रमेश लेखकको व्यंग्य- 'सभामुखको दायाँतर्फ बस्दा झिलिमिली र बायाँ बस्दा अँध्यारो मात्रै देखिन्छ'

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै नीति तथा कार्यक्रमको शैली र तरिकालाई मात्रै नहेरेर यसको मूल मर्म र कार्यान्वयन पाटोतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

रमेश लेखकको व्यंग्य- 'सभामुखको दायाँतर्फ बस्दा झिलिमिली र बायाँ बस्दा अँध्यारो मात्रै देखिन्छ'

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै लेखकले आफ्नो सरकारको नीति तथा कार्यक्रम राम्रो मात्रै देख्न र विपक्षी सरकारको नीति तथा कार्यक्रम नराम्रो मात्रै देख्न नहुने बताए । पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद लेखकले समीक्षात्मक टिप्पणी गरेका थिए । साथै कांग्रेसले यसलाई समर्थन गर्ने पनि जनाएका थिए ।

यस क्रममा उनले विपक्षी दलका सांसदहरूप्रति लक्षित गर्दै यो नीति तथा कार्यक्रमको ठाडो विरोध नजनाउन पनि आग्रह गरेका थिए । 'सभामुखज्यूको दायाँतर्फ बस्दा नीति तथा कार्यक्रम झिलिमिली देख्ने, बायाँतर्फ बस्दा अँध्यारो मात्रै देखिन्छ । तर यसरी हेर्नु समस्या हो । मैले धेरै नीति तथा कार्यक्रम देखें र भोगें पनि । भाषिक शैली र प्रस्तुतीमा भिन्नता भए पनि आधारभूत कुराहरू प्रायजसो उस्तै हुन्छन् । यसको शैली र प्रस्तुतीलाई मात्रै हेरेर विरोध वा समर्थन गर्नुको सट्टा कार्यन्वयनको पाटो हेर्नुपर्छ,' सांसद लेखकले भनेका छन् ।

लेखकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति पनि कटाक्ष गरेका थिए । उनले नाम नै उच्चारण नगरिकन तत्कालीन सरकारले ल्याएको नीति तथा कार्यक्रमले 'स्वर्गानुभूति' गराएको तर यथार्थमा उपलब्धि नगरेको टिप्पणी गरेका थिए । एमालेका सांसदहरूले ओली सरकारले राम्रैराम्रो गरेको भन्दै प्रशंसा गरेकोमा आपत्ति जनाउँदै उनले भने, 'अमुक ३ वर्षको अवधिको व्याख्या गर्दा केही माननीय ज्यूहरूले उहाँले नै ब्रह्माण्ड सिर्जना गर्नुभएको हो भन्न मात्रै बाँकी राखेर प्रशंसा गर्नुहुन्छ ।'

नीति तथा कार्यक्रम निबन्ध प्रतियोगिता नभएर यसले कतिपय आधारभूत पक्ष छुटाउन नहुने उनको सुझाव थियो । साथै ओली सरकारले उल्लेख गरेका पानीजहाजको योजनाप्रति कटाक्ष गर्दै उनले त्यो दिवास्वप्न मात्रै भएको भन्दै व्यंग्य गरेका थिए ।

उक्त प्रसंगमा सांसद लेखकले भनेका थिए, 'कतिपय नीति तथा कार्यक्रम पढ्दा स्वर्गानुभूति हुन्छ । मैले पनि पानीजहाजबाट कन्चनपुरबाट डँडेलधुरा हुँदै दार्चुला पुग्ने अनुभुति गरेँ । पानी जहाज चढेको स्वर्गानुभूति भयो । महाकाली नदीमा नर्वेजियन क्रुजको यात्राको अनुभूति र महाकालीमै जयसिंह धामीको तुइन चुँडिएर भएको मृत्युबीच कति भिन्नता छ ?'

प्रकाशित : जेष्ठ १३, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?