रीकै मुटु पनि हल्लिएको हो कि भनेर आशंका गर्नुभयो । म ती माननीय सदस्यहरूलाई विल्कुल आशंका नगर्न बरु सरकारले सुरु गरेको अभियानमा दृढतापूर्वक उभिन अपिल गर्छु ।'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि आफू दृढ रहेको भन्दै अन्य सांसदहरूलाई पनि त्यसको पक्षमा उभिन आग्रह गरेका छन् । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न उपाय ल्याएको भन्दै यसमा साथ दिनका लागि प्रधानमन्त्रीले अपिल गरेका थिए । 

'भ्रष्टाचार नियन्त्रण गर्दा प्रधानमन्त्रीको मुटु हल्लिएको छैन'

सांसदहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा सबै क्षेत्रमा देखिएका भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्नका लागि तम्तयार रहेको बताएका हुन् । उनले त्यसमा साथ दिनका लागि सबै राजनीतिक दल र सांसदहरूलाई पनि आग्रह गरेका थिए ।

'भ्रष्टाचार हामी सबैको साझा शत्रु भएकाले निरोधात्मक, उपचारात्मक र प्रबर्धनात्मक सबै उपायहरू अवलम्बन गरी कडाइका साथ नियन्त्रण गर्नुको कुनै विकल्प छैन । देशभरीका सरकारी र सार्वजनिक चल अचल सम्पत्तिको अभिलेख तयार गरी संरक्षण गर्ने कुरालाई पनि सरकारले विशेष ध्यान दिएको छ,' प्रधानमन्त्रीले भने, 'भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा कतिपय माननीय सदस्यहरूले सरकारको अझ प्रधानमन्त्रीकै मुटु पनि हल्लिएको हो कि भनेर आशंका गर्नुभयो । म ती माननीय सदस्यहरूलाई विल्कुल आशंका नगर्न बरु सरकारले सुरु गरेको अभियानमा दृढतापूर्वक उभिन अपिल गर्छु ।'

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण त्यसमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री र गृहमन्त्रीको मुटु हल्लिएको अभिव्यक्ति दिएका थिए । उनले त्यसका लागि प्रधानमन्त्री र गृहमन्त्रीको मुटु जाँच गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त प्रश्नतर्फ इंगित गर्दै प्रधानमन्त्री दाहालले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको बताउँदै साथ दिन अपील गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनामाथि मुद्दा दायर भएको बताउँदै प्रधानमन्त्री दाहालले दोषी कोही नउम्किने र निर्दोष कोही नछुट्ने गरी काम भइरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने बताए । उक्त प्रकरण देशको प्रतिष्ठासँग मात्रै नजोडिएर अन्तर्राष्ट्रिय चासोको विषय पनि भएको बताउँदै राजनीतिक आग्रहभन्दा माथि उठेर सबैले साझा रूपले सही निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?