मान्छेका बन्धनहरूलाई मुक्त गर्ने कुरा विकासको केन्द्रमा राखौं : परियार

'हामीले यत्ति पनि सम्झिएनौं कि यो सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ । रास्वपाको पनि आफ्नै विकासका अवधारणाहरू छन् ।'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालको विकासको मोडेल जनता केन्द्रित नभएको बताएका छन् । उनले विकासको केन्द्रमा भौतिक संरचना नभई जनतालाई राख्नुपर्ने र संविधानले सुनिश्चित गरेका अधिकार दिने विषय राख्नुपर्ने बताए । 

मान्छेका बन्धनहरूलाई मुक्त गर्ने कुरा विकासको केन्द्रमा राखौं : परियार

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै परियारले विकासको बहस नयाँ शिराबाट हुनुपर्ने बताएका हुन् । 'विकासको बहस नयाँ शिराबाट गरौं । विकासको केन्द्रमा जनतालाई राखौं । मान्छेका बन्धनहरूलाई मुक्त गर्ने कुरा विकासको केन्द्रमा राखौं । विकासको नीति संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकार सुनिश्चित गर्ने हुनुपर्छ,' उनले भने ।

राजनीतिक व्यवस्था परिवर्तन गरिए पनि नेतृत्वमा परिवर्तन नहुँदा चलिरहेको राज्यको छनक सरकारको नीति तथा कार्यक्रममा झल्किएको प्रमुख सचेतक परियारको भनाइ थियो । उनले राजनीतिक पात्रहरू अहिले पनि राज्य संचालनको केन्द्रमा रहेकाले त्यस्तो भएको हो कि भन्ने आफूलाई लागेको उनले बताए ।

नीति तथा कार्यक्रम ल्याउँदा संसद्मा रास्वपा पनि छ भन्ने नसम्झिएको उनको भनाइ थियो । 'हामीले यत्ति पनि सम्झिएनौं कि यो सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ । रास्वपाको पनि आफ्नै विकासका अवधारणाहरू छन् । फेरि पनि यो नीति तथा कार्यक्रम त्यस्तै आयो, जस्तो हिजो आउने गर्थ्यो,' उनले भने, 'म यसलाई नित्तान्त हिजोभन्दा केही फरक छैन त भन्दैन तर दुःख लाग्छ यो नीति तथा कार्यक्रमले यो देशको सरकारी तथ्यांकले भनेको १३ प्रतिशत दलितलाई छुन सकेन । राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत चाहिन्छ । यहाँ कार्यक्रममा किन आउन सकेन ?'

नीति तथा कार्यक्रमले मुलुकको आर्थिक नीति मात्रै निर्धारण नगरी राज्यका अन्य नीतिलाई पनि नेतृत्व गर्ने परियारको भनाइ थियो । नेपालमा भ्रष्टाचार विकास परियोजनामा हुने गरेको भन्दै तिनलाई रोक्नका लागि नीति तथा कार्यक्रममा ठोस योजना ल्याउनुपर्ने परियारको भनाइ थियो । 'यो नीति तथा कार्यक्रम हेर्दा यस्तो लाग्छ हामी भ्रष्टाचारका ठूला कुरा गर्छौं तर सबैभन्दा धेरै भ्रष्टाचारका विकासका कार्यक्रममा हामीले बनाएका परियोजनामा हुन्छ । यसो हो भने भ्रष्टाचार रोक्नुपर्छ कि पर्दैन ? रोक्ने हो भने यो नीति तथा कार्यक्रममा सशक्त र ठोस कुरा आउनुपर्ने हो कि होइन ? तर आएन,' उनले भने ।

विकासका ठूला परियोजना तथा भौतिक विकासलाई ध्यान दिइएको तर जनजीविकाको कुरामा ध्यान दिन नसकिएको परियारको भनाइ थियो । उनले स्कुल भवन निर्माण गर्ने तर दक्ष शिक्षक उपलब्ध नगर्ने, अस्पताल भवन निर्माण गर्ने तर दक्ष चिकित्सक नपठाउने गरिएको कुराले जनतासम्म विकास नपुग्ने बताए । भौतिक विकासले मात्रै समाज परिवर्तन गर्न नसक्ने उनको भनको भनाइ थियो ।

नेपालको शिक्षा क्षेत्र डामाडोल भएको बताउँदै परियारले उच्च शिक्षाको डामाडोल स्थिति र विश्वविद्यालय तहसनहस भएको अवस्थालाई सुधार्न नीति तथा कार्यक्रममा योजना नभएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?