प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ । बैठक शनिबार ४ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद्‍ अवरुद्ध पारेका थिए ।

आफ्नो नेता र पार्टीमाथि भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्न दिएन । त्यसपछि सभामुखले ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । उक्त अवधिपछि पनि बैठक संचालन हुन नसकेपछि साँझ ६ बजेका लागि बैठक सारिएको थियो ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।


प्रकाशित : जेष्ठ १२, २०८० १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

वाणिज्य विभागले भन्यो : खानेतेलको अवैध आयात गरे कारबाही हुन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाने तेलको अवैध रुपमा आयात गरी कारोबार गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय नेपालभन्दा भारतमा खानेतेल सस्तो भएपछि केही व्यापारीले भारतबाट अवैध रुपमा आयात गर्ने गरेको भन्दै स्वदेशका उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । 

उद्योगी व्यवसायीको गुनासोपछि विभागले सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । भारतमा कर घटाइँदा खानेतेलको मूल्य नेपालमा भन्दा सस्तो पर्ने गरेको छ, जसले गर्दा उतैबाट तेल अवैध रुपमा आयात हुने गरेको स्वदेशी उद्योगहरुको गुनासो छ ।

विभागले एक सूचना जारी गर्दै भनेको छ ‘इजाजत नलिई गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याई तराईका बजारहरुमा बिक्री वितरण भइरहेकोले नेपाली उद्योगहरु बन्द हुने स्थितिमा पुगेको भनी नेपाल चामल, तेल, दाल उद्योग संघको पत्र आएको हुँदा सम्बन्धित निकायलाई निगरानीको लागि लेखी पठाइसकिएको छ ।’ त्यसरी भित्र्याइएको तेल कतै सञ्चित भेटिएमा वा थोक तथा खुद्रा बिक्री वितरण गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।


प्रकाशित : जेष्ठ १२, २०८० १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×