भ्रष्टाचारका फाइल खोल्दा बधाई भन्ने हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने होइन : महामन्त्री शर्मा

'नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य उल्लेख गर्नुभयो, रोष्ट्रममा उभिएर भन्नुभयो । को दोषी र को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ । हामी न्यायाधीश होइनौं'

काठमाडौँ — प्रमुख सत्तारुढ घटक कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला बधाई दिनुपर्ने बताएका छन् । तर, सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला समर्थन फिर्ता लिन नहुने उनको भनाइ थियो ।

भ्रष्टाचारका फाइल खोल्दा बधाई भन्ने हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने होइन : महामन्त्री शर्मा

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै शर्माले भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने बताए । सरकारलाई त्यसमा प्रतिपक्ष र सत्तापक्षले सहयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

'नीति तथा कार्यक्रमको यो शैलीलाई अन्तिम बनाउनु पर्छ । नीति तथा कार्यक्रम चैत महिनामै ल्याउँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम परिमार्जन गर्ने अवस्थाको सुरुआत गरौं,' उनले भने, 'भ्रष्टाचारको फाइल सरकारले खोलेको बेला बधाई छ सरकार भन्ने समय हो । यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि समर्थन गर्ने बेला हो । यो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला होइन ।'

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा आफ्नो पार्टीका नेताहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाउन खोजेको भन्ने अभिव्यक्ति दिएकोमा कांग्रेस महामन्त्रीले विरोध जनाए । 'नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य उल्लेख गर्नुभयो । रोष्ट्रममा उभिएर भन्नुभयो । को दोषी र को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ । हामी न्यायाधीश होइनौं, यहाँबाट फैसला सुनाउनका लागि कि अमूक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ र उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति यहाँबाट राखिने कुरामा म विमती प्रकट गर्न चाहन्छु,' शर्माले भने, 'यो समयमा यत्ति भन्ने हो निर्दोष कोही नफसुन्, दोषी कोही नछुटुन् ।'

भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै मोलाहिजा गर्न नहुने पनि शर्माको भनाइ थियो । कांग्रेसका नेताहरू विगतमा भ्रष्टाचारमा जेल परेका र अहिले पनि मुद्दा खेपिरहेको शर्माको भनाइ थियो । 'कांग्रेसका नेताहरू पनि भ्रष्टाचारमा विगतमा जेल पर्नुभएको छ । अहिले पनि मुद्दा सामना गर्दै हुनुहुन्छ तर रोष्ट्रममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा निर्दोष भन्यौं न आज भन्छौं,' उनले भने, 'केवल यति भन्छौं, अनुसन्धानको प्रक्रिया र न्यायिक प्रक्रिया प्रभावित गरने गरी कसैले बोल्नु हुन्न । देश हेरिरहेको छ, अनुसन्धान गिरफ्तारी र मुद्दा ।'

सांसद शर्माले भ्रष्टाचारविरुद्ध कानुन निर्माण गर्नका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराएका थिए । भ्रष्टाचारको छानबिन हुँदै गर्दा कुन कानुनको तहत भइरहेको छ त्यो कानुन निर्माणमा कसले भूमिका खेलेको छ भनेर बुझ्नुपर्ने उनले बताए ।

राष्ट्रका मूलभूत विषयमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने पनि बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?