ठूला सांसद बोल्दा मनपरी भयो, नियमावली संशोधन गरौं : चौधरी

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले ठूला सांसदहरूले मनपरी रूपमा संसद्मा बोल्न लागेको भन्दै प्रतिनिधिसभा नियमावली परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा नियमावलीको संशोधन गर्दै पूर्वप्रधानमन्त्री भइसकेका सांसदहरूलाई संसद्मा बोल्ने समय निर्धारण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताए । 

ठूला सांसद बोल्दा मनपरी भयो, नियमावली संशोधन गरौं : चौधरी

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै चौधरीले प्रतिनिधिसभा नियमावली संशोधन गरेर सांसदको बोल्ने समय र नीति तथा कार्यक्रम संशोधन गर्नेबारेका व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

सांसदहरूले समय अभावका कारण जनताको समस्याबारे बोल्न नपाएको पनि उनको भनाइ थियो । ‘हामीले स्वतन्त्रसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा बोल्न पाउनुपर्ने हो । तर आज ठूला सांसदहरूले बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ । आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्शन गरेर भएपनि समय निर्धारण गरौँ,’ उनले भने, 'बजेट, नीति तथा कार्यक्रम कहिले प्रस्तुत गर्ने भन्ने विषयमा नियमावली संशोधन गरेर अगाडि बढ्नुपर्छ ।'

चौधरीले सरकारले राजश्व चुहावट नियन्त्रण गर्न नसकेको र मिलिजुली राजस्व छल्ने काम गरिरहेको बताए । चौधरीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने कुरा उचित नभएको बताए । नीति तथा कार्यक्रम पुनर्लेखन गर्ने, अनावश्यक निहुँ खोज्ने काम भएको पनि उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १३, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?