कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एघार लाख नागरिक नागरिकताबाट वञ्चित : उपसभामुख राना

माधव अर्याल

पाल्पा — प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले विभिन्न कारणले ११ लाख नागरिक नागरिकता लिनबाट वञ्चित भएको बताएकी छन् । उनले ७ लाखभन्दा बढी बालबालिका आमाको नामबाट नागरिकता बनाउन नसक्दा नागरिकताविहीन भएको बताइन् । 

एघार लाख नागरिक नागरिकताबाट वञ्चित : उपसभामुख राना

पाल्पाको तानसेनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिले शनिबार राखेको सम्मान कार्यक्रममा बोल्दै उपसभामुख रानाले बालबालिकाको सुरक्षाका लागि गतिलो कानुनसमेत बन्न नसक्दा यस्ता समस्या देखिएको बताइन् । रानाले आमाको नाममा नागरिकता नपाउनेमात्र होइन विभिन्न कारणले नागरिकता नपाएकाहरुको संख्या ११ लाखभन्दा बढी रहेको बताइन् ।

यही मुलुकमा जन्मिएर पनि शरणार्थीको जस्तो जीवन बिताउन परेको उपसभामुख रानाको भनाइ थियो । रानाले राजनीतिक दल तथा सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिने बेला आएको बताइन् । उनले पाल्पा आदिवासी जनजाती बाहुल्य रहेको बताउँदै जन्मथलो पूर्व भए पनि कर्मथलो पाल्पा भएकाले यहाँको विकासका लागि सांसदसँग मिलेर काम गर्ने बताइन् ।

पाल्पाली ढाकाले देश विदेशमा ख्याति कमाए पनि यसलाई व्यावसायिकरण गर्न नसकेको बताउँदै उनले पोलिष्टर मिसिएका सारी, ढाका नबेच्न आग्रह गरिन् । ‘पाल्पाको ढाकाले देश विदेशमा ख्याती कमाएको छ,’ उनले भनिन्, ‘तर यसलाई सुती कपडाकै पाइन्छ भन्ने गराउनेतर्फ सबैको ध्यान पुग्नुपर्छ ।’

आदिवासी जनजाती महासंघ पाल्पाले उपसभामुख रानाका साथै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीका साथै राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेलाई पनि सम्मान गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्वाचित जनप्रतिनिधिले समग्र पाल्पा र यहाँका जनताको पक्षमा काम गर्न आग्रह गरे ।

पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरु वीरबहादुर राना, खेम सारु, राजु श्रेष्ठलाई पनि सम्मान गरेको छ । प्रतिनिधिसभामा निर्वाचित ठाकुर गैरे र नारायण आचार्यको उपस्थिति हुन नसकेको महासंघ पाल्पाका अध्यक्ष गमबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?